बुटवल । बालबालिकामा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका–११ मजुवास्थित श्री सुर्योदय आधारभूत विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुटवल सुनचाँदी महिला समूहको आयोजनामा तथा युनिक डेण्टल एण्ड सेन्टर प्रालिको सहआयोजनामा सम्पन्न शिविरमा १२० भन्दा बढी विद्यार्थी तथा अभिभावकले निःशुल्क दन्त परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्।
बुटवल सुनचाँदी महिला समूहकी अध्यक्ष किरण विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल सुनचाँदी व्यावसायिक संघका अध्यक्ष गोकुल विश्वकर्माको प्रमुख आतिथ्यता तथा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुनिता खडलुक विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्।

शिविरमा दन्तरोग विशेषज्ञ डा. एन्जिला न्यौपाने र डा. मनोज्ञ विश्वकर्माले विद्यार्थी तथा अभिभावकको मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार, परामर्श र दन्त सरसफाइसम्बन्धी जानकारी दिएका थिए। दन्त सहायक सरिता राना मगर र सुस्मा घर्तीले सेवा प्रवाहमा सहजीकरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बुटवल सुनचाँदी व्यावसायिक संघका अध्यक्ष विश्वकर्माले व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु प्रत्येक संस्थाको दायित्व भएको उल्लेख गर्दै यस्ता स्वास्थ्यसम्बन्धी अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले बालबालिकाको स्वास्थ्यमा गरिएको लगानी नै भविष्यको समृद्ध समाज निर्माणको आधार भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।
विशिष्ट अतिथि तथा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुनिता खातुङले विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमले विद्यार्थीमा स्वास्थ्य सचेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। स्थानीय सरकार, सामाजिक संस्था र निजी क्षेत्रबीचको सहकार्यबाट समुदायमा प्रभावकारी सेवा विस्तार गर्न सकिने उनको भनाइ थियो।
वडा सदस्य युवराज रानाले विद्यालयमा स्वास्थ्य सेवा पुर्याउने अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई प्रत्यक्ष राहत पुग्ने बताए।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णुकुमारी रानाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा उपलब्ध गराउनु उपलब्धिमूलक कार्य भएको बताइन्।
विद्यालयकी प्रधानाध्यापक शोभा ज्ञवालीले विद्यार्थीको सिकाइसँगै स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण विषय भएकाले यस्ता शिविरले बालबालिकामा व्यक्तिगत सरसफाइ र दन्त स्वास्थ्यप्रति सकारात्मक बानीको विकास हुने विश्वास व्यक्त गरिन्।
सहआयोजक युनिक डेण्टल एण्ड सेन्टर प्रालिका प्रबन्ध निर्देशक मेघराज बुढाथोकीले दन्त रोगको समयमै पहिचान र उपचार गर्न सके भविष्यमा हुने जटिल समस्या न्यूनीकरण गर्न सकिने बताए।
सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि विभिन्न विद्यालय तथा समुदायमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने उनले जानकारी दिए।
उपाध्यक्ष सरु खड्काले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव कोपिला रसाइलीले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रमको संयोजन ईश्वरी घिमिरे बिकले गरेकी थिइन्।
बालबालिकाको दन्त स्वास्थ्य संरक्षणसँगै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविर प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्।
नियमित दन्त परीक्षण, सही ब्रस गर्ने तरिका, मुखको सरसफाइ तथा स्वस्थ जीवनशैलीबारे चिकित्सकले दिएको परामर्श विद्यार्थी र अभिभावकका लागि उपयोगी भएको सहभागीहरूको प्रतिक्रिया थियो। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ।
कार्यक्रममा युथ इन्टरप्रेनरसिपकी संयोजक सबिना श्रेष्ठ, तितेपाती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला कुँवर, हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष चित्रकला विश्वकर्मा, युनिक डेण्टल एण्ड सेन्टर प्रालिका प्रबन्ध निर्देशक मेघराज बुढाथोकी, संचार उधमी एमबि विश्वकर्मा लगायत सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।




