दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल) बाट प्रहरीले ११ नाल भरुवा बन्दुक बरामद गरेको छ।
बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले खोजतलास गरेको थियो।
खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएका) गरी कुल ११ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका बन्दुकहरू प्रहरीले नियन्त्रणमा लिएको छ भने ती कसले र किन लुकाएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




