कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको २० औं अधिवेशनअन्तर्गत बुधबार बसेको चौंथो बैठकमा पालिकाका उपाध्यक्ष मौसमी थापा मगरले न्यायिक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी छिन् ।
उपाध्यक्ष थापा मगरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार कञ्चन गाउँपालिकामा ४१ वटा विभिन्न विषयका मुद्दा तथा उजुरी आएकामध्ये ३१ वटा मुद्दालाई आपसी मिलापत्रका आधारमा फस्र्यौट गरिएको छ । यस्तै २ वटा मुद्दाको पूर्ण इजालसबाटै निर्णय गरिएको छ भने ८ वटा मुद्दालाई माथिल्लो निकायमा कानुनी उपचारका लागि पठाइएको प्रतिवेदनमा उल्लेख छ ।
विशेषगरी कञ्चनमा घरजग्गा र घरेलु हिंसा सम्बन्धी उजुरी बढी पर्ने गरेको न्यायिक समितिका वरिष्ठ प्रशासन सहायक गंगा घिमिरेले जानकारी दिइन् । घिमिरेका अनुसार चालु आ.व. २०८२-०८३ मा कुलो बाँध, फोहोर मैला फ्याँकी छिमेकीलाई दुःख दिने, वातावरणलाई असर गरेको, साँध सिमानामा रुख बिरुवा लगाई छिमेकीको खेतबारीमा असर पारेको, पारिवारिक झै झगडालगायत विषयमा उजुरी पर्ने गरेको छ ।
विशेषगरी घरजग्गा तथा साँध सिमाना विवादसम्बन्धी २० भन्दा बढी उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । श्रीमान श्रीमती झगडा तथा घरेलु हिंसासम्बन्धी ६ वटा उजुरी परेकोमा अधिक्तम उजुरीहरुलाई सामूहिक छलफलको आधारमा आपसी मिलापत्र गरी उजुरी फस्र्यौट गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैठकमा उपस्थित गाउँसभासदहरुबाट उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मौसमी थापा मगरले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन सर्वसम्मत पारित समेत भएको छ ।
यसैगरी पालिकाले सबैभन्दा बढी राजस्व संकलन गर्ने वडाको रुपमा वडा नं. ३ को कार्यालयलाई सम्मान गरेको छ । वडा नं. ३ ले आर्थिक वर्ष २०८१÷०८२ मा करिब ३९ लाखभन्दा बढी राजस्व संकलन गरेको थियो । कञ्चन गाउँपालिकाका सूचना अधिकारी तथा राजस्व अधिकृत अनिल थापा मगरले जानकारी दिएका छन् ।




