भनिन्छ ‘कुकुर तल परे पनि र माथि परे पनि काईकाई’ अर्थात् लडी जितिमाथि पर्दा पनि र हारी तल पर्दा पनि काई काई गर्ने कुकुरको जन्म जात गुण हो । ठीक यस्तै चरित्र आज अमेरिकी साम्राज्यवादी डाकु लुटेरा नेता राष्ट्रपति ट्रम्पले देखाउँदै आएका छन् । जस्तो उदाहरण रामायणमा रावणले सीतालाई झुक्याई अपहरण गरी श्रीलंका पु¥याएको थियो । त्यसैगरी अमेरिकी साम्राज्यवादी डाकुहरुले भेनेजुएलाका राष्ट्रपति र उनीकी श्रीमतीलाई राति अचानक आक्रमण गरी अपहरण गरी अमेरिका पु¥याई थुनिराखेको छ । त्यो उसको जित भयो अर्थात् उ माथि प¥यो । त्यसअनुसार जितको उन्मात अर्थात् काई काई गर्नु स्वाभाविक नै होला । तर फेरि त्यसैगरी इरानी त्यहाँका सर्वाेच्च नेता आयोतोला अलि खोमेनी उनकी श्रीमती एक छोरा बुहारी र एक १४ महिने नातिनीलगायत अरु केही माथि गरिएको कायरतापूर्ण हमला र हत्या त्यसपछि चलेको युद्ध अनि अहिले हुने भनिएको शान्ति सम्झौतापछि पनि अमेरिकी राष्ट्रपतिको त्यस्तै हाउभाउ बोली र घमण्ड अर्थात् युद्ध जिते जस्तै छ । आखिर ट्रम्पले त्यतिबेला गरेको घोषणा अब २४ घण्टामा इरान अमेरिकी कब्जामा परिसक्यो भनेको, तर त्यो २४ घण्टा होइन २४ दिन त्यो पनि होइन ५–६ महिनासम्म पनि भएन । उल्टै अमेरिका, इजरालले नै हार खाई शान्ति वार्ता अनि सहमतिको नाटक गर्नुपर्ने बाध्यता आइप¥यो ।
अमेरिका र इजरालले इरानमा हमला गरी इरानी सर्वाेच्च, नेता आयोतोला अलि खोमिनीलाई मारिसकेपछि स्वतः त्यहाँ उनको सत्ता ढली आफ्नै कठपुतली सरकार बनिहाल्ने ठानेका थिए । तर त्यो भएन । उल्टै इरानमा त्यतिबेला देखापर्ने गरेको केही आपसी अन्तर विरोध संघर्ष पनि साम्य हुन गयो । अझ जनतामा अमेरिकी– इजरायली साम्राज्यवादी डाँका र लुटेराहरुप्रति तीव्र घृणा र आक्रोश देखा प¥यो । जसको एकता र साहसले त्यहाँको सरकार अघि बढ्यो र लगातार एकपछि अर्काे रुपमा सफल हुँदै ती साम्राज्यवादी डाँकाहरुलाई घुंडा टेक्न बाध्य पारि शान्ति वार्ताको नाटक गर्न अमेरिका उद्धत भएको छ ।
त्यो वृहत् इरानी जनताको एकता र सम्मान त्यहाँका मृतक पूर्व सर्वाेच्च नेता अलि खोमिनीको अन्त्यष्टिमा देखियो । करोडांै जनता उक्त अन्त्यष्टिमा सहभागी बने । अमेरिकी, इजराली, साम्राज्यवादी डाँका र लुटेराहरुको विरुद्धमा नाराबाजी लगाउँदै खोमिनीको अन्त्येष्टिमा सरिक बने । जुन असफलताको छडपटाहट अमेरिकी राष्ट्रपति ट्रम्पमा देखियो र बढबढाउँदै उनले भने त्यो इरानी जनताको रोदन खुसीको हो । जस्तो खाने बेलामा गोहीले आँसु चुहाउँछ । मैले चाहेको भए एक क्षणमा इरान अहिले नै धुलो पिठो खरानी भई सक्ने थियो । तर त्यहाँका नेताहरुको हारगुहार र आत्मसमर्पणका कारण त्यो गरिएन । यदि आगामी सात दिन भित्रमा इरान शान्ति वार्ता र सहमतिमा आएन भने त्यो जे पनि हुन सक्छ भन्दै पुनः धम्की र चुनौती दिएका छन् । होे मर्ने बेलामा कमिलाका पनि प्वाख आउँछ भने जस्तै अब बल्ल अमेरिकी साम्राज्यवादको पनि पखेटा पलाउन थालेका छन् । अब अमेरिकाले फेरि त्यस्तै गर्ने दुष्साहस गरे धुलोपिठो हुने पालो अमेरिका, इजराइलको हो कि इरानको ? गत बितेका ५–६ महिने त्यो युद्धले प्रष्ट पारिसकेको छ । इरानी जनतामा अभूतपूर्व एकता अनि अन्तर्राष्ट्रिय बढ्दो सहयोग र समर्थन साथै खोमिनीको यो अन्त्येष्टि समारोहमा विश्वका १२० राष्ट्रका सरकारी प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिताले पनि त्यसको पुष्टि गरिसकेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार र मानवताको खोल ओढी त्यसको अत्यधिक प्रचारप्रसार गर्ने अमेरिका, तर व्यवहार ठीक त्यसको उल्टो एउटा डाँकु लुटेरा र अपहरणकारीले जस्तै भेनेजुएलाका राष्ट्रपतिमाथिको अपहरण अनि इरानका सर्वाेच्च नेताको त्यो कायरतापूर्वक गरिएको हत्या, हिंसा अझ त्योभन्दा पनि खोमेनीको अन्त्यष्टिमा बोलेका ती ट्रम्पका भनाइले मानवताको धन्जी नै उडाएको छ । खास बेला र समयमा आफ्नो जतिसुकै ठूलो शत्रु र दुष्मन भए पनि उ बिरामी असक्त अनि मृत्यु भएको अवस्थामा सामान्य दुःख व्यक्त गर्ने सान्त्वना र समवेदना दिने मानवीय स्वभाव हो ।
तर अमेरिकी र इजराइली खास गरी अमेरिकी राष्ट्रपति ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन डाँकु–सरदार, लुटेरा र अपहरणकारी जल्लादहरु भने इरानी जनताहरुको त्यो दुःखको घडीमा उल्टै उनीहरुलाई भई घृणा र अपमान गर्ने गरी त्यस्ता शब्दहरु ओकलिरहेका छन् । इरानी जनताको त्यो रोदन र आँसु माथि खेलवाड गर्दै उल्टो खित्का छोडी राक्षसी हाँसो हाँसिरहेका छन् । यस्तो मानवीय संवेदनशीलता नभएका यी नरपिचासहरु वास्तवमा यो युगका राक्षस–दानवहरु नै हुन् । यिनीहरुको जतिसुकै निन्दा र घृणा गरे पनि कमी नै हुन्छ । धिक्कार छ यी कति पनि मानवीय संवेदनशीलता नभएका नरपिचासहरुप्रति ।
साम्राज्यवाद पुँजीवादको अन्तिम मरणासन्न अवस्था हो भनेर सर्वप्रथम क. लेनिनले यसको वास्तविक चरित्र उदाङ्गो पार्नु भएको थियो । त्यसलाई अझ विस्तृत रुपमा क. माओले साम्राज्यवादीहरुको वास्तविक चरित्र चित्रण गर्दै भन्नुभयो–‘यसले गडबढी मच्याउँछ र विफल हुन्छ, यसले फेरि गडबढी मच्याउँछ फेरि पनि असफल हुन्छ र यसले यस प्रकार आफ्नो अन्तिम पतनको घडीमा यसै गरिरहन्छ ।’ ठीक यो अहिले इरान, इजरायली युद्धमा प्रत्यक्ष प्रकट भइरहेको छ । पटकपटक शान्ति वार्ताको नाटक गर्दछ फेरि आफू अनुकूल भए जस्तो देखे तुरुन्छ झुक्याएर हमला गरिहाल्छ । युद्धसम्बन्धी सामान्य अन्तर्राष्ट्रिय मूल्य–मान्यता र नियम समेतलाई लत्याउँदै आफू खुसी जे मन लाग्दो त्यही गर्ने र गर्दै आएको छ । भनिन्छ चरालाई पनि उठाएर गोली हानी मान्र्नुपर्दछ । अर्थात् सिकारीको सिकार गर्ने पेशा हो, तर त्यो गर्दा पनि यसको आफ्नै मूल्य मान्यता र नियम हुन्छ त्यसैको आधारमा भनिएको हो– चरालाई पनि उठाए गोली हान्नु पर्दछ । तर अमेरिकी साम्राज्यवादले एउटा सामान्य चोर, डाँका, हत्यारा, आतंकवादी, लुटेरा र अपहरणकारीहरुले जस्तै एकाएक झुक्याएर दुनियाँमाथि हमला गर्दै आएको छ । उदाहरण हालैको भेनेजुएलाका राष्ट्रपतिको अपहरण अनि इरानमाथिको हमला र खोमेनी उनको परिवारहरुको हत्याका साथसाथै दुनियाँभरि यस्तै आतंक मच्याउँदै आइरहेको छ ।
अमेरिकी साम्र्राज्यवादले जहिले पनि विश्वव्यापी रुपमा नयाँ–नयाँ अखडा अर्थात् स्थान र भूभाग खोजिरहेको हुन्छ । जहाँ बसी आफ्नो विश्व साम्राज्यवादलाई बढवा गराउन सकियोस् । ठीक यो अहिले नेपालको सन्दर्भमा पनि देखिन थालेको छ । एमसीसीमार्फत् एसपीपी अनि त्यसै अनुरुप अमेरिकी सैनिक छाउनी र अखडा जसको उद्देश्य पहिले चीनमाथि हमला र घेराऊ, त्यसपछि भारत अन्ततः इरान, इराक, भेनेजुएला साथसाथै हालको लागि युक्रेन बनाइने सम्भावना नेपालमा एकदमै बढेर गएको छ ।
यसमा राजनीतिक दल र नेताहरुको विश्वास नभएपछि अहिले नेपालमा नयाँ दल र दल नेताहरुको इन्ट्री भइसकेको छ । विगतको जेनजी विद्रोह र त्यसको आडमा अहिले नेपालमा अमेरिकी सक्रियता बढ्दो छ । तिब्बती शरणार्थीहरुको बढ्दो चलखेल, टि.ओ.बी. को प्रचारप्रसार स्वयं अहिले मात्र पहिले पटक तिब्बती भगौडा दलाई लामाको ९१औं जन्म जयन्ती खुलम्मखुला काठमाडौंमा भव्यताका साथ भनाइको समाचार त्यति मात्रै होइन अहिले नेपालको कोशी प्रान्तसहितको भारतीय भूमि समेटेर बनाइने ‘चिकन नेक’ अन्तर्गत पर्ने त्यो विशाल भूभाग साथैै अहिले अति प्रचार प्रसारमा ल्याइएको ‘ग्रेट नेपाल’ यी आदि सबै अमेरिकी साम्राज्यवादी डिजाइनमा उठाउन थालिएको छ । यसरी अन्ततः नेपाल र नेपालीको भविष्य माथि भने जस्तै युक्रेन बन्ने अवस्था एकदमै बढेर गएको छ ।
त्यसैले अन्त्यमा अहिले इरान, युक्रेन र भेनेजुएलाको चिन्ता गरिरहँदा अब नेपालको स्थिति पनि त्यस्तै बन्ने हो कि ? चिन्ता सबैले गरौं । चिन्ता मात्रै होइन यसको विरुद्धमा अहिलेदेखि नै सबै सचेत भई ‘याङ्की गो होम’ अर्थात् अमेरिकी साम्राज्यवाद घर फर्क भन्ने अभियानअन्तर्गत वृहत् संयुक्त साझा मोर्चा बनाई राष्ट्र र राष्ट्रियता अनि स्वाभिमानको लागि एकजुट बनौं । याङ्की गो होम नेपालको सन्दर्भमा मात्र होइन, यो विश्वव्यापी अभियानअन्तर्गत विश्वव्यापी यसको विरुद्धमा संसारका सबै राष्ट्रवादी, देशभक्त जनताहरु एक जुट बनौं ।




