बुटवल । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बालकलाई बचाउने क्रममा अटो रिक्सा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
मंगलबार बिहान पौन ९ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका एक बालकलाई जोगाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक सुस्ता गाउँपालिका–१ निवासी ४५ वर्षीय प्रेमबहादुर जर्घा, बर्दघाट नगरपालिका–१६ निवासी ७० वर्षीय मानबहादुर सिंजाली, १६ वर्षीया दृष्टि सारु मगर, ३८ वर्षीया ललिसरा सारु मगर, ४० वर्षीया अनिता गाहा मगर तथा १६ वर्षीया निरमा गाहा मगर घाइते भएका छन् ।
घाइतेमध्ये चालक जर्घा र मानबहादुर सिंजालीको अवस्था सामान्य रहेको छ । दृष्टि, ललिसरा, अनिता र निरमाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रेमबहादुर, दृष्टि, ललिसरा र अनिता गाहा मगरको लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचार भइरहेको छ । मानबहादुर सिंजाली र निरमा गाहा मगरको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)ले जनाएको छ ।




