परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियास्थित मन्झरिया स्वास्थ्य चौकीमा आवश्यक औषधि अभाव र कर्मचारीको न्यून उपस्थिती भेटिएको भन्दै भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था नवलपरासी (सिटिजन जुरी) ले गम्भीर चासो व्यक्त गरेको छ।
स्थानीयबाट स्वास्थ्य चौकीमा कर्मचारी नियमित नबस्ने र आवश्यक औषधि नपाइने गुनासो आएपछि संस्थाले स्वास्थ्य चौकीमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा स्वास्थ्य चौकीमा ६ जनाको दरबन्दी रहे पनि दुई जना कर्मचारी मात्र उपस्थित रहेको संस्थाका अध्यक्ष रामजी ज्ञवालीले जानकारी दिए। उनका अनुसार सरकारले तोकेका अत्यावश्यक औषधिमध्ये धेरै औषधि पर्याप्त मात्रामा उपलब्ध नभेटिएको छ।
वर्षायाममा पानीजन्य तथा संक्रामक रोगको जोखिम बढ्ने भएकाले यस्तो अवस्थामा स्वास्थ्य संस्था अझ बढी तयारी अवस्थामा हुनुपर्ने भए पनि औषधिको अभाव चिन्ताजनक रहेको ज्ञवालीले बताए। उनले आवश्यक औषधि तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई खबरदारी गरिएको पनि जानकारी दिए।
यद्यपि, अनुगमनका क्रममा स्वास्थ्य चौकीको सरसफाइ सन्तोषजनक रहेको, सेवाग्राहीका लागि बस्ने व्यवस्था मिलाइएको तथा आधारभूत सेवा प्रवाह भइरहेको नागरिक समाजका अध्यक्ष बेचु गौडले बताए।
अनुगमन टोलीमा नागरिक समाजका अध्यक्ष बेचु गौड, पूर्व अध्यक्ष शम्भु उपाध्याय, पत्रकार तथा सिटिजन जुरीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
स्थानीयको प्रश्न भने उस्तै छ— वर्षायाममा बिरामी बढिरहेका बेला स्वास्थ्य चौकीमै औषधि नहुँदा सर्वसाधारणले उपचार कहाँबाट पाउने?




