बुटवल । आधुनिक डिजाइनका सिमेन्टेड घरहरुको घना वस्तीले विशाल क्रंक्रिट शहर बनेको छ बुटवल । यस्तो घना क्रंक्रिट वस्तीको एक छेउमा भर्खरै नेपालको ग्रामीण परिवेशको झल्को दिने परम्परागत नेपाली घर बनेको छ ।
माटो र गेरु रङको बाहिरी भित्तो, कालो काठका कलात्मक झ्याल–ढोका, ढल्किएको छाना, चौडा बरन्डा तथा खुला आँगनले नेपाली गाउंको मौलिकता झल्काएको छ यो घरले ।

बुटवल रामनगरको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको पारिपट्टि शान्तिपथमा युवा उद्यमी समुन्द्र घिमिरे क्षेत्रीले बनाएको यो घर आवासीय नभई नेपालका रैथाने कला, संस्कृति र परम्परा संरक्षण तथा ग्रामीण भेगका प्रांगारिक उत्पादन प्रवद्र्धन र विक्रिका लागि बनाइएको हो । घिमिरे प्रकृति, रैथाने सीप, कला, रैथाने उत्पादनका संरक्षक, गाउं फर्कौं अभियान्ता र ग्रामीण पर्यटन प्रवद्र्धक हुन् ।
यहां घिमिरेले गाउंको तरकारी, गाउंको पोशाक र गाउंको कोसेली गरी तीन थरिका पसल सञ्चालन गरेका छन् । पसल र घरमा गरी ५० लाख बढी लगानी भएको घिमिरेले बताए । घिमिरे स्वयंले भने यसलाई पसल नभनी नेपाली मौलिक कला, संस्कृति र परम्परा संरक्षण गर्ने संग्रहालय हो भन्छन् ।

त्यहां पसल बाहिर पनि नेपालका विभिन्न जातजातिले प्राचीन समयमा प्रयोग गर्ने गरेका मौलिक वस्तु, हस्तकला सामग्री, भांडा कुंडा, लोपोन्मुख राउटेले बनाएका सामग्री, पोशाक, उपहार सामग्री आदि देख्न सकिन्छ ।
यस्तै पसलमा गाउंका तरकारी र फलफूल, हिमाली जिल्लाका दाल, गेडागुडी, सिस्नोको साग र पाउडर, सिन्की, गांजा र अल्लोबाट बनेका महिला पुरुषका लागि अलग अलग रेडिमेड कपडा, झोला, ब्याग, पर्स, जुत्ता, चप्पल आदि राखिएका छन् । गाउंको तरकारीमा ७७ जिल्लाकै रैथाने उत्पादन ल्याएर विक्रि र प्रवद्र्धन गर्ने उनको लक्ष्य छ ।

गाउंको कोशेलीमा राउटे देखि नेपालका सबै आदिवासी जनजातिले बनाउने हस्तकलाका सामग्रीको संकलन, विक्रि र प्रवद्र्धन तथा अतिथिलाई उपहार दिइने वस्तु विदेशबाट आयातित नभई स्वदेशी रैथाने सीप कलामा आधारित वस्तु दिने थिति बसाल्ने उनको अभियान छ । पसलमा ५ जना कर्मचारी र घिमिरे दम्पत्तिले काम गर्छन् ।

सञ्चालनमा आएको तीन चार दिनमै गाउंले घर (पसल) हेर्न र घरसंगै फोटो खिच्न आउनेको भीड लाग्ने गरेको समुन्द्रले बताए ।सर्वसाधारण संगै समाजका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरु आएर सकारात्मक प्रतिक्रिया र सुझाव दिइरहनु भएको छ’–घिमिरेले भने ।
बैंकर यम पुनले शहरको बीचमा गाउंको झल्को दिन मौलिक घरको फोटो सामाजिक सञ्जालमा देखेपछि खोज्दै आउंदा गज्जब लागेको प्रतिक्रिया दिए ।
‘झट्ट हेर्दा आवासीय घर होला भन्ने लागेको थियो, यहां आउंदा गाउंका उत्पादनको बजारिकरण र विक्रि पनि हुंदो रहेछ, यसले सांच्चिकै ग्रामीण अर्थतन्त्र चलायमान बनाउन योगदान दिन्छ’–पुनले भने–‘यो घर र पसल मात्र नभई नेपालका विभिन्न समुदाय, जातजातिका मौलिक परम्परा, कला संस्कृति, रैथाने वस्तु संरक्षण,प्रवद्र्धन गर्ने साझा थलो र नेपाली संग्रहालय जस्तो लाग्यो ।’

सात वर्ष वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा काम गर्दा युएई भौतिकरुपमा विकसित भएपनि प्रकृतिका दृष्टिले मृत भूमि (मरुभूमि) ठानेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर नेपाल फर्किएको बताउंछन् घिमिरे ।

‘बुटवलको घना क्रंक्रिट शहरमा गाउंले घर बनाउनुको उद्देश्य यहां व्यवसाय गरेर नाफा कमाउनु होइन, यो घर मार्फत गाउंलाई माया गरौं, गाउं सुन्दर छ, गाउंमै भविष्य छ भन्ने सन्देश दिन खोजेको हुं’–घिमिरेले भने–‘यो घर हेर्न आउनेहरुले जब गाउंका प्रांगारिक र स्वच्छ वस्तु, उत्पादन देख्छन्, उपभोग गर्छन् अनि उनीहरुलाई गाउंप्रति माया र सम्मान जाग्छ र उनीहरु गाउं फर्केर कृषि वा अन्य उद्यम गर्न प्रेरित हुन सक्छन् ।’
शहरमा मात्रै जनसंख्याको चाप र शहरमा मात्रै अवसर, रोजगारी छ भन्ने मान्यता बदल्न युवालाई गाउंमा उद्यम गर्न गाउं फर्काउने आफ्नो मुख्य लक्ष्य भएको घिमिरे बताउंछन् ।
‘शहरमा हुर्केका पुस्तालाई ग्रामीण जनजीवन सिकाउने, गाउंका वनजंगल, रित्तिएका घर जग्गा,नदीनालाको सदुपयोग गरी आयआर्जन गर्न सकिन्छ, गाउंमा शान्तिपूर्वक बस्न, रमाउन सकिन्छ भन्ने सन्देश फैलाउन बुटवलको यो गाउंले घरले भूमिका खेल्नेछ’–घिमिरे भन्छन्–‘नयां पुस्ता र शहरका विद्यार्थीलाई ग्रामीण जनजीवन, ग्रामीण अर्थतन्त्र, सिक्ने सिकाउने र ग्रामीण जीवनलाई ब्राण्ड बनाउंदै युवालाई गाउं घरमै उद्यम गर्न प्रेरित गर्ने उद्देश्य छ ।’

बढ्दो शहरीकरण,आधुनिकरणले युवा देखि पाको उमेरसम्मका मान्छेमा चिन्ता, डिप्रेसन, आवेगको शिकार भएकाले उनीहरुलाई गाउंघरमा प्रकृतिसंग रमाएर ध्यान, योगा मार्फत शान्ति दिलाउन गाउंमा फर्काउनुपर्ने समुन्द्रको तर्क छ ।
समुन्द्रले पाल्पाको तिनाउ गाउपालिका ६ मा २० रोपनी जग्गा खरिद गरी गाउंको घर इको फार्म र रिसोर्ट पनि सञ्चालन गरेका छन् । रिसोर्टसंगै तरकारी, कफी, दालचिनी, रुद्राक्ष खेती गरेका छन् । त्यसलाई बोटानिकल गार्डेनको रुपमा विकास गर्ने उनको लक्ष्य छ ।
गाउंमा बसाई सराईले रित्तिएका घर जग्गा लिजमा लिएर होम स्टे र कृषि फार्म सञ्चालन गर्न सकिने र त्यहां शहरका विद्यार्थीलाई कृषि कर्म सिकाउन, पढ्दै कमाउंदै अभियानमा आवद्ध गराउन सकिने घिमिरे औंल्याउंछन् ।

हाल गाउंको घर (इको फार्म) नजिकै केही घर र जग्गा लिजमा लिई कफी, डल्ले खुर्सानी, काउली, बन्दा, धनिया, क्याप्सिकमको व्यवसायिक उत्पादन र विक्रि शुरु गरेको घिमिरेले बताए ।
घिमिरेले रैथाने उत्पादनको प्रदर्शनी र विक्रिका लागि बुटवलमा हरेक शनिबार खुल्लारुपमा खस्यौली बजार सञ्चालन गर्ने गरेका छन् । जहां करिब २५ उद्यमीका रैथाने उत्पादनका स्टल रहने गरेका उनले बताए ।
घिमिरेले प्रकृति र पर्यावरण संरक्षण, सरसफाई र डढेलो नियन्त्रण जस्ता सामाजिक काम गर्न इको यात्री संस्थाको नेतृत्व पनि गरेका छन् ।




