बँदेल र बाँदरले मकै नष्ट गरेपछि किसानका अनेक सास्ती छन् । तिनै सास्तीबाट बच्न विद्युतीय धराप थापेका गुल्मीको धुर्कोट—५ मन्टारीका भेषराज भण्डारीले श्रीमती हुमकला भण्डारीलाई गुमाए । मानव–वन्यजन्तु द्वन्द्वको असर कति भयावह बन्दैछ भन्ने यो एउटा उदाहरण हो । गत वर्ष पाल्पामा बँदेललाई प्रहार गरेको बन्दुकको गोली लाग्दा एकजनाको ज्यान गयो ।
पहिले मानव–वन्यजन्तु द्वन्द्वको विषय राष्ट्रिय निकुञ्ज र शिकार आरक्ष क्षेत्र आसपास क्षेत्रमा हुन्थ्यो । निकुञ्ज आसपासको बस्तीका बासिन्दाका सास्ती बेग्लै छन् । अब यो समस्या निकुञ्ज सेरोफेरोमा मात्रै रहेन । अब हरेक गाउँमा पसेको छ । पहाडका बस्ती रित्तिंदै जाँदा वन्यजन्तु बढेका छन् । उनीहरु आहाराका लागि गाउँका घर–घर पुग्न थालेका छन् । यसले किसानको खेतीबाली नष्ट भएको छ । नागरिकले ज्यान नै गुमाउनुपर्ने बाध्यता आइलागेको छ । गाउँमा खेती गर्न सकस पर्न थालेको छ । लगाएको खेती स्याहार्न पाइन्छ भन्ने ढुक्क नभएपछि किसानलाई सास्ती छ । वन्य जन्तुकै कारण खेतीको उत्पादन लागत उठ्न समेत हम्मे हम्मे परेको छ ।
२०७९ सालको स्थानीय चुनावमा भोट माग्नेलाई किसानले भने,–बाँदर नियन्त्रण गर्ने उम्मेदवारलाई भोट । बाँदरको सास्ती भोगेका किसानका यी समस्या चुनाव जितेकाहरुले त पूरा गरेनन्, अन्यत्र कतैबाट समस्या समाधान हुन्छ कि भन्ने आशा पनि बेकार झै भएको छ । गत फागुनमा भएको चुनावमा भोट माग्न आएका उम्मेदवारलाई गाउँलेले भने,– अरु केही गर्नुपर्दैैन, विकास भएकै छ, अब बाँदर र बँदेल नियन्त्रण गरिदिनुस्, खेती जोगाउनै सकिएन । चुनावमा उम्मेदवार सामु अनुनय विनय गरेका किसानका दुःख उस्तै छन्, संसदमा बाँदर नियन्त्रणको विषय सुस्त भए पनि उठेको छ, तर समस्या समाधानको बाटो पहिल्याउन अझै सम्भव भएको छैन । किसान खेती जोगाउन धराप थाप्न बाध्य छन्, त्यही पासोमा परिवारकै सदस्य गुमाएर प्रहरी नियन्त्रणमा जानु पर्ने बाध्यता छ ।
गुल्मी धुर्कोटका भण्डारी परिवारको यो समस्या केवल धुर्कोटको मात्रै होइन, यो मध्यपहाडको तस्विर हो, यसले रित्तिंदै गएको मध्य पहाडलाई अझै रित्ताउन बल पु¥याउने छ । मध्य पहाड समृद्धिको खानी हो, तर वन्यजन्तुलाई नियन्त्रण गर्न नसक्दा मध्य पहाडमा मान्छे बस्नै नसक्ने अवस्था भएको छ । नागरिकले उत्पादन गरेको अन्नवाली जोगाउन नसकेपछि बाँझो खेतबारी कुरेर कति दिन को बस्ला ? अब सरकारले प्राथमिकतासाथ वन्यजन्तु नियन्त्रणको पहलकदमी लिनुपर्छ । वन्यजन्तु नियन्त्रणको पहलकदमी लिएर मध्य पहाडलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्छ ।




