२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुणस्तरीय शिक्षामा फड्को मार्दै भैरहवा

गुणस्तरीय शिक्षामा फड्को मार्दै भैरहवा

गुणस्तरीय शिक्षामा फड्को मार्दै भैरहवा

गुणस्तरीय शिक्षामा फड्को मार्दै भैरहवा

गुणस्तरीय शिक्षामा फड्को मार्दै भैरहवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • भैरहवा  
    व्यापार, पर्यटन र नेपाल–भारत सीमावर्ती गतिविधिका कारण लामो समयदेखि परिचित सिद्धार्थनगर नगरपालिका पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रको समेत महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । उच्च साक्षरता दर, विद्यालय तथा उच्च शिक्षाका संस्थाको विस्तार, सूचना–प्रविधिमैत्री शिक्षण प्रणाली, निजी र सामुदायिक विद्यालयबीच बढ्दो गुणस्तरीय प्रतिस्पर्धा तथा स्थानीय सरकारको लगानीले नगरको शैक्षिक स्वरूप उल्लेखनीय रूपमा परिवर्तन गरेको छ । यही कारण आज सिद्धार्थनगर लुम्बिनी प्रदेशकै प्रमुख शैक्षिक गन्तव्यमध्ये एकका रूपमा चिनिन थालेको छ ।


    सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखाका तथ्याङ्कअनुसार नगरभित्र हाल ७६ वटा विद्यालय सञ्चालनमा छन् । तीमध्ये सामुदायिकतर्फ १० वटा माविसहित १७, धार्मिकतर्फ १३ र १ विद्याश्रम, निजी संस्थागततर्फ २५ माविसहित वटा विद्यालय रहेका छन् भने १२ विद्यालयले कक्षा ११–१२ सञ्चालन गरिरहेका छन् । सामुदायिकतर्फ १० हजार र संस्थागततर्फ १७ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् । सामुदायिक र संस्थागत विद्यालय दुवैले पछिल्ला वर्षहरूमा पूर्वाधार, शैक्षिक गुणस्तर र आधुनिक शिक्षण प्रणालीमा उल्लेखनीय सुधार गरेका छन् । राष्ट्रिय जनगणनाको पछिल्लो तथ्याङ्कअनुसार नगरको साक्षरता दर ८६.१२ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो । यसले शिक्षा पहुँच र जनचेतनाको स्तर दुवैमा सिद्धार्थनगरले हासिल गरेको उपलब्धि स्पष्ट पार्छ ।


    नगरपालिकाका शिक्षा शाखा अधिकृत कृष्ण पोखरेलका अनुसार नगरपालिकाभित्रको शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा उल्लेख्य सुधार भएको छ । सबै सामुदायिक विद्यालय र मदरसाका बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा, सबै बालबालिकालाई निःशुल्क पाठ्यपुस्तक तथा छात्राहरूका लागि सेनिटरी प्याडको व्यवस्था मिलाइएको छ । आयस्रोत कम भएका विद्यालयको विद्युत् महसुल भुक्तानी गर्नुका साथै आवश्यकता अनुसार शिक्षक दरबन्दी मिलान र तालिमको व्यव्स्था हुने गरेको छ ।


    विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन इमिस प्रणालीमार्फत डिजिटल अभिलेखीकरण, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड, ल्यापटप, प्रोजेक्टर र सिसि क्यामेरा जडान गरी सुरक्षा र आधुनिक सिकाइ सुनिश्चित गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले बताए । भौतिकतर्फ सबै माविमा कम्तीमा ४ कोठे पक्की भवन निर्माण भएका छन् । स्थानीय पाठ्यक्रम  ‘हाम्रो सिद्धार्थनगर’ लागू गरिएको छ भने शिक्षालाई व्यवस्थित गर्न पञ्चवर्षीय नगर शिक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । साथै, विद्यालय बाहिर रहेकाहरूलाई साक्षर बनाउन तथ्यांक संकलन, कक्षा ८ को परीक्षा व्यवस्थापन र राष्ट्रपति रनिङ शिल्ड जस्ता खेलकुद प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन भइरहेका उनको भनाइ छ ।


    एक समय व्यापारिक गतिविधिका कारण मात्र चिनिने भैरहवा अहिले विद्यालय, क्याम्पस र व्यावसायिक शिक्षाका संस्थाहरूको केन्द्र बन्दै गएको छ । रुपन्देही क्याम्पस, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस), पक्लिहवा कृषि क्याम्पस, आखाँ अस्पताल, प्राविधिक शिक्षालय,बहुमुखी क्याम्पसलगायतका उच्च शिक्षाका संस्थाले नगरलाई प्रदेशकै महत्वपूर्ण शैक्षिक केन्द्रको पहिचान दिलाएका छन् । चिकित्सा, कृषि, व्यवस्थापन, शिक्षा, मानविकी तथा अन्य विविध विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि सिद्धार्थनगर अहिले आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँ अन्य पालिकाबाट पनि सयौँको संख्यामा अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् ।


    नगरपालिकाले पछिल्ला वर्षहरूमा विद्यालय भवन निर्माण, कक्षाकोठा विस्तार, शुद्ध खानेपानी, शौचालय, कम्पाउन्ड, खेलमैदान तथा सूचना–प्रविधिमा आधारित शिक्षण प्रणाली विस्तारमा निरन्तर लगानी गर्दै आएको छ । डिजिटल सिकाइ सामग्रीको प्रयोग बढेको छ । शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम, बालमैत्री सिकाइ वातावरण र विद्यार्थी केन्द्रित शिक्षण विधिलाई समेत प्राथमिकतामा राखिएको शिक्षा शाखाको भनाइ छ । 


    निजी विद्यालयहरूले विज्ञान तथा प्रयोगशाला, स्मार्ट कक्षा, अतिरिक्त क्रियाकलाप तथा प्रविधिमा आधारित शिक्षणलाई प्राथमिकता दिएका छन् भने सामुदायिक विद्यालयहरूले पनि गुणस्तर सुधारका प्रयासलाई तीव्र बनाएका छन । पछिल्ला केही वर्षयता निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको अवस्था देखिनु सामुदायिक शिक्षामा आएको सुधारको सकारात्मक संकेत मानिएको छ ।


    विद्यालयहरूबिचको स्वस्थ प्रतिस्पर्धाले पनि समग्र शैक्षिक वातावरणलाई थप गतिशील बनाएको छ । आधुनिक शिक्षण शैली, सूचना–प्रविधिको प्रयोग, विज्ञान प्रदर्शनी, खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापमार्फत् विद्यालयहरूले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान केन्द्रित गरेका छन् । शिक्षाविद्हरूका अनुसार अहिलेको प्रतिस्पर्धा केवल परीक्षा नतिजामा सीमित नभई विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता, अनुसन्धान र सिर्जनशीलता अभिवृद्धितर्फ पनि उन्मुख हुँदै गएको छ ।


    यद्यपि विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने पर्याप्त अवसर नगरभित्र उपलब्ध भए पनि कक्षा १२ पछि चिकित्सा, इञ्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान तथा अन्य विशिष्टीकृत विषय अध्ययनका लागि बाहिर जाने विद्यार्थीको संख्या अझै उल्लेख्य छ । अवसर, प्रतिष्ठा, अन्तर्राष्ट्रियस्तरको अध्ययन वातावरण र रोजगारीको सम्भावनालाई हेरेर धेरै अभिभावकले आफ्ना छोराछोरीलाई बाहिर पठाउने गरेका छन् ।


    शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील नारायण कोइरालाका अनुसार विद्यार्थी पलायन रोक्न नगरभित्रै गुणस्तरीय उच्च शिक्षा, अनुसन्धान केन्द्र, आधुनिक प्रयोगशाला, अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम तथा उद्योगसँग जोडिएका सीपमूलक पाठ्यक्रम विस्तार गर्न आवश्यक छ । उनका अनुसार स्थानीय शैक्षिक संस्थाको विश्वसनीयता अझ बलियो बनाउन सकिए दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्नेछ ।


    समग्र सिद्धार्थनगरको शिक्षा क्षेत्रलाई हेर्ने हो भने भर्खरै सार्वजनिक भएको एसईईको नतिजा अनुसार निजी विद्यालयहरूले केही सुधार गरे पनि सरकारी विद्यालयहरूको नतिजा भने अझै पनि सन्तोषजनक देखिन सकेको छैन । स्थानीय सरकार र शिक्षा शाखाहरूले विद्यालयभित्रका क्रियाकलापहरूलाई प्रत्यक्ष निगरानी गर्नुपर्ने आवश्यकता छ । राम्रो गर्ने शिक्षकहरूलाई प्रोत्साहन गर्ने र कमजोर नतिजा ल्याउनेहरूलाई आवश्यक तालिमको व्यवस्था गरेर उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ, अर्कोतर्फ, उत्तरतर्फका क्षेत्रहरूको तुलनामा हाम्रा विद्यालयका भवन र भौतिक पूर्वाधारहरू कमजोर हुनु पनि रहेको कोइरालाले जनाए ।
    विद्यालयहरूमा प्राविधिक विषय र प्राविधिक शिक्षकहरूको अभाव छ, विज्ञान विषय त राखिएका छन तर पर्याप्त प्रयोगशाला नहुँदा विद्यार्थीहरूले प्रयोगात्मक सिकाई पूर्ण रुपले पाउन सकेका छैनन्, यही कमजोरीका कारण प्लस टु र माथिल्लो शिक्षाका लागि विद्यार्थीहरू बाहिरिने क्रम अझै रोकिन सकेको छैन । हाम्रै भैरहवा क्षेत्रका राम्रा र दक्ष शिक्षकहरू बुटवलतिर आकर्षित भइरहेका छन्, किनभने त्यहाँ शिक्षकहरूको तलब र सेवा सुविधाको स्केल राम्रो छ, यो शिक्षक पलायन हुनुको मुख्य कारण हो । अब नगर शिक्षा समिति, शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय इकाइबीच बलियो समन्वय हुन जरुरी रहेको बताए ।  नियमित अनुगमन गरेर विद्यालयहरूको वास्तविक अवस्था बुझ्न सकियो भने मात्र सरकारी विद्यालयहरूमा नयाँ प्रविधियुक्त शिक्षण सिकाई भित्र्याउन र यहाँको शिक्षाको स्तर सुधार्न सकिन्छ ।


    सिद्धार्थनगरसँग शैक्षिक केन्द्र बन्ने आवश्यक आधारभूत संरचना अहिले नै तयार भइसकेको छ । अब अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप संस्कृति, उद्योग–शिक्षा सहकार्य तथा रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सकिए विद्यार्थीलाई आफ्नै नगरमा गुणस्तरीय शिक्षा प्राप्त गर्न आकर्षित गर्न सकिने नगरको आवश्यकता हो ।


    सीमावर्ती शहर भएकाले भारतसँगको शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानको अवसर पनि सिद्धार्थनगरको अर्को बलियो पक्ष मानिन्छ । अन्तर्राष्ट्रिय सहकार्य, विद्यार्थी आदान–प्रदान, संयुक्त अनुसन्धान तथा सीमा क्षेत्रको आर्थिक सम्भावनासँग जोडिएका अध्ययन कार्यक्रम सञ्चालन गर्न सकिए सिद्धार्थनगरलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको छ ।


    स्थानीय सरकारको लक्ष्य विद्यालयको संख्या मात्र बढाउनु नभई गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु हो । सामुदायिक विद्यालयको स्तर उकास्न शिक्षक तालिम, सूचना–प्रविधिको प्रयोग, शैक्षिक पूर्वाधार विकास तथा बालमैत्री सिकाइ वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । शिक्षामा लामो अनुभव बटुलेका तथा प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले २०७४ सालको पहिलो निर्वाचन यता र विशेष गरी २०७९ सालको दोस्रो कार्यकाल सुरु भएपछि शिक्षा क्षेत्रमा धेरै सकारात्मक परिवर्तनहरू आएको बताए ।  पछिल्लो समय नगरपालिकाले निजी (संस्थागत) विद्यालयहरूलाई पनि समेट्दै नयाँ पाठ्यक्रम कार्यान्वयन र शिक्षक तथा प्रिन्सिपलहरूको विषयगत तालिममा सहभागी गराउन थालेको छ, जुन अन्य पालिकाहरूको तुलनामा एउटा राम्रो पहल हो । यद्यपि, विद्यार्थी र गुणस्तरीय शिक्षकहरूको बाहिरिने क्रमलाई रोक्नका लागि नगरपालिका स्तरबाट अझै पनि कुनै ठोस वा दीर्घकालीन योजना बन्न सकेको छैन । 
    उनले विद्यालयहरूले आफ्नै व्यक्तिगत प्रयासमा शिक्षकहरू टिकाउने काम गरिरहेका बताउँदै नगरपालिकाले हालै जेठ महिनादेखि एउटा शैक्षिक पञ्चवर्षीय कार्ययोजना कार्यान्वयनमा ल्याउन लागे पनि यसमा विद्यालयका नियमित प्रशासनिक सुधारका कुराहरू मात्र समेटिएका , सिद्धार्थनगरलाई व्यापारिक सहरका साथै एउटा शैक्षिक केन्द्र र शैक्षिक पर्यटन को थलोको रुपमा बनाउन सामूहिक प्रयास आवश्यक देखिन्छ । 


    नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझीले सिद्धार्थनगरमा अध्ययनको वातावरण विगतको तुलनामा सुधारिएको बताउँदै अब अनुसन्धान, नवप्रवर्तन, उद्योगसँगको साझेदारी तथा अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम विस्तार गर्न सकिए विद्यार्थीलाई काठमाडौं वा विदेश जानुपर्ने बाध्यता धेरै हदसम्म कम गर्न सकिने जनाए । शिक्षा क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनलाई दीगो बनाउन स्थानीय सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, उद्योग व्यवसायी तथा अभिभावकबिचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता समेत रहेको उनले बताए ।


    अभिभावकहरूको अनुभव पनि यस्तै छ । उनीहरूका अनुसार भैरहवामा आधारभूत र माध्यमिक तहको गुणस्तरीय शिक्षा सहजै उपलब्ध भए पनि केही विशिष्टीकृत विषय, अन्तर्राष्ट्रियस्तरको शैक्षिक अवसर तथा अनुसन्धानको वातावरण सीमित भएकाले छोराछोरीलाई बाहिर पठाउनुपर्ने अवस्था रहेको छ । यस्ता अवसर नगरभित्रै विकास गर्न सकिए आर्थिक भारसमेत घट्ने उनीहरूको विश्वास छ ।


    सूचना–प्रविधिमा आधारित शिक्षाको समान पहुँच, दक्ष शिक्षक उत्पादन, आधुनिक प्रयोगशाला, अनुसन्धान संस्कृति, पुस्तकालय विस्तार, सीपमूलक शिक्षा, नवप्रवर्तन तथा रोजगारसँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्न सके सिद्धार्थनगरले प्रदेशको मात्र होइन, देशकै उत्कृष्ट शैक्षिक नगरका रूपमा नयाँ पहिचान स्थापित गर्न सक्ने आधार बलियो बन्दै गएको छ ।


    आजको अवस्थामा सिद्धार्थनगरको सबैभन्दा ठूलो उपलब्धि भनेको शिक्षा क्षेत्रमा बनेको विश्वास हो । उच्च साक्षरता, विद्यालय र क्याम्पसको पर्याप्त उपलब्धता, सामुदायिक विद्यालयमा सुधार, निजी क्षेत्रको लगानी, प्रविधिमैत्री शिक्षण र प्रतिस्पर्धात्मक वातावरणले नगरलाई शैक्षिक रूपमा नयाँ उचाइमा पु¥याइरहेको छ । अबको मुख्य चुनौती भनेको यही उपलब्धिलाई गुणस्तरीय उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन र रोजगारीसँग जोड्दै विद्यार्थीलाई आफ्नै नगरमा भविष्य देखाउने वातावरण सिर्जना गर्नु हो । त्यसमा सफलता हासिल गर्न सके सिद्धार्थनगरले आगामी दशकमा लुम्बिनी प्रदेशको मात्र होइन, नेपालकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउने विश्वास छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij