भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयहरुले एक वर्षको अवधिमा भन्सार चोरी निकासी गरी भारतबाट नेपाल अवैध रुपमा ल्याउँदै गरेको २२ करोड बढीको सामान बरामद गरेको छ । यस्तै अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादी रहेका ५ सय ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही प्रहरी तस्करहरुमा निर्मम बनेसँगै अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा १० करोड बढिको तस्करीका समान र तस्करीका लागि प्रयोग भएको साधन जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटले लिएका हुन् । अहिले जिल्लाको कमाण्ड एसपी जनकबहादुर शाहीले सम्हालिरहेका छन् भने डीएसपी कृष्णकुमार चन्द र निशान्त श्रीवास्तवको निरन्तर एक्शन र कमाण्डले अभियान नै चलाई सीमाबाट हुने अवैध कारोबारलाई रोक्न कडा रुपमा प्रस्तुत भए जसको फलस्वरुप भन्सार राजश्व दाखिला ह्वात्तै गत वर्षभन्दा झण्डै दोब्बर बढ्यो । मौलाउँदै गरेको तस्करीलाई रोक्न कमाण्डले युनिट इञ्चार्जहरुलाई निर्देशन दिँदै दैनिक अवैध गतिविधी नियन्त्रणमा लागेका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको सूचनाअनुसार आर्थिक वर्ष २०८२–८३ कोे अवधिमा २२ करोड ३९ लाख ५७ हजार २१० रुपैया बराबरको सामानहरु, र चोरी तस्करीमा संल्गन ३९२ वटा मोटरसाइकल, ६ वटा ट्रक, २५ वटा पिकअप, ११ वटा कार, ६ वटा अटो नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पठाइएको छ । आर्थिक वर्ष २०८१–८२ मा भने १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैया बराबरको सामानहरु, र चोरी तस्करीमा संलग्न ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ३ वटा अटो, १ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पठाइएको थियो ।
पछिल्लो एक वर्षमा प्रहरीले तस्करी मात्र नभई तस्करीका लागि प्रयोग हुने साधन र तस्करी गर्ने व्यक्ति प्रति पनि निर्मम रहेको देखिन्छ । यसअघि बेवारिसे अवस्थामा समानहरु बरामद हुने गरेका थिए भने अहिले व्यक्तिसहित अवैध समानहरु बरामद भइरहेका छन् । एक वर्षको अवधिमा अबैध भन्सार छलि÷ तस्करीमा संलग्न २२० जनालाई नियन्त्रणमा लिइएको छ । अघिल्लो आर्थिक वर्षमा तस्करीमा संलग्न ११३ जनालाई नियन्त्रणमा लिईएको थियो । तस्करको मनोबल गिराउन र सीमितले मात्रै फाइदा लिइरहेकोे तस्करीप्रति निर्मम हुँदा यसले राज्यलाई केही फाइदा पुगेको छ ।
रुपन्देही प्रहरीले पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा समेत आक्रमक रुपमा लागेको छ । सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नु पनि सुरक्षा चुनौतीको रुपमा रहेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले बताए । ‘फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरिरहेको छांै, जसका लागि हामीले अभियान नै चलाएर निर्ममताका साथ काम गरिरहेको छौं । हामीले एक वर्षको अवधिमा फैसला कार्यान्वयनको शिलशिलामा विभिन्न मुद्दामा फरार रहेका ५ सय ७४ जना प्रतिवादीहरुलाई पक्राउ गरी ३१९ बर्ष ६ महिना १५ दिन कैद असुलउपर र ३ करोड ३९ लाख ८४ हजार ७७२ रुपैयाँ जरिवाना असुल उपर गराइएको छ । पक्राउ परेका फरार प्रतिवादीहरूमा लागुऔषध, सवारी ज्यान, कुटपिट लुटपाट, सार्वजनिक अपराध, कुटपिट अंगभंग, चोरी मुद्दालगायतका छन् ।’–उनले भने ।
नियमित कामसँगै जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न सुरक्षा योजना बनाई चोरी तस्करी मात्रै होइन विभिन्न घटनाहरुको सफल अनुसन्धान भएका छन् भने केही हँुदै गरेको उनले बताए । भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको कपडा, चिनी, प्याज, कपडा, खाद्यन्न, हार्डवेयर, मोटर पार्टस, उपभोग्य सामान तथा ओसारपसारमा प्रयोग भएका साधन समेत नियन्त्रणमा आइरहेको छ, यस्तै नेपालबाट भारततर्फ हुनै अवैध ओसारपसारमा पनि प्रहरीको सक्रियता रहेतापनि पूर्णरुपले रोक्न भने चुनौती देखिएको छ । पछिल्लो समय अन्य देशबाट नेपालमा आएका ओखर, ड्राइफुट्समा प्रयोग हुने विया, पपकर्न मकै भारि मात्रामा भारततर्फ तस्करी भइरहेका छन् । खुला सीमा नाकाको फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाइ गर्न कुनै कसर बाँकी नराखेको एसपीको भनाइ छ ।
यस्तै रुपन्देहीका विभिन्न स्थानहरुबाट अवैध गिट्टिबालुवा, माटो उत्खनन् कार्यमा संलग्न ट्याक्टर ६० वटा, जेसिभी ३० वटा, टिप्पर र हाईवा २३ वटा नियन्त्रणमा लिई आवश्यक कारबाहीको सम्बन्धित स्थानीय निकायमा पठाइएको छ भने यसबाट पनि ४२ लाख ९२ हजार ७८ बराबरको जरिवाना असुल गरिएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय महिला सेलले घरेलु हिंसाका घटनालाई प्राथकिमताका साथ सम्बोधन गरेको छ । आर्थिक वर्ष २०८०। ०८१ मा ५ सय ६९ वटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका थिए । जसमध्ये ३ सय ९८ वटा उजुरी मेलमिलापबाट समाधान गरिएको तथ्याङ्गक छ भने आर्थिक वर्ष २०८१-८२ मा ६४८ वटा उजुरी बालबालिका तथा जेष्ठ नागरिकसम्बनधी आएकोमा ६११ वटा मिलापत्र भएको, ४ सय ७१ वटा घरेलु हिंसाको उजुरीमध्ये ४२८ वटा मिलापत्र भएको छ । यस्तै वर्ष २०८२–८३ मा ८२४ वटा उजुरी बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी आएकोमा ८०१ वटा मिलापत्र भएको, ५ सय ५४ वटा घरेलु हिंसाको उजुरी मध्ये ५४६ वटा मिलापत्र भएको छ ।
कार्यालयका अनुसार एक वर्षको अवधिमा जिल्ला भर १ हजार ९ सय २९ वटा मुद्धा दर्ता भएकोमा बैंकिङ कसुरमा मात्रै ५२७ वटा रहेको छ भने जघज्य अपराधका ६ सय ७७ र महिला बालबलिका सम्बन्धि ११२ वटा मुद्दा दर्ता भएका छन् । घरेलु हिंसातर्फ ८ सय २४ छन् । कार्यालयका अनुसार जिल्ला भर एक वर्षको अवधिमा १९८ जनाले झुण्डी आत्महत्या, २८ जनाले विष सेवन, २ जनाले आगो लगाएर गरी २२८ जनाले आत्महत्या गरेका छन् ।
एक वर्षको अवधिमा रुपन्देही प्रहरीले १४० वटा लागु औषधको मुद्दा दर्ता गरी २ सय ४७ जनालाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट कुल ६० केजी ४९८ ग्राम गाजा, २४४ ग्राम ब्राउन सुगर, क्याप्सुल, ट्याबलेट, एम्पुल, कोरेक्सलगायतका पदार्थ बरामद भएको छ ।
उजुरीतर्फ ५ हजार ७ सय ७ उजुरी कार्यालयमा परेकोमा ५३ वटा मात्रै बाँकी रही सबै उजुरी फछ्र्यौट भएका छन् । यस्तै जिल्ला प्रशासनबाट ४९० वटा दर्ता भएकोमा ४७३ वटा फछ्र्यौट भएको र १७ वटा कारवाहीका लागि प्रहरी इकाईमा पठाइएको छ ।




