भैरहवा । आर्थिक मन्दीको प्रभावले रूपन्देहीमा एक वर्षको अवधिमा चार सय २ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०८०-o८१ मा विभिन्न कारण देखाउँदै ३ सय ५४ उद्योग र ४७ व्यवसायिक फर्मले घरेलु तथा साना उद्योग कार्यालयबाट लगतकट्टाले गरेका हुन् ।
कोभिड–१९ को असरसँगै लगत कट्टा गराउनेको संख्या बढ्दै गएको छ । सञ्चालकहरूले आर्थिक मन्दीका कारण घरभाडा, कर्मचारी तलब, बैंक किस्ता समयमा भुक्तानी गर्न नसक्दा , बैंकको व्याज वृद्धि हुनु, आर्थिक तरलतालगायतका कारणले उद्योग तथा वाणिज्य फार्म बन्द गर्नुपरेको बताएका छन् । जिल्लामा व्यवसायी विस्थापित हुने क्रम बढ्दै गएपछि यी फर्मले लगतकट्टा गरेको घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए । उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । धमाधम उद्योगहरू बन्द हँुदा यसको असर सबैतिर परेको छ ।
साना स्वरोजगार हुने उद्योगहरूमा आर्थिक मन्दी बढी परेको छ, ती उद्योगहरू बढी खारेज गर्न कार्यालय आउने गरेको पाएका छौँ । खासगरी साना उद्योगहरू जुन घरपरिवारका सदस्यहरू स्वरोजगार हुने किसिमबाट खोलिएका थिए अधिकांश तिनै उद्योगहरू बन्द हुने गरेको उद्योग अधिकृत भुसालले बताए । ३ लाखदेखि एक करोड लागत भएका यी उद्योग व्यवसाय बन्द हुँदा करिव एक हजार पाँच सय जनाको रोजगारी खोसिएको अनुमान गर्न सकिन्छ ।
अहिले नयाँ उद्योग तथा व्यवसाय फर्मको दर्ता गर्दा स्थानीय पालिकामार्फत् पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरू दर्ता हुने व्यवस्था भएकोले पनि यस कार्यालयमा साना उद्योगको दर्ता घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा २ सय ५२ उद्योग र १५ वटा व्यवसाय गरी २ सय ८५ वटा उद्योग व्यवसाय बन्द भएकोमा गत वर्षको तुलनामा एक सय १७ वटा बढी उद्योग बन्द भएको छन् ।
रोजगारी गुमेको छ भने व्यवसाय बन्द भएपछि बजारका व्यवसायिक सटरहरू पनि खाली भएका छन् । कैयौँ उद्योगी व्यवसायी विस्थापित समेत हुन पुगेका छन् । रूपन्देहीमा ८ सय ३७ उद्योग र १२ सय ८९ वाणिज्य फर्म गरी २१ सय २६ उद्योग व्यवसाय दर्ता छन् । दर्ता भएका ८ सय ३७ उद्योगहरूमा दुई अर्ब ३० करोड ९४ लाख ७४ हजार ६ सय ९८ रुपैयाँ लगानी रहेको छ । त्यसैगरी १२ सय ४४ वाणिज्य फर्ममा २० करोड ७८ लाख ६० हजार लगानी रहेको छ ।
बन्द हुने उद्योगमा उत्पादनमूलक, कृषि तथा वन, सेवामूलकलगायतका बढी छन् भने वाणिज्यतर्फका किराना, फेन्सी, हार्डवेयर, कपडा, कस्मेटिक, इलेक्ट्रिक, मोबाइल कम्प्युटर, मदिरा र विविधका फर्महरू बन्द भएको कार्यालयले जनाएको छ ।
कोरोनाकालपछि असहज स्थिति बन्दै गएपछि उद्योगधन्दा खुल्ने क्रम घटी बन्द हुने बढेको छ । आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र वाणिज्य फर्म नवीकरण नभएर बन्द हुन पुगेको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले राज्यको नीतिगत कारण, झन्झटिलो प्रक्रिया, आर्थिक मन्दी, कामदार नपाउने र चलिरहेको उद्योगको उत्पादनमा कमी आएकोले उद्योगी–व्यवसायीले आफ्नो फर्म बन्द गर्न बाध्य भएको जनाए ।
उत्पादनमुखी गराउनुमा सहुलियत दिनुको साटो राज्य आयतमुखी भएकोले भन्सारलाई नै प्रमुख स्रोतको रूपमा मानेको छ । सरकारले ठूलो कुरा गर्नुपर्ने छैन निजी क्षेत्रले राखेका स साना कुरा मात्रै सम्बोधन गरे यो अवस्था आउने छैन । मौद्रिक नितिलाई उद्योग र व्यवसाय मैत्री बनाउनु पर्ने आवश्यक छ नयाँ बनेको सरकारले केही गर्छ भन्ने आशा रहेको अध्यक्ष श्रेष्ठले बताए ।
कार्यालयमा दर्ता हुन आउने उद्योगहरू अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरूको संख्या भने बढेको छ ।




