यही असार १२ गते रक्तिम सांस्कृतिक अभियानले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा विशेष रक्तिम साँझ २०८३ अन्तर्गत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जसमा विशेष अतिथिको रुपमा लोकप्रिय जनगायक कलाकार जीवन शर्माको विशेष उपस्थिति रहेको थियो । सर्वप्रथम उक्त कार्यक्रममा मलाई पनि अतिथिको रुपमा निमन्त्रणा गर्नुभएकोमा आयोजक खासगरी त्यसका संयोजन ढुण्डीराज शर्माजीलाई धन्यवाद दिन चाहान्छु । यो अभियानको प्रगतिशील गीत–संगीत अनि नाच र अभिनयहरुको प्रस्तुतिको बढी चर्चा नै के गरिराख्नुपर्ने हुन्छ र ? स्वयं रक्तिम सांस्कृतिक अभियानको नामै काफी छ जसको वर्णन गरी साध्य नै छैन । त्यसमा पनि अझ जनगायक जीवन शर्माको उपस्थितिले त झनै रौनक र रमाइलो थपेको थियो । कार्यक्रमको तालिका अनुसार मोहन विक्रम सिंंहद्वारा लिखित नाटक ‘युग बोल्छ’ भन्ने प्रस्तुति गर्ने भनिएको थियो । तर समयको अभावले गर्दा त्यसलाई त्यहाँ प्रस्तुत गरिएन । तै पनि अन्य रक्तिम कलाकारहरुको जोडदार प्रस्तुतिले समय बितेको थाहै भएन । यसले त्यो गीत, नृत्य र अभिनय साथै रक्तिम सांस्कृतिक अभियानको विगतको ऐतिहासिक पृष्ठभूमिको बारेमा सम्झनाको याद दिलायो । जसको बारेमा केही यहाँ अहिले लेख्नुपर्ने महसुस गरेको छु ।
२०३५ ÷०३६ सालको विद्यार्थी आन्दोलनपछि विद्यार्थी संगठनहरुको साथसाथै अन्य जनवर्गीय संगठनहरुको पनि वैधानिकता पाए । जसअनुसार विभिन्न जनवर्गीय संगठनहरु खुल्ने क्रम चल्यो । तर अहिलेको वर्तमान सरकारले यी यस्ता संगठनहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । दुःखको कुरा पञ्चायती निरकुंशमा समेत प्रतिबन्ध नलगाइएका यी संगठनहरुमाथि अहिले यो सरकारले प्रतिबन्ध लगाउने दुष्प्रयास गरेको छ । त्यसै क्रममा तत्कालीन भूमिगत नेकपा चौ.म. पछि मशालले पनि त्यस्ता विभिन्न जनवर्गीय संगठनहरु निर्माण ग¥यो । त्यसमध्ये प्रगतिशील जनवादी सांस्कृतिक मञ्च पनि एउटा थियो । वेदना सांस्कृतिक परिवार २०४० सालसम्म त्यसपछि खुसीराम पाख्रिलको नेतृत्वमा अर्काे सांस्कृतिक परिवार २०४२ भए । नेकपा मशालको फुटको क्रममा वेदना परिवार नेकपा चौ.म. निकट, नेकपा (मशाल) निकट खुसीराम पाख्रिन नेतृत्वको सांस्कृतिक परिवार भने रक्तिम सांकृतिक अभियान नेकपा (मसाल) निकट भए । यसरी २०४३ सालपछि मात्रै रक्तिम सांस्कृतिक अभियानको थालनी भएको हो ।
नेकपा (मसाल) को फुटपछि पार्टीको साथसाथै विभिन्न जनवर्गीय संगठनहरुको गठन र पुनर्निर्माणकै सिलसिलामा पार्टीले मलाई विद्यार्थी मोर्चा अखिल (छैठौं) को नेतृत्वमा भने सांस्कृतिक मोर्चामा जीवन शर्मालाई जिम्मेवारी सुम्पियो । जबकि म त्यतिबेला सिन्धुपाल्चोक जिल्लामा शिक्षक भई रहेको थिएँ । त्यस्तै जीवन शर्मा सोलुमा शिक्षक भई बसेको अवस्था थियो । भर्खर भर्खर संगठन पुनर्निर्माण आर्थिक अभाव, बस्ने, खाने समस्या, बडो दुःख र कष्टका साथ त्यतिबेला हामीहरुले संगठन निर्माण गरेका थियौं । प्रायः हामी धेरैले त्यतिबेला एक छाक खाएर बसिन्थ्यो र हिडिन्थ्यो । कहिले काहीं त भोकै खाली चिया नास्ताको भरमा कैयौं दिन रात गुजार्ने काम भयो । बस्ने खाने र सुत्ने कुनै ठेगान नै थिएन । पाए खाने नपाए भोकै । जीवन शर्मा, केशव नेपाल र मेरा धेरै दिन र वर्ष त्यतिबेला यसैगरी बितेको दुःखद, तर आज एउटा ऐसतिहासिक त्याग तपस्या र साहसी बलिदानी जीवनको स्मरण छ । सम्भवत यस्तै स्मरण जीवन शर्मा र अन्य थुप्रै तत्कालीन नेता र कार्यकर्ताहरुको पनि होला ।
२०४५÷२०४६ सालको जनआन्दोलनपछि भने स्थितिमा अलि सुधार आयो । संगठनको विस्तार, आम जनतामा बढ्दो पार्टी प्रभाव जसले गर्दा पार्टी र जनवर्गीय संगठनमा पनि संख्यात्मक रुपमा वृद्धि भयो । त्यसै क्रममा पार्टीले मलाई यही क्षेत्र अर्थात् लुम्बिनीमा खटाएको थियो । सांस्कृतिक कार्यक्रमसहित यो क्षेत्रमा व्यापक जनसभाहरु भए । आन्दोलनको साथसाथै पुराना पञ्चे मण्डले र फटाहा विरोधी ठूलाठूला संघर्षका कामहरु पनि भए । पार्टी माथिको प्रतिबन्ध हटाए पनि नेकपा (मसाल) लाई भूमिगत नै राख्ने र खुल्ला पार्टी गतिविधि सञ्चालन गर्नका लागि पार्टीले वैधानिक मोर्चाको रुपमा अखिल नेपाल राष्ट्रिय मोर्चा बनाई त्यसको अध्यक्ष भैरव रेग्मी भने मलाई महासचिव बनाइयो । जसको केन्द्रीय कार्यालय यही क्षेत्र बुटवलमा नै राखियो । त्यसै क्रममा मसालको बढ्दो सांस्कृतिक आकर्षण र प्रभावले गर्दा तत्काल नयाँ गीति क्यासेटहरुको आवश्यकता र अभाव देखा प¥यो ।
त्यसपछि जिल्ला पार्टीको तर्फबाट जिल्ला सेक्रेटरी विकास के.सी., विद्यार्थी संगठनको तर्फबाट केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) अनि म बिच केही छलफल गरी पार्टी केन्द्र अनि सांस्कृतिक मोर्चामा स्वयं जीवन शर्मा अनि राजेश वि.क. आदिहरुको अनुमति लिई त्यस्तो गीति क्यासेट प्रकाशित गर्ने निधो भयो । जसको ठोस जिम्मेवारी क. विकास र क. रामप्रसाद बन्जाडेलाई दिइयो । रक्तिम गीति क्यासेट भाग १ र भाग २ यसरी बाहिर ल्याइएको थियो । उक्त क्यासेट निकाल्ने क्रममा भैरहवाका धनकाजी गुरुङ र उनकै पहलमा प्रसिद्ध स्वरकी धनी लक्ष्मी गुरुङ्गलाई पनि यो रक्तिम अभियानमा समावेश त्यतिबेलै गराइएको थियो । दुःखको कुरा आजमाथि भनिएका नेता–कलाकार अर्थात् क. विकास, क. रामप्रसाद (टंकमणि) अनि कलाकार धनकाजी गुरुङ्ग र लक्ष्मी गुरुङ्ग हाम्रो सामु रहनुभएन । मृत्यु भइसकेको छ । तर आज यो विशेष सांस्कृतिक कार्यक्रमको अवसरमा उहाँहरु सबैप्रति हार्दिक क्रान्तिकारी भावपूर्ण श्रद्धाञ्जली टक््रयाउन चाहान्छु । हुनत अहिले रक्तिम सांस्कृतिक अभियानले त्यस्ता दर्जनौं गीति क्यासेट निकालिसकेको छ । तर पनि यी सबैभन्दा विशेष महत्व ती पहिलेका दुई गीति क्यासेट भाग १ र २ छ जस्तो मलाई लाग्छ ।
उक्त गीति क्यासेटमा अहिले बढी चर्चामा आउने र श्रोताहरुले अत्यन्त मन पराएको र माग हुने गीत ‘सिमली छाया’, त्यस्तै ‘अखिलको झण्डा फरफरर’,‘माछी तिमी बाग्दै जाऊ’, ‘याङकी गो होम’ आदिले विशेष महत्व राखेको छ । त्यतिबेला जुन गीतिहरु प्रचारप्रसारमा ल्याइए यी सबैको महत्व र आवश्यकता अहिले पनि त्यत्तिकै अझ बढी देखापरेको छ । ‘माछी तिमी बग्दै जाऊ’ भन्ने गीत नेपालको सिंगो वाम आन्दोलनमा देखिएको अवसरवादी चरित्र अर्थात् पलायन लोभ लालचा, पद, प्रतिष्ठा र कुर्सीका लागि आफ्नो त्यो लामो गन्तव्य अर्थात् माक्र्सवादी विचार र सिद्धान्तअनुसार भन्ने हो भने नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादसम्म जाने लक्ष्य भने त्यति पूरा हुने स्थिति अहिले छैन । त्यसका लागि लामो त्याग तपस्या र बलिदानको निरन्तरता जरुरी छ । बिच बिचमा अनेक अवरोध, लोभ लालचा, पद, प्रतिष्ठा र कुर्सी आदिबाट देशका धेरै नेता कार्यकर्ताहरु बिचैमा बाटो बिराई भाग्दै र पन्छिदै आइरहेका छन् । जस्तो नदीको वहाव र गन्तव्य समुद्रसम्म पुग्ने हो, त्यस्तै कम्युनिष्ट आन्दोलनको अन्तिम गन्तव्य साम्यवादसम्म पुग्ने हो ।
जसरी एउटा पानीमा खेल्ने माछी जस्तै हामी कम्युनिष्टहरु पनि अनेक प्रकारका बाधा, विरोध, अड्चन जे भए पनि हाम्रो उद्देश्य र गन्तव्य लगातार नयाँ जनवाद अनि समाजवाद र साम्यवाद पुग्ने हो । यसलाई अति मार्मिक रुपले उक्त गीतमा उल्लेख छ । त्यस्तै अर्काे गीत ‘याङकी गो होम’ अमेरिकी साम्राज्यवादप्रति लक्षित छ । खासगरी तत्कालीन पेरुमा पेरुवियन माओवादी कम्युनिष्ट पार्टी साईनिङ पथको र त्यसका क्रान्तिकारी नेता अध्यक्ष गोञ्जालोको विरुद्धमा त्यहाँको शासक तत्कालीन अमेरिकी दलाल फुुजिमोरोलाई उचालेर अमेरिकीहरु त्यहाँ परिचालित भइरहेका थिए । त्यसैको विरुद्ध उक्त गीत याङकी अर्थात् अमेरिकी गोरा तिमी तिम्रो घरमा फर्क भन्ने गीतको बोलमा विश्व साम्र्राज्यवादको प्रमुख अमेरिकाको विरुद्ध विश्वव्यापी उक्त अभियान चलाइएको थियो । ठीक आज त्यस्तै अभियान फेरि नेपालमा पनि जरुरी छ । नेपालमा पनि पेरुमा जस्तै अमेरिकी दलालहरुको शासन सत्ता स्थापित भइसकेको छ । पेरुको तानाशाह फुजीमोरो जस्तै नेपालमा पनि तानाशाह बालेन र त्यसको सरकारलाई सक्रिय बनाई अमेरिकी साम्राज्वाद नेपाल भित्रिसकेको छ । चाहे त्यो एमसीसीको नाममा होस् चाहे त्यो अब एसपीपीको नाममा होस् अन्तिम मिसन एउटै छ, चीनलाई घेराहाली नेपाललाई विश्व साम्राज्यवादहरुको रण मैदान बनाउने । यसका लागि पनि यस्ता सांस्कृतिक अभियानहरुको महत्व अझ बढ्दो छ ।
त्यसैले अन्त्यमा रक्तिम सांस्कृतिक अभियानले जुन अहिले देशव्यापी सांस्कृतिक कार्यक्रमको परिचालन गरिरहेको छ । यो देशको राष्ट्रियता, जनतन्त्र र जनताको जनजीविका अर्थात राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि अति जरुरी भइसकेको छ । राष्ट्रिय एकता आजको आवश्यकता हो । यसका लागि देशका सम्पूर्ण देशभक्त– राष्ट्रवादी अनि लोकतन्त्र र गणतन्त्रका पक्षपाती साथै कम्युनिष्ट, वामपन्थीहरुको नेतृत्वमा यी सबै एक भई साम्राज्यवादी र विस्तारवादी दलालहरुका विरुद्ध आन्दोलनमा जुटौं ।




