बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ । अन्तर्वाता र प्रस्तुतीकरण सकिएको पनि नियुक्ति प्रक्रिया भने रोकिएको हो ।
गएको असार १३ मा ‘सर्ट लिस्ट’मा परेका उमेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो । १९ दिन बितिसक्दा पनि नियुक्ति रोकिएको हो ।
लुम्बिनी बौद्धसहित आठ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियासँगै भएको थियो । अन्य विश्वविद्यालयको नियुक्ति गत असार १९ गते भइसकेको छ ।
“उमेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण सकिएको तथा नम्बर पोको पारेर लाहछाप लगाएर बुझाइसकेका छौँ । हाम्रो तर्फबाट गर्ने सबै काम गरिसकेका छौँ, थप निर्णय समितिले गर्ला,” शिक्षा तथा खेलकुद मन्त्रालयका एक अधिकारीले भने ।
बौद्ध विश्वविद्यालयको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका थिए । जसमध्ये सातजना सर्ट लिस्टमा परेका छन् ।
शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले असार १३ गते सर्ट लिस्टमा परेका उमेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो ।




