२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित २४ बुदे माग गर्दै नेकपा माओवादीको ज्ञापनपत्र

लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित २४ बुदे माग गर्दै नेकपा माओवादीको ज्ञापनपत्र

लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित २४ बुदे माग गर्दै नेकपा माओवादीको ज्ञापनपत्र

लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित २४ बुदे माग गर्दै नेकपा माओवादीको ज्ञापनपत्र

लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित २४ बुदे माग गर्दै नेकपा माओवादीको ज्ञापनपत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  •  बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा सुशासन सहित सेवा प्रवाह लगायतका समस्या तत्काल समाधान गर्न माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
    पार्टीका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएकाले सरकारी अस्पतालबाट सेवा लिन आउने प्रत्येक नागरिकले सहज, छिटो, गुणस्तरीय र सम्मानजनक उपचार पाउनुपर्ने माग गरिएको छ । 
    लुम्बिनी प्रदेशका साथै छिमेकी जिल्लासमेतका हजारौं नागरिकको उपचारको मुख्य केन्द्रका रूपमा रहेको अस्पतालमा सेवाग्राहीबाट निरन्तर गुनासा आउने गरेको, स्थलगत अवलोकनमा पनि सेवा प्रवाहमा कमजोरी देखिएको भन्दै सुधारका लागि २४ बुँदे माग अघि सारेको सेक्रेटरी विकले बताए ।
    ध्यानाकर्षण पत्रमा अस्पतालको ओपिडी सेवा पूर्णरूपमा प्रविधिमैत्री बनाउन माग गरिएको छ । टिकट वितरण प्रणालीलाई व्यवस्थित गर्दै क्यूआरमार्फत शुल्क भुक्तानी, डिजिटल टोकन, अनलाइन पूर्वदर्ता तथा एसएमएसमार्फत पालो जानकारी दिने प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ ।

    यस्तै, इमर्जेन्सी सेवामा बिरामीको चापअनुसार पर्याप्त चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, बेड तथा उपकरण थप गर्न, पित्तथैली, मिर्गौलाको पत्थरी, पाठेघर तथा हाडजोर्नीलगायतका शल्यक्रियाको क्षमता विस्तार गरी बिरामीले महिनौं पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरिएको छ ।
    ध्यानाकर्षण पत्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बालबालिका तथा गम्भीर बिरामीलाई प्राथमिकताका आधारमा झन्झटरहित सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ । त्यसैगरी सहिद तथा बेपत्ता परिवार, अति विपन्न परिवार र ज्येष्ठ नागरिकलाई पूर्ण निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने तथा आईसीयू, सिटी स्क्यान, एमआरआईलगायत सबै अत्यावश्यक सेवामा निःशुल्क सुविधा सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
    माओवादीले मिर्गौला रोगीका लागि डायलाइसिस सेवा अपर्याप्त रहेको उल्लेख गर्दै बेड, विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र उपकरण तत्काल थप गर्न माग गरेको छ। साथै क्यान्सर, मुटुरोग, मस्तिष्कघात, कलेजो तथा दीर्घ श्वासप्रश्वास रोगका बिरामीले अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गरी आवश्यक विशेषज्ञ सेवा यही अस्पतालबाट नियमित उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको छ ।

    ध्यानाकर्षण पत्रमा रेबिजलगायत सरकारले निःशुल्क उपलब्ध गराउने खोपमा हुने अभाव अन्त्य गर्न, एमआरआई, सिटी स्क्यान, भिडियो एक्स–रे, अल्ट्रासाउन्ड तथा प्रयोगशाला सेवाको रिपोर्ट समयमै उपलब्ध गराउन, बिग्रिएका उपकरण तत्काल मर्मत गर्न र ती सेवा २४ सै घण्टा सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका औषधि तथा सेवा चौबीसै घण्टा उपलब्ध गराउनुपर्ने, सामाजिक सेवा इकाइबाट दिइने सहुलियत पहुँच वा प्रभावका आधारमा नभई वास्तविक आर्थिक अवस्थाका आधारमा पारदर्शी रूपमा वितरण गर्नुपर्ने, बिदाको समयमा पनि विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गराउनुपर्ने तथा प्रयोगशाला, फार्मेसी र टिकट काउन्टरमा हुने ढिलाइ र बिचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने माग पनि पत्रमा समेटिएको छ ।
    माओवादीले अस्पतालमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न, आईसीयू, एचडीयू, वार्ड र शल्यक्रियापछिका बेड विस्तार गर्न तथा लुम्बिनी प्रदेश, पहाडी जिल्ला र छिमेकी जिल्लाबाट आउने बिरामीको चापलाई ध्यानमा राखेर आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
    यस्तै, अस्पतालभित्र उपलब्ध हुनुपर्ने औषधि र सामग्री बिरामीले बाहिरबाट खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्न, सर्जिकल सामग्री, औषधि तथा स्वास्थ्य उपकरणको गुणस्तर नियमित परीक्षण गर्न तथा उपकरण बिग्रिएर सेवा अवरुद्ध हुने अवस्थाको अन्त्य गर्न समयमै मर्मत र प्रतिस्थापन गर्नुपर्ने माग गरिएको छ ।
    पत्रमा अस्पतालको खरिद प्रक्रिया, औषधि तथा उपकरण खरिद, स्टोर व्यवस्थापन र सम्पूर्ण प्रशासनिक कार्यमा सुशासन, पारदर्शिता, प्रतिस्पर्धा र कानुनी मापदण्डको पूर्ण पालना सुनिश्चित गर्नुपर्ने तथा अस्पताल परिसरमा सक्रिय दलाल र बिचौलियाको गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ ।
    माओवादीले बिरामी तथा सेवाग्राहीका गुनासो सम्बोधनका लागि प्रभावकारी हेल्प डेस्क र हटलाइन सेवा सञ्चालन गर्न, पोस्टमार्टम सेवा व्यवस्थित बनाउन, कर्मचारी नियुक्ति र जिम्मेवारीमा योग्यता तथा कार्यसम्पादनलाई आधार बनाउन तथा सबै चिकित्सक र कर्मचारीबाट बिरामीप्रति सम्मानजनक र सेवामैत्री व्यवहार सुनिश्चित गर्नुपर्ने माग पनि गरेको छ ।
    अस्पतालको सरसफाइ, संक्रमण नियन्त्रण तथा शौचालय व्यवस्थापन सुधार गर्नुपर्ने, प्रशासनिक तथा आर्थिक व्यवस्थापनलाई सूचना प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउनुपर्ने तथा नियमित सार्वजनिक सुनुवाइ सञ्चालन गर्नुपर्ने माग पनि पत्रमा उल्लेख छ ।
    माओवादीले दीर्घकालीन रूपमा लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गरी एमबीबीएस, नर्सिङ, स्वास्थ्य विज्ञान तथा अन्य प्राविधिक विषयको अध्ययन–अध्यापन सञ्चालन गर्न आवश्यक पूर्वाधार, जनशक्ति, आधुनिक उपकरण र कानुनी प्रक्रिया अघि बढाउन सरकारसँग पहल गर्न अस्पताल प्रशासनलाई आग्रह गरेको छ ।
    ध्यानाकर्षण पत्रको अन्त्यमा पार्टीले अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीको योगदानप्रति सम्मान व्यक्त गर्दै प्रस्तुत मागहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गरी लुम्बिनी प्रादेशिक अस्पताललाई सुशासित, पारदर्शी, सेवाग्राहीमैत्री, गुणस्तरीय र नमुना सरकारी अस्पतालका रूपमा विकास गर्न आग्रह गरेको छ ।
    उक्त ध्यानाकर्षण पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिलाई समेत पठाइएको छ । ज्ञापनपत्र बुझेपछि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विष्णु गौतमले साधन स्रोतले भ्याएसम्म सेवा सुधारमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij