बुटवल
बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवद्र्धनका विषयमा केन्द्रित दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बिहीबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण विश्वको शान्तिको केन्द्र र साझा सभ्यता भएकाले यसको संरक्षण, प्रवद्र्धन र दिगो विकासमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।
उनले बौद्ध सम्पदाको संरक्षणलाई पर्यटन विकाससँग जोडेर अघि बढाउनुपर्ने उल्लेख गर्दै यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीको पहिचान विश्व समुदायमाझ अझ सशक्त रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘लुम्बिनीमा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै तिनको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न प्रदेश सरकार प्रतिबद्ध छ,’ मन्त्री न्यौपानेले भने–‘दिगो पर्यटनको विकासमार्फत् स्थानीय समुदायको आर्थिक समृद्धिमा समेत योगदान पुग्ने गरी योजना अघि बढाउनुपर्छ ।’
सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलङ्का र फिनल्यान्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्को सहभागिता रहेको छ ।
सम्मेलनका प्रमुख वक्ता प्राध्यापक डा. नरेशमान बज्राचार्यले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई मानव सभ्यताका लागि शान्ति, करुणा र सहअस्तित्वको विश्वव्यापी सन्देश बोकेको पवित्र भूमि भएको बताए । उनले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई अनुसन्धान, संरक्षण र अन्तर्राष्ट्रिय प्रचारप्रसारमार्फत भावी पुस्तासम्म सुरक्षित रूपमा पु¥याउन सरकार, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय समुदायबिच थप सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले लुम्बिनी र आसपासका ऐतिहासिक तथा पुरातात्विक बौद्ध सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु सम्मेलनको मुख्य लक्ष्य रहेको जनाए ।
उनले संरक्षणको अभाव, पर्याप्त अध्ययन तथा उत्खनन् हुन नसक्दा धेरै महत्वपूर्ण बौद्ध सम्पदा अझै ओझेलमा परेको उल्लेख गर्दै ती सम्पदाको खोज, संरक्षण र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । ओझेलमा परेका ऐतिहासिक तथा पुरातात्विक बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउनु र ती क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको उनले बताए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवद्र्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासका उपायबारे विभिन्न देशका विज्ञहरूले एक दर्जन अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनले लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगो पर्यटन विकासका लागि नीतिगत र व्यावहारिक सुझावसहित दीर्घकालीन मार्गचित्र तयार गर्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।




