बुटवल । नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा व्यवस्थापन समूह कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बुटवल उप–महानगरपालिका शिक्षा तथा जनस्वास्थ्य एवं वित्त व्यवस्थापन महाशाखा प्रमुख वरिष्ठ उप–सचिव मित्रमणि खनालले विद्यार्थीहरुले देशकै उत्कृष्ट विद्यालय र उत्कृष्ट विषय व्यवस्थापन छनौट गरेकोमा बधाई दिँदै विद्यालयमा पठनपाठनको वातावरण राम्रो रहेको हुँदा विद्यार्थीहरुले आफ्नो बानी व्यहोरा परिवर्तन गर्नु पर्ने, विद्यार्थीको ज्ञान र सीप विकासको लागि विद्यालयले धेरै कार्यक्रमहरु सञ्चालन गरेकोले विद्यार्थीहरुले विद्यालयका आचारसंहिता पूर्ण पालना गर्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।
उत्प्रेरणात्मक वक्ता एवं एनएमबी बैंकका शाखा प्रवन्धक, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका जिल्ला सभापति अर्जुन ज्ञवालीले विद्यार्थीहरुलाई आजको अवस्थामा ल्याइने सम्पूर्ण अभिभावक, शिक्षक छिमेकी साथीहरुलाई धन्यवाद दिँदै जीवनमा सफल हुनको लागि स्पष्ट लक्ष्य सोही अनुसारको योजना, कार्यतालिका र क्रियाकलाप हुनु पर्ने बताउँदै सपना, संकल्प, जीवनको लक्ष्य मेरा चार भूमिका बैंकले सिकाएको पाठ सफल हुने पाँचमन्त्र जीवन बदल्ने बानी, मानवअधिकार, वातावरण र सञ्चारको सम्बन्धमा उत्प्रेरणात्मक प्रस्तुति राखेका थिए ।
बुटवल उप–महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले कक्षा ११ मा व्यवस्थापन समूहमा अध्ययन गर्ने नव आगन्तुक विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै विद्यार्थीहरु दृढ संकल्प, अनुशासन र नियमित अध्ययन गरेमा सफल हुन सकिने हुँदा लगनशील भएर अध्ययन गर्न सुझाव दिएका थिए ।
कार्यक्रम बुटवल उप–महानगरपालिका शिक्षा तथा जनस्वास्थ्य एवं वित्त व्यवस्थापन महाशाखा प्रमुख वरिष्ट उप–सचिव मित्रमणि खनालले विज्ञान विषय प्रवद्र्वन कार्यक्रमअन्तर्गत निर्माण गरिएको कम्प्युटर प्रयोगशालाको शुभारम्भ समेत गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयका भौतिक, आर्थिक, शैक्षिक र व्यवस्थापकीय पक्ष र समस्याहरुका बारेमा धारणा राखेका थिए ।
सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यालयका आचारसंहिता २०८३ विद्यार्थी अनुशासनलगायतका विषयमा धारणा राखेका थिए । शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा समूहगत रुपमा उत्कृष्ट जीपीए प्राप्त गर्न सफल विद्यार्थीहरुलाई जीपीएका आधारमा एक हजारदेखि दश हजारसम्म बीस जना विद्यार्थीहरुलाई पैचालिस हजार नगद वरिष्ठ उप–सचिव मित्रमणि खनाल र वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले वितरण गरेका थिए ।
बुटवल उप–महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा १२ का विद्यार्थी सुदिप खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा व्यवस्थापन समूह कक्षा ११ का इञ्चार्ज जयराम पन्थीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहभागीको तर्फबाट विद्यार्थी देवी पौडेलले धारणा राखेका थिए ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशद्वारा आषाढ १४ गते आयोजित लुम्बिनी प्रदेशस्तरीय स्टेम प्रतियोगितामा प्रथम हुन सफल भौतिक शास्त्र विषयका समन्वय शिक्षक विनय कुमार बि.क., विद्यार्थीहरु प्रमोद आचार्य, प्रतिज्ञा चन्द र सागर वि.क.लाई नगदद्वारा उत्प्रेरणात्मक वक्ता अर्जुन ज्ञवालीले सम्मान गरेका थिए ।




