तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघले १२औं स्थापना दिवस मनाएको छ ।
संघको सचवालयमा आयोजित कार्यक्रमका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योगी व्यवसायीमाथि सरकारको धरपकडले व्यवसायिक वातावरण झन् खस्केको गुनासो गरे ।
जेनजी आन्दोलनपछि उद्योग व्यवसाय क्षेत्रको व्यापार मुस्किलले ४० प्रतिशत मात्र हुने गरेको उल्लेख गर्दै वरिष्ठ उपााध्यक्ष वैद्यले सम्पत्ति शुद्धिकरणलगायतको नाममा उद्योगी, व्यवसायीमाथि सरकारी धरपकड र गिरफ्तारीले समग्र व्यवसायमा डर त्रास छाएको गुनासो गरे ।
सरकारले राज्य, निजी क्षेत्र र नागरिक तीनै पक्षलाई राम्रो हुने गरी नयाँ ऐन कानुन र स्पष्ट नीति ल्याएर त्यसअनुसार अघि बढ्नुपर्ने त्यसो नहुँदा देशभरका उद्योगी व्यवसायीको मनोबल खस्केको वैद्यले बताए ।
बैंकहरुमा १२ खर्ब रकम थुप्रिएको उल्लेख गर्दै उनले निजी क्षेत्रमैत्री मौद्रिक नीति ल्याएर उद्योग व्यवसाय क्षेत्रलाई चलायमान बनाउनपर्ने सरकारसँग आग्रह गरे ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले तिलोत्तमालाई केन्द्र बनाएर छिमेकी पालिकाहरुलाई समेटेर महानगर बनाउन आफूहरुले अगुवाइ गर्ने बताए । उनले अब देशमा आर्थिक बहस आवश्यक रहेको र राजनीति बहस आवश्यक नभएको तर्क गर्दै तिलोत्तमामा रात्रिकालीन बजार सञ्चालन गर्ने गरी योजना बनाउनुपर्ने औंल्याए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपााध्यक्ष कृष्णप्रसाद शर्मा, केन्द्रीय सदस्य हरिप्रसाद अर्याल,नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, तिलोत्तमा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी, संघका मानार्थ सदस्य हरिलाल पाण्डे, संघका कानुनी सल्लाहकार माधवप्रसाद घिमिरे, वरिष्ठ उपााध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डेलगायतले उद्योग व्यवसाय क्षेत्रका समस्या र माग सम्बोधन गर्न सरकारसँग माग गरेका थिए ।
कार्यक्रममा संघले स्थापना गरेको अक्षयकोषबाट शैक्षिक छात्रवृत्ति वितरण गरिएको थियो भने संघलाई योगदान गरेका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।




