बुटवल । जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यसहित लायन्स क्लब अफ बुटवल युथले बुटवलस्थित मानवसेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ। क्लबले आफ्नो ग्लोबल कज ‘हंगर रिलिफ’ अभियानअन्तर्गत आश्रममा आश्रित ७० जनाका लागि विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गर्दै मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोराएको हो।
क्लबका अध्यक्ष लायन दिपक थापाको जन्मदिनको अवसर पारेर आयोजित कार्यक्रममा चामल, दाल, तेल, नुन, चिनी तथा दैनिक उपभोगका अन्य आवश्यक खाद्यान्न सामग्री आश्रमलाई प्रदान गरिएको थियो। क्लबका अनुसार व्यक्तिगत खुसीलाई समाजका असहाय र अभावमा रहेका नागरिकसँग बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका पूर्व डिस्ट्रिक्ट गभर्नर (पी.डी.जी.) तथा एम.जे.एफ. लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स अभियानको मूल भावना नै मानव सेवा रहेको उल्लेख गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूले राज्यका प्रयासलाई पूरक भूमिका निर्वाह गर्दै विपन्न तथा असहाय नागरिकको जीवनमा आशाको किरण जगाउने काम गरिरहेको धारणा व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि एम.जे.एफ. लायन प्रकाशकुमार श्रेष्ठले लायन्स क्लबहरूले केवल औपचारिक कार्यक्रमभन्दा पनि समुदायको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने सेवामूलक अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रमले संस्थाप्रति समाजको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा एरिया–४ का एरिया चिफ लायन दिपक गौतमले लायन्सको सेवायात्रा निरन्तर अघि बढिरहेको उल्लेख गर्दै समुदायको आवश्यकता अनुसार आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई विस्तार गरिने जानकारी दिनुभयो।
क्लबका अध्यक्ष लायन दिपक थापाले जन्मदिनलाई खर्चिलो भोजभतेरभन्दा समाजसेवाको अवसरका रूपमा मनाउन आफूले चाहेको बताउँदै मानवसेवा नै सबैभन्दा ठूलो धर्म र सेवा भएको उल्लेख गर्नुभयो। उहाँले मानवसेवा आश्रमसहित आवश्यकता भएका समुदायलाई आगामी दिनमा पनि क्लबको तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
खाद्यान्न सहयोग ग्रहण गर्दै मानवसेवा आश्रमका अभिभावक शेरबहादुर गौतमले लायन्स क्लब अफ बुटवल युथप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले आश्रममा आश्रित नागरिकहरूको दैनिक जीवन व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै सामाजिक संघ–संस्थाको सहकार्यले आश्रम सञ्चालनमा ठूलो ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा आश्रमका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सेवा, सहयोग र मानवीय संवेदनालाई समाजमा थप विस्तार गर्न सबैको साझा दायित्व रहेको धारणा व्यक्त गरेका थिए।
लायन्स क्लब अफ बुटवल युथले विगतदेखि नै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् राहत, भोकमरी न्यूनीकरण तथा अन्य सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबले आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी प्रभावकारी सामाजिक अभियानलाई निरन्तरता दिने जनाएको छ।




