२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्यार्थीमा पठन संस्कृति बढाउंंदै न्यू होराइजन बुक क्लब

विद्यार्थीमा पठन संस्कृति बढाउंंदै न्यू होराइजन बुक क्लब

बुक क्लबले पाँच वर्षमा ५१ औं श्रृंखला पूरा गरेको छ भने करिब  तीन हजार विद्यार्थी र १५ सयभन्दा बढी अभिभावक प्रत्यक्ष सहभागी भएका छन् ।

विद्यार्थीमा पठन संस्कृति बढाउंंदै न्यू होराइजन बुक क्लब

विद्यार्थीमा पठन संस्कृति बढाउंंदै न्यू होराइजन बुक क्लब

बुक क्लबले पाँच वर्षमा ५१ औं श्रृंखला पूरा गरेको छ भने करिब  तीन हजार विद्यार्थी र १५ सयभन्दा बढी अभिभावक प्रत्यक्ष सहभागी भएका छन् ।

विद्यार्थीमा पठन संस्कृति बढाउंंदै न्यू होराइजन  बुक क्लब
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • बुटवल । पछिल्ला वर्षहरुमा आम अभिभावकको टाउको दुखाई बनेको छ– छोरा–छोरीले मोबाइल फोनको अत्यधीक प्रयोग गर्ने बानी (लत) । मोबाइल फोनको अत्यधीक प्रयोगले स्कुल र कलेज पढ्ने विद्यार्थीहरुको पढाई–लेखाईमा असर त परेको छ नै, उनीहरुमा सिर्जनशिलता, सामाजिक भावना, पारिवारिक आत्मीयता पनि हराउन थालेको अनुभूति हुन थालेको छ । 


    यस्तो अवस्थालाई सुधारेर विद्यार्थीमा पठन संस्कृति विकास गर्न र पढाई लेखाईमा ध्यान केन्द्रीत गराउन न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवलले पांच वर्ष अघि न्यू होराइजन बुक क्लब गठन ग¥यो ।


     विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठको मार्ग निर्देशनमा गठन भएको न्यू होराइजन बुक क्लबले सांच्चिकै विद्यार्थीमा पठन संस्कृति विकास गराउनुका साथै उनीहरुलाई मञ्च/स्टेजमा उभिएर निर्धक्कका साथ बोल्न सक्ने, नेतृत्व विकास गर्न पनि सिकाएको छ । 

    २०७९ सालमा उप–प्राचार्य राजीव श्रेष्ठको मार्गनिर्देशनमा क्लब इन्चार्ज सीमा विष्ट र सहइन्चार्ज आजिजुर रहमान रहने गरी न्यू होराइजन बुक क्लबको औपचारिक शुभारम्भ गरिएको थियो ।

    पुस्तक समीक्षाको ५१ औँ संस्करणसम्म आइपुग्दा करिब तीन हजार विद्यार्थी र १५ सयभन्दा बढी अभिभावक प्रत्यक्ष सहभागी भएका  उपप्राचार्य श्रेष्ठले बताए । ८ कक्षासम्मका विद्यार्थीहरुले अनुभवी लेखक समीक्षक जस्तै पुस्तकहरुको समीक्षा र व्याख्या गर्न सक्ने भएका छन् । 

    प्रारम्भिक चरणमा कक्षा ८ देखि १२ सम्मका सबैभन्दा बढी पुस्तक पढ्ने विद्यार्थीमध्ये प्रत्येक कक्षाबाट दुई/दुई जना उत्कृष्ट प्रतिनिधि छनोट गरी पुस्तक समीक्षा कार्यक्रममा सहभागी गराउने व्यवस्था गरिएको उपप्राचार्य श्रेष्ठले बताए । पहिलो वर्ष करिब सय जना विद्यार्थीलाई क्लबमा आबद्ध गराइएको थियो ।

    ‘कोरोना महामारीको प्रतिकूल असरका बाबजुद पनि विद्यार्थीलाई विभिन्न पुस्तक अध्ययनका लागि प्रेरित गरिएको थियो,२०८० सालदेखि क्लबलाई थप व्यवस्थित बनाइएपछि निरन्तर अध्ययन गर्ने विद्यार्थीको संख्यामा उल्लेखनीय वृद्धि भएको हो’–उपप्राचार्य श्रेष्ठले भने–‘मोबाइल फोनको अत्यधिक प्रयोगले बालबालिकाको आँखा, मानसिक तथा शारीरिक स्वास्थ्यमा नकारात्मक असर परेपछि अभिभावकबाट आफ्ना सन्तानलाई पुस्तक पढ्ने बानीको विकास गराउन अनुरोध आउने गरेको छ ।’ 


    बुक क्लबले पठन संस्कृतिलाई विद्यालय र समुदायमा संस्थागत रूपमा विस्तार गर्ने प्रमुख लक्ष्य लिएको तथा विद्यार्थीमा पढ्ने बानीसंगै नेतृत्व विकास र तार्किक क्षमताको अभिवृद्धि गर्न सकारात्मक भूमिका खेलेको उपप्राचार्य श्रेष्ठले बताए । 
    अभिभावकको अनुरोध अनुसार इच्छुक विद्यार्थीलाई क्लबमा आबद्ध गराई विभिन्न पुस्तक अध्ययन, समीक्षा तथा मञ्चमा उभिएर बोल्ने अभ्यास गराइएको बुक क्लबकी इन्चार्ज सीमा विष्टले बताइन् । 


    ‘प्रत्येक महिनाको अन्तिम शनिबार अभिभावकको उपस्थितिमा पुस्तक समीक्षा कार्यक्रम गर्दै आएका छौं, यसले विद्यार्थीहरुमा पुस्तक पढ्नुपर्छ भन्ने भावनाको विकास गरायो’–विष्टले भनिन्–‘ पुरस्तक राम्रोसंग पढेर त्यसको समीक्षा पनि गर्नुपर्ने भएपछि विद्यार्थीहरुमा मोबाइल प्रयोग गर्ने बानी स्वतः कम हुंदै गयो, यो कुरा अरु विद्यार्थी र अभिभावकले पनि अनुशरण गर्न थालेका छन् ।’ 


    २०८१ सालदेखि भने न्यू होराइजन बुक क्लबले पुस्तक पठन कार्यलाई विद्यालयभित्र मात्र सीमित नराखी संस्कृतिकै रूपमा विकास गर्न थप जनशक्ति विस्तार गरेको प्राचार्य वासुदेव अर्यालले बताए । पछिल्ला वर्षहरुमा स्कूल–कलेज पढ्ने विद्यार्थीहरुमा  मोबाइल फोनको प्रयोग कूलतको रुपमा विकास हुंदै गएको चिन्ताजनक अवस्था रहेको भन्दै प्राचार्य अर्यालले न्यू होराइजनले यसलाई रोकेर पठन संस्कृतिमार्फत विद्यार्थीलाई संस्कारी, अनुशासित बनाउन प्राथमिकता दिएको बताए ।


     ‘विद्यालयका सम्पूर्ण नेपाली तथा अंग्रेजी विषयका शिक्षकहरूको सक्रिय सहभागितामा हरेक शनिबार पुस्तक समीक्षालाई निरन्तरता दिएका छौं, यसप्रति आम अभिभावक र विद्यार्थी एकदमै सकारात्मक छन्’–प्राचार्य अर्यालले भने–‘हालसम्म करिब तीन हजार विद्यार्थी र १५ सयभन्दा बढी अभिभावक प्रत्यक्ष सहभागी भएका छन्, यो अभियानले विद्यार्थीमा अत्यधीक मोबाइल प्रयोगको लतलाई क्रमशः घटाउंदै लगेको छ  ।’ 


    विद्यालयका निवर्तमान प्राचार्य लोकनाथ उपाध्यायले मोबाइल फोन र सामाजिक सञ्जालको अत्यधीक प्रयोगले विद्यार्थी र समाजमा उच्छृंखलता र अनुशासनहीनता बढेको तथा असल संस्कार र देशप्रेमको भावनामा कमी आएको भन्दै चिन्ता व्यक्त गरे । यस्तो अवस्थालाई सकारात्मक दिशामा बदल्न नसके परिवार,समाज र सिंगो देश नै दुर्घटनामा जान सक्ने जोखिमतर्फ सरोकारवाला सबै सजग हुनुपर्नेमा उपाध्यायले जोड दिए । हरेक विद्यालय र घरमा विद्यार्थी, बालबालिका र अभिभावकमा पुस्तक पढ्ने बानीको विकास गराउन राष्ट्रिय अभियान नै चलाउनुपर्ने र यसले मात्र मोबाइल र सामाजिक सञ्जाल प्रयोगको कूलत हटाउन सकिने उपाध्यायको सुझाव छ ।  


    गुणस्तरीय शिक्षाको विकासका लागि अभिभावक, विद्यालय र विद्यार्थीबीच मजबुत सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा बुक क्लब र पुस्तक समीक्षा कार्यक्रमले सहजीकरण गर्दै आएको उपप्राचार्य राजेश पाण्डेले बताए । 
    ५१ औं श्रृंखलामा १० जना विद्यार्थीको पुस्तक समीक्षा प्रस्तुति हेरेका साहित्यकार गिरी श्रीस मगरले न्यू होराइजनका विद्यार्थीको यो स्तरको क्षमता देखेर आफू एकदमै प्रभावित र नतमस्तक भएको भन्दै खुलेर प्रशंसा गरे । 


    ‘कक्षा ७ र ८ का विद्यार्थीले नेपाल र अधिकांश विदेशी लेखकका अंग्रेजी भाषाका पुस्तकको यति गहिरो अध्ययन, प्रभावकारी समीक्षा प्रस्तुति देखेर असाध्यै धेरै प्रभावित भएं, यो एकदमै अनुकरणीय र प्रसंशनीय छ’–श्रीसले भने–‘पठन संस्कृतिले पुस्तकबारे मात्रै ज्ञान दिंदैन, यसले विद्यार्थीमा सकारात्मक सोंचको विकास, समाज र राजनीतिलाई बुझ्ने, हेर्ने दृष्टिकोण र दायरा पनि निकै फराकिलो बनाउंछ,त्यसैले पठन संस्कृतिलाई सबैले प्रवद्र्धन गर्नुपर्छ ।’  


    क्लबले हरेक शैक्षिक सत्रको प्रारम्भमै बुक क्लबको सदस्यता नवीकरण तथा ब्याच वितरण गर्दै नयाँ विद्यार्थीलाई अभिमुखीकरण गराउँदै आएको शिक्षक हरिप्रसाद पौडेलले बताए । त्यसैगरी गर्मी विदामा रिडिङ हाफ म्याराथन प्रतियोगिता, सामाजिक कार्य अन्तर्गत अनाथ आश्रममा पुस्तक र शैक्षिक सामग्री वितरण, प्रत्येक हप्ता पुस्तक समीक्षा कार्यक्रम, प्रत्येक नतिजा प्रकाशनपछि पुस्तक प्रदर्शनी, प्रसिद्ध लेखक तथा सर्जकसँग विद्यार्थीको अन्तरक्रिया तथा उत्कृष्ट पाठक सम्मान जस्ता कार्यक्रमलाई नियमित बनाइएको बुक क्लबका सहइन्चार्ज आजिजुर रहमानले बताए । 


    रहमानका अनुसार २०७९ सालमा ३२ पटक पुस्तक समीक्षा कार्यक्रम सञ्चालन हुँदा ५६६ विद्यार्थी, २०८० सालमा ४५ पटक हुँदा ६०४ विद्यार्थी, २०८१ सालमा ४५ पटक हुँदा ६८८ विद्यार्थी ,२०८२ सालमा ४५ पटक  हुँदा ६९६ विद्यार्थी र २०८३ सालमा हालसम्म ७ पटक कार्यक्रम सञ्चालन हुँदा २३१ विद्यार्थी सहभागी भएका छन् । यस हिसाबले हालसम्म करिब ३ हजार विद्यार्थी पुस्तक समीक्षामा र १५ सय जना बढी अभिभावकले प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागिता जनाएका छन् । 

    collage (2).jpg
    undefined


    क्लबले आगामी दिनमा हरेक वर्ष कम्तीमा २० वटा पुस्तक समीक्षा कार्यक्रम सञ्चालन गर्दै २ हजारभन्दा बढी विद्यार्थी र तिनका अभिभावकलाई सहभागी गराउने लक्ष्य लिएको छ । पठन संस्कृतिको विकासका लागि स्थानीय तहमा कार्यरत संघ–संस्थासँग सहकार्य गर्ने, पठन संस्कृतिको अभियानलाई समाजका हरेक क्षेत्रमा विस्तार गर्ने, अभिभावकीय शिक्षा र सरोकारवालालाई क्लबसँग जोड्ने तथा अन्य शैक्षिक संस्थासँग समेत सहकार्य गर्दै अभियानलाई फराकिलो बनाउने योजना छ।


    त्यसैगरी स्थानीय तह बुटवल उपमहानगरपालिकाले स्वामित्व लिएको खण्डमा पठन संस्कृति बुटवलको कल्चर हो भन्ने अभियानलाई अझ अगाडि बढाउने अपेक्षा पनि क्लबले राखेको छ।

    ‘५१औँ संस्करणसम्म आइपुग्दा न्यू होराइजन बुक क्लब विद्यालयको अतिरिक्त क्रियाकलाप मात्र नभई गुणस्तरीय शिक्षा, अध्ययनशील संस्कार, नेतृत्व विकास र अभिभावक–विद्यालय सहकार्यलाई मजबुत बनाउने प्रभावकारी अभियानका रूपमा स्थापित भएको छ’–उपप्राचार्य राजीव श्रेष्ठले भने–‘यो अभियानमार्फत हामी पठन संस्कृतिलाई संस्थागत रूपमा समुदायमा फैलाऊने,विद्यार्थीहरूमा पढ्ने बानी, नेतृत्व विकास र तार्किक क्षमताको वृद्धि गर्ने,शिक्षक, अभिभावक र सरोकारवाला बिचमा पनि पुस्तक समीक्षा र बिचार मन्थन गराई विद्यार्थीहरूको साहित्य सृजनाप्रतिको रुचिलाई अवसर र मार्गनिर्देशन दिने उद्देश्य छ ।’ 


    शनिबार ५१ औं श्रृंखलाको पुस्तक समीक्षामा कक्षा ७ र ८ का प्रञ्जना अर्याल, रिसव रसाइली, सब्रिना पाण्डे, अब्नित खनाल, नभ्या गौतम, स्मृति न्यौपाने, अग्रीमा अधिकारी, अनमोल पन्थी , किस्मत पौडेल र आयाम पाण्डेले फरक फरक १० वटा पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रमलाई प्रेक्षा खनाल र अनुज्ञा पोख्रेलले सहजिकरण गरेका थिए ।   

    बुक क्लब र पुस्तक समीक्षा कार्यक्रमप्रति अभिभावक र विद्यार्थी दुबैले खुशी व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij