बुटवल । बुटवलको ज्ञानज्योति पुस्तकालयले २१३औं भानुजयन्तीको अवसरमा माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ।
रुपन्देहीका २० विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा जनज्योति माविले प्रथम स्थान हासिल गरेको छ भने तिनाउ इङ्लिस बोर्डिङ स्कुल द्वितीय, न्यु होराइजन मावि तृतीय तथा दिप वोर्डिङ हाई स्कूलले सान्त्वना हासिल गरेका छन्।
जनज्योति माविका निश्मा गौतम र निमेश गौतम प्रथम, तिनाउ इङ्लिस बोर्डिङ स्कुलका सोनाक्षी क्षेत्री र सक्षम शाक्य द्वितीय ,न्यू होराइजन माविका समिप न्यौपाने र वृन्दा गैरे तृतीय र दीप बोर्डिङ हाइस्कुलकका प्रिन्सा पोखरेल र सुप्रिम पोखरेल सान्त्वना भएका छन्।
ज्ञानज्योति पुस्तकालय बुटवलका अध्यक्ष टुक बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै रुपन्देहीका जिल्ला शिक्षा सम्वन्वय प्रमुख विष्णु प्रसाद पन्थीले पुस्तकालयले भानुजयन्तीको अवसरमा विद्यार्थीहरुलाई भानुभक्तको योगदान संगै आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नु सराहनीय काम भएको वताएका छन्।
आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाल र नेपालीमा राष्ट्र,राष्ट्रियता,भाषा ,कला, भुगोल,संस्कार, संस्कृति, साहित्यको प्रतिनिधित्व र अगुवाई गरेको उल्लेख गरेका थिए।
पुस्तकालयका अध्यक्ष टुक बहादुर क्षेत्रीले भानुभक्तको नेपाली भाषा,कला, संस्कार, संस्कृति प्रति गरेको योगदानको स्मृति पर्याप्त नभएको र यसलाई जिल्लामा केही भएपनी संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले २०७४ सालदेखि निरन्तर रामायाण वाचन कार्यक्रमको आयोजना गरिएको बताए ।
आफुहरुले धेरै विद्यालय सहभागी गराउने योजना रहेको र २० विद्यालयका विद्यार्थी सहभागी भई आदिकविको योगदान र ज्ञान सिक्ने र सिकाउने प्रयास भएको र उत्कृष्ट विद्यार्थी, विद्यालय र सहभागीलाई धन्यवाद दिएका थिए।
पुस्तकालयको विषयमा वोल्दै उनले विभिन्न आरोह अवरोह पार गर्दै विभिन्न समयमा विभिन्न सामाजिक,वौद्धिक व्यक्तित्व हरुको सहयोग र सहभागितावाट पुस्तकालय आफ्नो भवन र कम्प्युटरबाट पुस्तक अध्ययन गर्न सकिने अवस्थामा पुगेको वताएका थिए।
एभरेष्ट इङ्लिस वोर्डिङ स्कुलका सह प्राधानाध्यापक भिमसेन गौतमले पुस्तकालयले आदिकविको जन्म जयन्तीको अवसरमा उनका योगदानको बारेमा जानकारी र विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आफ्नो विद्यालयले सहप्रायोजन गर्न पाएकोमा खुशी लागेको बताए।
निर्णायकहरु साहित्यकार रमेश समर्थक र शंकर पाण्डे , छन्दवादी समाजका संस्थापक अध्यक्ष कविराज पौडेल पुस्तकालयका सदस्य एवं अधिवक्ता ज्ञानु केसी लगायतले वौल्दै कार्यक्रमले विद्यार्थीहरुमा थोरै भएपनि आदिकवि भानुभक्त र नेपाली साहित्यको बारेमा जानकारी दिलाउन सफल भएको धारणा राखेका थिए।
रामायणका जुनसुकै खण्डबाट पनि ७ मिनेट वाचन गर्न पाउने गरी आयोजना गरिएको कार्यक्रमले पठन संस्कृतिको विकास, राष्ट्र र राष्ट्रियताको गरिमा बढाउने विश्वास लिइएको कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले जानकारी दिए।
एभरेष्ट इङ्लिस वोर्डिङ स्कुल र ग्रिन सिटी भेईकल्स बुटवलको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा कलाकारहरु भुवन अधिकारी, पुरुषोत्तम भण्डारी “पुर्खे बा“ तथा विद्यार्थीहरुले समेत प्रतिभा प्रस्तुत गरेका थिए ।




