दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ रतनपुर चोकबाट प्रहरीले मनोद्विपक पदार्थका २३ थान इन्जेक्सनसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन ६ गते साँझ करिब ६ बजे प्रहरी बिट रतनपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा स्कुटी जाँच गर्ने क्रममा रुकुम पश्चिम रावतगाउँ स्थायी घर भई हाल घोराही–१६ बस्दै आएका २२ वर्षीय महेश वलीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार वलीले चलाएको लु.प्र.०२–००२ प ०३७८ नम्बरको स्कुटीबाट डाइजेपाम (Diazepam) का ८ थान, बुप्रेनोर्फिन (Buprenorphine) का ७ थान र प्रोमेथाजिन हाइड्रोक्लोराइड (Promethazine Hydrochloride) का ८ थान इन्जेक्सन बरामद गरिएको छ। यीमध्ये ३/३ वटा इन्जेक्सन मिलाएर डोज तयार गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यसका साथै प्रहरीले एक थान मोबाइल फोन र प्रयोग गरिएको स्कुटीसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




