गुल्मी
केही वर्ष अघिसम्म गुल्मीको सदरमुकाम तम्घास र आसपासका ग्रामीण वडाहरूमा बर्खा लाग्नासाथ सडकहरू हिलाम्मे पोखरी जस्तै बन्थे । हिउँदमा गाडी गुड्दा कुहिरीमण्डल धुलोले नजिकैको मान्छे चिनिँदैनथ्यो । सामान्य उपचारका लागि पाल्पा वा बुटवल धाउनुपर्ने बाध्यता थियो भने सामुदायिक विद्यालय र क्याम्पसहरू विद्यार्थी अभावले रित्तिँदै थिए ।
तर, पछिल्ला केही वर्षमा रेसुङ्गा नगरपालिकाको भूगोल फेरिएको मात्र छैन, यहाँको भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको अभूतपूर्व रूपान्तरणले नागरिकको दैनिकीलाई निकै सुरक्षित, सहज र आधुनिक बनाउँदै लगेको छ । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने नाराले मूर्तरुप लिंदा रेसुङ्गाको मुहार फेरिएको छ ।
७६ किलोमिटरभन्दा बढी पक्की सडक
रेसुङ्गा नगरपालिकाले सडक पूर्वाधारलाई आफ्नो मुख्य प्राथमिकतामा राख्यो, जसको सुखद परिणाम अहिले नगरवासीले प्रत्यक्ष भोगिरहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म थप साढे ८ किलोमिटर सडक कालोपत्रे र ढलान गर्ने कार्य पूर्णरूपमा सम्पन्न भएको र नगरभित्र हालसम्म झण्डै ७७ किलोमिटरभन्दा बढी सडक पक्की भइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए ।
देउराली–बगालेखोला, जन्तेढुङ्गा–सिस्नेहार र उपल्लो तम्घास सडक खण्डहरू कालोपत्रे भएसँगै यात्रा अवधि छोटिएको र सदरमुकाम नजिकै रहेर पनि सडकको पहुँच नहुँदा सास्ती खेपिरहेका गोपेवासीका लागि ७ करोड लागतमा पनाहाखोलामा पक्की पुल बन्दै गरेकाले अब दुःख भोग्नुपर्ने दिनको अन्त्य हुने नगर प्रमुख पन्थी बताउँछन् ।
निरन्तरको पहलपछि गौडाकोटदेखि देउरालीसम्मको सडकका लागि १ अर्ब ४१ करोड र देउराली–खानीगाउँ–बाख्रेछेडा सडक अस्फाल्ट कालोपत्रे गर्न १० करोडको बहुवर्षीय स्रोत सुनिश्चित भएको छ । यसले रेसुङ्गालाई राष्ट्रिय सडक सञ्जालको लाइफलाइनसँग अत्याधुनिक रूपमा जोड्ने नगर प्रमुख पन्थीले बताए ।
पनाह पुलदेखि सेउवासम्म क्याट आइको जादु
भौतिक रूपान्तरणको कुरा गर्दा बजार क्षेत्रको उज्यालो मात्र होइन, हिजोका डरलाग्दा जङ्गली बाटाहरूको कायापलटलाई भुल्न नमिल्ने मेयर पन्थीको भनाइ छ । ‘सुरुवाती प्रतिबद्धताहरूमध्ये एउटा मुख्य प्रतिबद्धता रातको समयमा यात्रा गर्ने यात्रुलाई अन्धकारमुक्त बनाउने थियो, त्यो अहिले पूरा भएको छ,’ मेयर पन्थीले भने–‘कुनै समय पनाह पुलदेखि सेउवासम्मको जङ्गलको बाटो साँझ परेपछि जङ्गली जनावरको त्रास र घोर अन्धकारका कारण डर त्रासमा हिंड्नुपर्दथ्यो ,यात्रा गर्दा जंगली जनावर कतिबेला आउने हो भन्ने डरले मानिसहरू मुटु हातमा लिएर हिँड्थे, तर अहिले सदरमुकामदेखि सेउवासम्म झिलिमिली सडक बनेको छ ।’
मेयर पन्थीको कार्यकालमा सडकको बिच र छेउहरूमा जडान गरिएका क्याट आई (बिरालाको आँखा जस्तै चम्किने सडक बत्ती) ले गर्दा यो सडकखण्ड तिहारको दीपावली झैँ झलमल्ल बलेको छ । हिजो डरले काम्दै छिचोल्नुपर्ने जङ्गलको बाटोमा आज यात्रुहरू रोकिँदै, रमाउँदै यात्रा गर्न थालेका छन् ।
तिर्खा मेट्दै मझे· खानेपानी आयोजना
रेसुङ्गावासीका लागि खानेपानीको समस्या वर्षौँ पुरानो घाउ जस्तै थियो । तर, झन्डै ३२ करोडको लागतमा सम्पन्न भएको मझेङ्ग लिफ्टिङ्ग खानेपानी आयोजनाले यो तिर्खालाई सधैँका लागि मेट्ने संकल्प पूरा गरेको नगर प्रमुख पन्थीले जनाए । ‘लामो समयको प्रतीक्षा र निर्माण समितिको सक्रियतामा यो गौरवको आयोजना सम्पन्न भई अहिले झन्डै ८ हजार घरधुरीमा स्वच्छ र गुणस्तरीय खानेपानी पुग्न थालेको छ, यसका साथै तम्घास नेटा खानेपानी र कुटी–भुवनपानी वृहत् खानेपानी आयोजनाले कुटी र भुवनपानी क्षेत्रका स्थानीयवासीको जीवनमा ठुलो गुणात्मक परिवर्तन ल्याएको छ ।’–पन्थीले भने ।
उज्यालो र स्मार्ट शहरको नयाँ बिहान
रेसुंगा भौतिक विकास, सडक र पानीमा मात्र सीमित छैन, यसले नगरको सौन्दर्यीकरण र प्रविधिको प्रयोगलाई पनि उत्तिकै समेटेको छ ।
हाई माष्ट र स्मार्ट लाइटले रेसुंगालाई उज्यालो शहर बनाउन थालेको छ । बजार क्षेत्रमा स्मार्ट लाइट र हाई माष्ट लाइटहरू जडान गरिएपछि तम्घासको रात्रिकालीन बजारलाई सुरक्षित र जीवन्त बनाएको छ ।
बजारको सुन्दरता बिगार्ने र जोखिम बढाउने जीर्ण पोल र अव्यवस्थित तारहरूलाई प्रतिस्थापन गरी वडा नं. ५ मा स्टिल पोल र कभर तार राख्ने काम सकिएको छ ।
अत्याधुनिक सभाहल र खेल मैदान
तम्घासको मुटुमा रहेको आकर्षक चिदीचौर खेल मैदान र अत्याधुनिक रेसुङ्गा सभाहल निर्माणको अन्तिम चरणमा पुग्नुले नगरभित्र खेलकुद र प्रशासनिक गतिविधि चलायमान बनाउन ठुलो मद्दत पुग्ने नगर प्रमुख पन्थीले बताए ।
ओछ्यानमै सरकार, अस्पतालमै विशेषज्ञ सेवा
भौतिक पूर्वाधारसँगै रेसुङ्गाले मानवीय संवेदनशीलता र स्वास्थ्य क्षेत्रमा नागरिकले सिधै राहत पाउने गरी ठुलो फड्को मारेको छ ।
सुरुमा ५ वटा मेसिनबाट सुरु गरिएको मिर्गौला डायलाइसिस सेवामा हाल थप ३ वटा मेसिन थपेर ८ वटा मेसिन सञ्चालनमा ल्याइएको छ । यसबाट ३५ जनाभन्दा बढी बिरामीले आफ्नै जिल्लामा निःशुल्क सेवा पाइरहेका छन्, जसले गर्दा बुटवल र काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भई करोडौँ रुपैयाँ जोगिएको नगर प्रमुख पन्थीको भनाइ छ ।
जिल्ला अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, बालरोग र ईन्टरनल मेडिसिनका ६ जना विशेषज्ञ डाक्टरहरूलाई बराबरको तलब प्रोत्साहनस्वरूप नगरपालिकाले उपलब्ध गराई विशेषज्ञ सेवालाई दीगो बनाएको पन्थीले बताए ।
देशमै पहिलो पटक मोतिविन्दुको सम्पूर्ण उपचार निःशुल्क गराएर नगरले राष्ट्रिय सम्मान पाएको छ । दम र श्वासप्रश्वासका २५२ जना बिरामीलाई घरमै निःशुल्क अक्सिजन कन्सन्ट्रेटर र सुत्केरीका लागि ‘आमासँग उपमेयर’ जस्ता कार्यक्रमहरू सफलतापूर्वक सञ्चालनमा छन् ।
स्मार्ट स्कूल र स्नातक तहमा निःशुल्क भर्ना
रेसुङ्गाले सामुदायिक शिक्षा र उच्च शिक्षामा पनि ऐतिहासिक रूपमा नीतिगत सुधार गरेको छ । रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्ना हुन आउने जुनसुकै स्थानका विद्यार्थीको सम्पूर्ण भर्ना शुल्क नगरपालिकाले व्यहोर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
जसले गर्दा क्याम्पसमा विद्यार्थी संख्या ह्वात्तै बढेर ऐतिहासिक क्याम्पसले नयाँ जीवन पाएको छ । रेसुङ्गा र सिद्धबाबा माविलाई स्मार्ट विद्यालयका रूपमा विकास गरी अत्याधुनिक सिकाइ सुरु गरिएको नगर प्रमुख पन्थीले बताए ।
‘यो वर्ष नगरस्तरीय कक्षा ८ को परीक्षामा २५ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् भने एसईईमा ४ जनाले ४ जीपीए ल्याएर रेसुङ्गाले जिल्लाकै साख उँचो पारेको छ ।’–पन्थीले भने ।
विद्यार्थीहरूको मानसिक स्वास्थ्यका लागि स्वस्थ मन स्वस्थ जीवन अभियान र स्थानीय माटो बुझाउन कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरिएको छ ।
साहसिक पर्यटनको ढोका र धार्मिक सम्पदाको पुनर्जीवन
रेसुंगाको गर्जुरा क्षेत्रमा जीपलाइन र स्काई साइक्लिङ सञ्चालन गर्न आवश्यक जग्गाको भोगाधिकार र सट्टाभर्ना संघीय सरकारबाट प्राप्त भइसकेको नगर प्रमुख पन्थीले बताए ।
ऐतिहासिक सिद्धबाबा मन्दिर पुनर्निर्माणका लागि १ करोड बजेट सुनिश्चित भएको र यज्ञशाला तथा सानो रेसुङ्गा क्षेत्रमा परम्परागत ढुङ्गा छाप्ने तथा अतिथि भवन बनाउने कार्यले धार्मिक वैभवलाई अझ चम्काएको नगर प्रमुख पन्थी बताउँछन् ।
विघ्नबाधा चिर्दै समृद्धिको यात्रा
२०८२ भदौमा भएको आन्दोलनका कारण दोभान डाँडापोखरी सडक, गहते खेल मैदान, र रेसुङ्गा खानेपानी आयोजनालगायतका झन्डै करोडौँका योजनाहरूको बजेट रोकिँदा विकासको गतिमा केही धक्का लागेको नगर प्रमुख पन्थीले बताए ।
तर, यस्ता प्राविधिक र राजनीतिक व्यवधानका बाबजुद स्थानीय सरकारले अन्य मन्त्रालयहरूसँगको समन्वयमा थप ५८ करोड बजेट भित्राएर समग्र विकास बजेटलाई १ अर्ब २३ करोड पु¥याएको नगर प्रमुख पन्थीले जनाए ।
रेसुङ्गा नगरपालिकाको भौतिक पुर्वाधार, स्वास्थ्य र शैक्षिक प्रगतिमा फड्को मारेर केन्द्रको सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा आइपुगेको महसुस नगरवासीलाई दिलाउन सफल भएको नगर प्रमुख पन्थीले उल्लेख गरे ।




