बुटवल । अविरल वर्षापछि आएको डुबानबाट प्रभावित काठमाडौंको गोंगबु क्षेत्रका नागरिकलाई कपडा बैंकले ३० सेट सिरक डसना सहयोग गरेको छ । टोखा नगरपालिका वडा नं ९ को माग अनुसार सिरक डसना वितरण गरिएको हो । टोखा ९ वडा अध्यक्ष रामभक्त घिमिरेका रोहबरमा डुबान प्रभावितलाई सिरक डसना वितरण गरिएको कपडा बैंकका सञ्चालक कमल जिसीले जानकारी दिए ।
वडाध्यक्ष घिमिरेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल निशुल्क सिरक डसना उपलब्ध गराई राहत पुर्याएकोमा कपडा बैंकको सराहना गरे । वितरण गरिएका सिरक डसना कपडा बैंकले संकलन गरेका प्रयोगयोग्य कपडालाई प्रशोधन (रिसाइकल) गरी तयार पारेको कपडा बैंकका सञ्चालक जिसीले बताए ।
कपडा बैंकले यसअघि जेन जी आन्दोलनका क्रममा विस्थापित भएका दर्जनौं प्रहरी कार्यालयहरुलाई २ हजार २ सय ६० सेट सिरक, डसना, सिरानी र ब्ल्याङकेट वितरण गरिएको जिसीले बताए । कपडा बैंकले प्रयोगविहीन नयां र केही समय मात्र प्रयोग भएर थन्काइएको कपडालाई क्लोथ बैंकमार्फत संकलन गरी प्रशोधन गरेर नयां बनाई निशुल्क वितरण गर्दै आएको छ ।
सञ्चालक जिसीका अनुसार क्लोथ बैंक स्थापना भएको साढे दुई वर्षमै १ लाख ६२ हजार ६ सय ४२ जनाले निःशुल्क कपडा प्राप्त गरिसकेका छन् । वितरण गरिएका कपडा तथा सामग्रीको अनुमानित मूल्य करिब ६० करोड रुपैयाँ बराबर पुगेको छ । डुबान, बाढी, पहिरो , आगलागी वा अन्य प्राकृतिक विपद्का बेला संस्थाले तत्काल कपडा, सिरक, डसना, सिरानी, ब्ल्याङकेट लगायतका सामग्री ठूलो परिमाणमा उपलब्ध गराउने क्षमता विकास गरिसकेको छ ।
संस्थाले एकै दिनमा १० हजार जोर कपडा उपलब्ध गराउन सक्ने क्षमता बनाएको जिसीले बताए । क्लोथ एन्ड फुड बैंक देशका करिब ३० जिल्लाका ६४ स्थानीय तह तथा विभिन्न सामाजिक संस्थाको सहकार्यमा १०५ भन्दा बढी कपडा बैंक (ड्रप बक्स) सञ्चालनमा छन् । काठमाडौं उपत्यकामा मात्रै ३८ वटा सेवा केन्द्र सञ्चालन भइरहेका छन् ।




