बुटवल । मोबाइल र सामाजिक सञ्जालको बढ्दो प्रभावबीच नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिसँग जोड्ने उद्देश्यले बुटवलमा माध्यमिक विद्यालयस्तरीय रामायण वाचन प्रतियोगिता आयोजना हुने भएको छ। २१३औँ भानुजयन्तीको अवसर पारेर ज्ञानज्योति पुस्तकालय, बुटवल–८ ले रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा उभ्याउँदै ‘माध्यमिक विद्यालयस्तरीय रामायण वाचन प्रतियोगिता–२०८३’ आयोजना गर्न लागेको हो।
प्रतियोगिता रामायण वाचनमा सीमित नभई विद्यार्थीभित्र लुकेका वाचनकला, उच्चारण, प्रस्तुतीकरण, साहित्यप्रतिको रुचि र सांस्कृतिक चेतनाको खोजी गर्ने अभियानका रूपमा अघि सारिएको पुस्तकालयले जनाएको छ।
यसका लागि ज्ञानज्योति पुस्तकालयले बुटवल उपमहानगरपालिकाको शिक्षा शाखालाई आधिकारिक पत्राचार गर्दै पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रतियोगितामा सहभागी गराउन आवश्यक समन्वय गरिदिन अनुरोध गरेको छ।
कार्यक्रम संयोजक ज्ञान केसीले हस्ताक्षर गरेको पत्रमा विद्यालयस्तरमा रहेका प्रतिभालाई राष्ट्रिय पहिचान दिने र विद्यार्थीमा रहेको अन्तर्निहित क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरिएको छ।
आयोजकले प्रतियोगितालाई समावेशी बनाउन प्रत्येक विद्यालयबाट एक जना छात्र र एक जना छात्रा अनिवार्य रूपमा सहभागी गराउनुपर्ने व्यवस्था गरेको छ। छात्र मात्र वा छात्रा मात्र सहभागी गराउन पाइने छैन।
प्रतियोगितामा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थी मात्र सहभागी हुन पाउने र प्रत्येक प्रतियोगीसँग विद्यालयको शिक्षक प्रतिनिधि अनिवार्य रहने तथा इच्छुक अन्य तीन जना विद्यार्थीलाई पनि शिक्षकको साथमा कार्यक्रममा सहभागी गराउन सकिने व्यवस्था गरिएको प्रतियोगिताका व्यवस्थापक प्रकाश सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा विद्यार्थीले आदिकवि भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको रामायण को कुनै पनि काण्डबाट श्लोक छनोट गर्न सक्नेछन्।
प्रतियोगिताको ढाँचा पनि फरक बनाइएको छ। सुरुमा छात्र प्रतियोगीले २ देखि ४ श्लोक वाचन गर्नेछन्। त्यसपछि छात्रा प्रतियोगीले ४ देखि ८ श्लोक वाचन गर्नेछन्। त्यसपछि दुवैले पालैपालो श्लोक वाचन गर्दै प्रस्तुति अघि बढाउनेछन्।
हरेक टोलीका लागि ७ मिनेट समय निर्धारण गरिएको छ। विद्यार्थीले पुस्तकबाट वा हस्तलिखित रूपमा सारेर पनि रामायण वाचन गर्न सक्नेछन्।
प्रतियोगितामा केवल श्लोक कण्ठस्थ भएको आधारमा मूल्याङ्कन गरिने छैन। लय, शैली, स्वर, स्पष्ट उच्चारण, प्रस्तुतीकरण, माधुर्य र समग्र वाचनकला लाई मुख्य मापदण्ड बनाइने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा प्रोत्साहन स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। विशेष कुरा, उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई समेत सम्मान गरिने भएको छ। सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइनेछ।
प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। विद्यालयहरूले विद्यालयको आधिकारिक पत्र साउन २७ गते बिहान १०ः०५ बजेसम्म आयोजकलाई बुझाउनुपर्ने व्यवस्था गरिएको सुवेदीले बताए ।
प्रतियोगिता साउन २७ गते शनिबार बिहान ९ः३० बजे फरेष्ट इङ्ग्लिस बोर्डिङ स्कुल, सुख्खानगर, बुटवल–८ मा सुरु हुनेछ।
रामायण अध्ययन गर्न चाहने विद्यार्थीका लागि ज्ञानज्योति पुस्तकालयले साँझ ५ बजेदेखि ७ बजेसम्म पुस्तकालयबाट रामायणका पुस्तक उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
साहित्यकारहरूको भनाइमा पछिल्ला वर्षहरूमा विद्यालयस्तरमा नेपाली भाषा, साहित्य र शास्त्रीय वाचनसम्बन्धी प्रतियोगिता घट्दै गएका बेला ज्ञानज्योति पुस्तकालयको यो पहलले विद्यार्थीमा पठन संस्कृति, वाचनकला र नेपाली मौलिक साहित्यप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। भानुजयन्तीको अवसरमा आयोजना हुन लागेको यो प्रतियोगिताले आधुनिक पुस्तालाई भानुभक्तको साहित्यिक योगदानसँग जोड्दै नेपाली भाषाको संरक्षण र प्रवर्द्धनमा नयाँ सन्देश दिने विश्वास गरिएको छ। पुस्तकालयले हरेक वर्ष भानु जयन्तीका अवसरमा रामायण वाचन प्रतियोगितालाई निरन्तरता दिंदै आएको छ ।




