प्रकाश डोटेल
स्याङ्जा
स्याङ्जाका विभिन्न स्थानीय तहले लोकल काठे गाई र हल गोरु पाल्ने कृषकलाई नगद अनुदान दिएका छन् । अर्जुनचौपारी, फेदीखोला गाउँपालिका र गल्याङ नगरपालिकाले परम्परागत पशुपालनलाई प्रोत्साहनसँगै संरक्षण गर्ने उद्देश्यले कृषकलाई नगद अनुदान दिएका दिएका हुन् ।
जिल्लाका ११ स्थानीय तहमध्ये फेदीखोला गाउँपालिका र गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषक तथा अर्जुनचौपारी गाउँपालिकाले स्थानीय काठे गाई पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप नगद अनुदान उपलब्ध गराएका छन् । बढ्दो यान्त्रिकरणलाई न्यूनीकरण र पर्यावरण प्रवद्र्धनमा टेवा पु¥याउन स्थानीय तहले अनुदानका कार्यक्रम संचालन गरेको जनाएका छन् ।
चार वर्षदेखि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप नगद प्रदान गर्दै आएको फेदीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ११ हल गोरुपालक कृषकलाई १० हजार रुपैयाँका दरले अनुदान दिएको छ । हरेक दुई वर्षको अन्तरमा हल गोरु पाल्ने कृषकलाई नगद दिने नीति लिएको फेदीखोलाले गत आर्थिक वर्षमा ११४ हल गोरुका लागि अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गल्याङ नगरपालिकाले ११ वटै वडाका हल गोरुपालक ११५ जना कृषकलाई पाँच हजार रुपैयाँका दरले ५ लाख ७५ हजार रुपैयाँ नगद अनुदान दिएको छ । प्रविधिको प्रयोग बढेसँगै हल गोरु पाल्ने क्रम घट्दै गएपछि कृषकलाई आकर्षित गर्न प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।
नगरपालिकाभित्र ११५ कृषकले ११६ हल गोरुपालन गरेको आवेदन दिएको आधार र अनुगमनपछि प्रोत्साहन रकम प्रदान गरेको जनाएको छ । चालु आर्थिक वर्ष २०८२-८३ का लागि हल गोरु पाल्दै आएका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले कृषक प्रोत्साहन अनुदान कार्यक्रमअन्र्तगत रकम दिएको हो ।
उता अर्जुनचौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्ने कृषकलाई नगद अनुदान दिएको छ । गाउँपालिकाले गाई पाल्ने कृषकलाई प्रतिगाई मासिक एक हजार रुपैयाँका दरले वार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराएको छ । पछिल्लो समय काठे गाई लोप हुँदै गएको तथा राष्ट्रिय जनावरको संरक्षणसँगै गाईको गोबर, गहँत, सिङ र हड्डीसमेत विभिन्न क्षेत्रमा प्रयोग हुने भएकाले कृषकलाई प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ ।
अर्जुनचौपारीले चालु आर्थिक वर्षमा ८१ वटा काठे गाईपालन गर्ने कृषकलाई ९ लाख ७२ हजार रुपैयाँ नगद अनुदान वितरण गरेको जनाएको छ । यसैगरी जिल्लाकै बिरुवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक हल गोरुपालन गर्ने कृषकलाई १० हजार रुपैयाँ नगद उपलब्ध गराउने नीति अवलम्बन गरेको जनाइएको छ ।




