बुटवल । फर्निचर उद्योग संघ रुपन्देहीले आफ्नो २७औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसको अवसरमा संघले शनिबार बुटवल–७ शिवनगरस्थित नन्दिनी गौशालामा चारा हस्तान्तरण गर्नुका साथै साँझ संघको कार्यालयमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो।
गौशालामा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय प्रमुख अतिथि तथा संघका अध्यक्ष जीवकान्त काफ्ले अध्यक्ष रहेका थिए।
कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं संघका पूर्व अध्यक्ष सुरेन्द्र ज्ञवाली, संघकी पूर्व अध्यक्ष सावित्रा टण्डन, निवर्तमान अध्यक्ष तेजप्रसाद पराजुली, संघका वरिष्ठ उपाध्यक्ष नेत्र रुचाल, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका कोषाध्यक्ष एवं संघका उपाध्यक्ष अशोक कुँवर तथा महासचिव खिमबहादुर खड्काले मन्तव्य व्यक्त गरेका थिए।
प्रमुख अतिथि पाण्डेयले उद्योगी–व्यवसायीहरूले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै गोशालामा चारा सहयोग गर्ने संघको अभियान अनुकरणीय रहेको बताए। यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै निजी क्षेत्रप्रतिको विश्वास पनि बढाउने उनको भनाइ थियो।
अध्यक्ष जीवकान्त काफ्लेले २७ वर्षको यात्रामा संघले उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई समान रूपमा अघि बढाउँदै आएको बताए। स्थापना दिवसलाई औपचारिक कार्यक्रममा सीमित नराखी समाजोपयोगी कार्यमार्फत मनाउने उद्देश्यले गौशालामा चारा हस्तान्तरण गरिएको उनले जानकारी दिए।
पूर्व अध्यक्ष सुरेन्द्र ज्ञवाली, सावित्रा टण्डन, निवर्तमान अध्यक्ष तेजप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्ष नेत्र रुचाल, उपाध्यक्ष अशोक कुँवर तथा महासचिव खिमबहादुर खड्काले संघको विगत २७ वर्षको यात्राको समीक्षा गर्दै आगामी दिनमा व्यवसायीहरूको हकहित, सीप विकास, प्रविधिको प्रयोग तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, उद्योगी–व्यवसायी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नन्दिनी गोशाला व्यवस्थापन समितिले संघबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले गोशालामा आश्रित गाईहरूको संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।
यसै अवसरमा साँझ ६:२७ बजे फर्निचर उद्योग संघ रुपन्देहीको कार्यालयमा दीप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
पदाधिकारी तथा सदस्यहरूले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै संघको २७ वर्षे यात्राको स्मरण गरेका थिए। कार्यक्रममा संस्थाको निरन्तर प्रगति, उद्योगी–व्यवसायीबीचको एकता तथा सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने अठोट व्यक्त गरिएको थियो।




