सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष अभियानले बज एल्ड्रिन र नील आर्म्स्ट्रङलाई चन्द्रमामा पुर्यायो। त्यसपछि सन् १९७२ को डिसेम्बरसम्म अपोलो मिशनअन्तर्गत अरू १० अमेरिकी अन्तरिक्षयात्रीले पनि चन्द्रमामा टेक्ने मौका पाए। त्यसपछि भने संयुक्त राज्य अमेरिकाले चन्द्रमामा मानवसहितको अभियान बन्द गर्यो।
झन्डै ५० वर्षपछि फेरि अहिले चन्द्रमामा मानिस पठाउने चर्चा चलेको छ।
अमेरिकाले पुनः चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ। उक्त योजनाअन्तर्गत भिन्न वर्णका एक जना र एक महिलाले पनि चन्द्रमा जान पाउने छन्। भारत र चीनले पनि चन्द्रमामा मानवयुक्त अभियान पठाउने योजना बनाएका छन्।
अहिले किन यस्तो हुँदै छरु अनि सन् १९६० को दशकमा गरिएको अन्तरिक्ष अन्वेषणभन्दा यो कति भिन्न हुन सक्छ ?
तात्कालिक सोभियत सङ्घले सन् १९६१ मा यूरी गगारिनलाई अन्तरिक्षमा पठाएपछि राजनीतिक सन्देश दिन अमेरिकाले चन्द्रमामा मानवयुक्त यान पठाएको थियो।
तस्बिरको क्याप्शन,सन् १९६९ मा चन्द्रमामा पुगेको मानवयुक्त अन्तरिक्ष अभियान राजनीतिक कारणले उत्प्रेरित थियो
चन्द्रमामा पुग्नु मानवजातिको ठूलो उपलब्धि थियो। त्यो एउटा शक्तिशाली राजनीतिक सन्देश पनि थियो। उक्त घटनाले पूरा विश्वको ध्यानाकर्षित गरेको थियो।
अब फेरि चन्द्रमामा कसले पाइला टेक्न सक्छ भन्ने कुरा भूराजनीति र चन्द्रमामा उपलब्ध प्राकृतिक स्रोत दोहन गर्ने लालसाले निर्धारण गर्छन्। चन्द्रमामा अन्वेषण गर्ने योजनामा संलग्न विभिन्न देश र निजी कम्पनीहरूका भिन्नाभिन्नै उद्देश्य छन्।
रुस, चीन, भारत, जापान र ईयूले सफलतापूर्वक मानवरहित अन्तरिक्षयान - प्रोब अथवा रोभर - चन्द्रमामा अवतरण गराएका छन्। तर तिनले मानिसलाई त्यहाँ पुर्याउन सकेका छैनन्।
अहिले चन्द्रमामा मानिस पुर्याउने प्रतिस्पर्धामा अमेरिका र चीन देखिएका छन्।
"भूराजनीतिले त्यसलाई डोर्याएको छ। संयुक्त राज्य अमेरिका र चीनको नेतृत्वमा छुट्टाछुट्टै गठबन्धनहरू बनेका छन्। तिनले चन्द्रमामा मानवयुक्त अभियान घोषणा गरेका छन्, तिनले अन्तर्राष्ट्रिय साझेदारसँग सम्झौता गरेका छन् र ती दुवै पक्ष आगामी पाँचदेखि १० वर्षभित्र चन्द्रमामा पुग्ने प्रयासमा छन्," आर्स टेक्निका नामक म्यागजीनमा अन्तरिक्ष विषयका वरिष्ठ सम्पादक एरिक बर्गेर भन्छन्।
पहिलो पटक चन्द्रमा पठाइएको अभियानको उद्देश्य अनुसन्धान गर्नु थिएन, केवल त्यहाँ पुग्नु थियो।
अहिले चन्द्रमामा पुग्ने कुरामा मात्र नभई त्यहाँ मानवजातिलाई बस्न अनुकूल हुने प्रविधिको विकास गर्ने र त्यसबाट यथाशक्य लाभ लिने विषयमा पनि चासो देखा परेको छ।
तस्बिरको क्याप्शन,भारतले पठाएको यानले चन्द्रमामा गन्धक (सल्फर) र एल्युमिनिअम भएको पुष्टि गरेको छ
"मानिसहरू पृथ्वीका जीव हुन्।... कसैकसैले यहाँबाट फैलिएर मङ्गल ग्रहमा बस्ती बसाउने, चन्द्रमामा बस्ती बसाउने, बाह्य अन्तरिक्षमा कृत्रिम रूपमा निर्मित स्थानमा बस्ती बसाउने अवसर खोजिरहेका छन्," यूकेस्थित नोर्थ्अम्ब्रिआ यूनिभर्सिटीमा 'अन्तरिक्ष कानुन र नीति' विषयका प्राध्यापक क्रिस्टोफर न्यूमन भन्छन्। BBC




