शिवराज पाेखरेल
डिजिटल युगमा सामाजिक सञ्जाल सूचना आदान–प्रदानको प्रभावकारी माध्यम बनेको छ। तर यही माध्यम तथ्यभन्दा अफवाह र भावनालाई छिटो फैलाउने प्लेटफर्म पनि बन्दै गएको छ। पछिल्ला दिनहरूमा हैदरावादी दम बिरयानीमा प्लास्टिकको पञ्जा परेको भन्ने दाबी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो। आधिकारिक अनुसन्धानको निष्कर्ष सार्वजनिक हुनुअघि नै उक्त घटनालाई सत्यका रूपमा प्रस्तुत गरियो, जसले सम्बन्धित होटल मात्र होइन, समग्र होटल व्यवसायप्रति नै उपभोक्तामा शंका, भ्रम र अविश्वास सिर्जना गरायो।
कुनै पनि व्यवसायमाथि आरोप लाग्नु सामान्य घटना होइन। त्यस्ता आरोपले वर्षौंको मेहनत, लगानी र विश्वासका आधारमा निर्माण भएको प्रतिष्ठालाई प्रत्यक्ष असर पार्छ। त्यसैले कुनै घटना वा आरोपको सत्यता सम्बन्धित निकायबाट पुष्टि नहुँदै सामाजिक सञ्जालमा अफवाह फैलाउने, भिडियो र पोस्टमार्फत जनमत प्रभावित गर्ने तथा व्यवसायलाई दोषी ठहर गर्ने प्रवृत्ति गैरजिम्मेवार र हानिकारक हो। आजको डिजिटल परिवेशमा केही घण्टामै एउटा गलत सूचनाले व्यवसायको छवि गम्भीर रूपमा क्षति पुर्याउन सक्छ।
यदि खाद्य सुरक्षासम्बन्धी कुनै वास्तविक समस्या देखिएको हो भने त्यसको परीक्षण, अनुसन्धान र आवश्यक कारबाही सम्बन्धित सरकारी निकायले कानुनअनुसार गर्नुपर्छ। यही नै विधिको शासन र न्यायको आधारभूत सिद्धान्त हो। तर प्रमाणबिनै कसैलाई दोषी ठहर गर्दै सामाजिक सञ्जालमा 'भाइरल' बनाउने संस्कृतिले न्यायिक प्रक्रियामाथि अविश्वास बढाउनुका साथै निर्दोष व्यक्ति वा संस्थामाथि अन्याय गर्ने जोखिम पनि बढाउँछ।
व्यवसायमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक पक्ष हो। स्वस्थ प्रतिस्पर्धाले गुणस्तर सुधार, सेवा विस्तार र उपभोक्तालाई राम्रो विकल्प उपलब्ध गराउँछ। तर प्रतिस्पर्धाकै नाममा झुटा आरोप, अफवाह र प्रपागण्डा फैलाएर अर्को व्यवसायलाई बदनाम गर्ने प्रयास कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन। यस्ता गतिविधिले एउटा व्यवसायलाई मात्र होइन, समग्र होटल तथा पर्यटन उद्योगको विश्वसनीयता र देशको व्यावसायिक वातावरणलाई समेत नकारात्मक असर पुर्याउँछ।
सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक नागरिकको पनि उत्तिकै जिम्मेवारी छ। कुनै पनि समाचार, भिडियो वा आरोप देख्नेबित्तिकै त्यसलाई सत्य मानेर साझा गर्नुको सट्टा त्यसको स्रोत, प्रमाण र आधिकारिक पुष्टि खोज्ने बानी विकास गर्नुपर्छ। तथ्य पुष्टि नगरी फैलाइएका सूचनाले कसैको प्रतिष्ठा, व्यवसाय र जीविकोपार्जनमा गम्भीर क्षति पुर्याउन सक्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन।
हामी सबैले तथ्यलाई सम्मान गर्ने, कानुनी प्रक्रियामाथि विश्वास गर्ने र अपुष्ट सूचना फैलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने संस्कृतिको विकास गर्न आवश्यक छ। आलोचना आवश्यक छ, तर त्यो प्रमाणमा आधारित हुनुपर्छ; प्रश्न उठाउन पाइन्छ, तर निर्णय अनुसन्धान र कानुनी प्रक्रियाले गर्नुपर्छ।
अन्ततः सत्यलाई स्थापित गर्ने आधार प्रमाण हो, अफवाह होइन। त्यसैले व्यवसायको सम्मान गरौं, तथ्यको सम्मान गरौं, न्यायिक प्रक्रियामाथि विश्वास गरौं र जिम्मेवार नागरिकका रूपमा सत्य र असत्यबीचको भिन्नतालाई बुझेर मात्रै आफ्नो धारणा सार्वजनिक गरौं।
(लेखक हाेटल तथा रेष्टुरे्नट व्यवसायी संघका केन्द्रिय सदस्य हुन् । )




