तुल्सीराम पाण्डे
सिधा सादा मानिसले खुरुखुरु आफ्नो काम गरिरहँदा कुनै बेला समय र परिस्थितिले टाठा–बाठा मानिसलाई भन्दा बढी फाइदा गराउँछ । कुनै बेला टाठा मानिसले नै सोझा मानिसलाई बलिको बोका बनाएर आफूले फाइदा लिन खोज्दा सोझालाई नै फाइदा पुगेको हुन्छ । जुनसुकै समाजमा पनि टाठा मानिसहरुले समयअनुसार कारोबार गरेर छिट्टै प्रगति गर्दछन् । सिधासादा मानिसहरु सधैँ पछि पर्दछन् । समय सधँै एकै नाशको हुँदैन । समय र परिस्थितीले टाठा मानिसलाई घाटा र सोझालाई फाइदा पु¥याएको हुन्छ । त्यस्तो परिणाम देखिएपछि मानिसहरुले “सोझाको दिन आउँछ”। लाटो खान्छ एक बल्ड्याङ् बाठो खान्छ तिन बल्ड्याङ् । लाटाको खुट्टा बाटामा । कौवा बाठो भएर गुह खान्छ, पाडो लाटो भएर दूध खान्छ भन्दछन् । यस्ता कुराहरु नेपाली समाजमा “उखान” को रुपमा पहिल्यैदेखि चल्दै आएका छन् । यस्ता उखानलाई चरितार्थ गर्ने व्यवहारहरु नेपाली समाजमा र आफ्नै वरपर प्रशस्तै भेटिन्छन् ।
२०३५ सालमा जग्गा नापी हुँदा मिर्मीका टाठा मानिसहरुले अवल खेतको तिरो धेरै लाग्ने बुझेर सबै खेतलाई दोयम र सिम बताएछन् । नापी गर्ने कर्मचारीहरुले एक दुई ठाउँमा अवल पनि देखाउनुपर्छ भनेछन् । त्यसपछि सोझा मानिसहरुको छेउछाउमा भएको खेतलाई अवल बताएर लालपुर्जा लिएछन् । २०५० सालमा कालीगण्डकी ए बिजुली परियोजना बन्दा लालपुर्जा हेरेर मुआब्जा दिएछ । सोझा मानिसको ढुङ्गे खेतको धेरै र टाठा मानिसको गैरी खेतको थोरै पैसा आएछ । बाटाको नजिकै घडेरी बेच्दा समेत ढुङ्गे जग्गा ग्राहकको रोजाइमा परेछ । आँधी मुहानसम्मका सोझा मानिसका खेत मात्र अवल देखिएछन् । सोझा मानिसले धेरै पैसा बुझेको देख्दा आफैँले अवल दोयम बताउने टाठा मानिसहरु रनाहामा परेछन् । केही मानिसले हाम्रो खेत कसैले लैजाँदैन फोकटमा सरकारलाई तिरो किन तिर्ने भनेर नापी नै गरेनछन् । मुआब्जाको पैसा पाएनछन् ।
२०४५÷०५० सालसम्म पहाडमा खेत नहुने मानिसलाई छोरी दिँदैनथे । खेत धेरै हुनेहरु साहु हुन्थे । अन्न बेचेर लहना लाउने र फेरि जग्गा किन्ने गर्दथे । २०३५ सालको बहुदलको आन्दोलनपछि मधेस झर्ने चलन अलि बढेछ । त्यसपछि पाहाडका केही साहुहरु ४÷५ जना मिलेर प्रत्येक वर्ष मधेश घुम्न झर्ने, आफन्तलाई भेट्ने जग्गाको भाउ बुझ्ने, होटलमा बसेर घ्यू र भात खाने र फर्कने गर्दा रहेछन् । पाहाड फर्केपछि त्यहाँका मानिसहरुलाई मधेशमा सुख पाइन्छ, खेत सस्तो पाइन्छ, भातै भात खान पाइन्छ, मैले फलानो ठाउँमा खेत किनेर आएँ, आइस्याल मधेश जाने हो भनेर अरुलाई सुनाउँदा रहेछन् । त्यसो गर्दा त्यहाँ थोरै जग्गा हुनेहरु मधेश झर्न खोज्ने र त्यही दाउ पारेर त्यहाँको जग्गा सस्तोमा आफूले खाँदा रहेछन् ।
तराईमा सुविधा बढ्दै र जग्गा महँगिदै गएपछि पहाडका जग्गा बिक्न छाडे । साहुहरुको जग्गा नबिकेको हुनाले मधेश झर्न पाएनन् । गाउँको अन्न समेत बिकेन । ५० सालपछि पहाडका खेतको सस्तो दाम गरेर केही साहुले बेचेर तराई झरे । त्यसबेला आफूले पठाएका मानिसको जग्गा धेरै र आफ्नो जग्गा थोरै भयो । केही साहुहरु हातमा पैसा पनि नहुने र जग्गा पनि नबिक्ने हुनाले रनाहामा परेर बसे ।
२०४२ सालमा गुल्मीमा एकजना पञ्चले एउटा सामान्य मानिसलाई धेरै नै अन्याय गरेछन् । गाउँलेहरु जम्मा भएको ठाउँमा कुनै प्रसंगमा त्यही कुरा निस्केछ । पञ्चले नै त्यसलाई त मैले आड अधार गरेको छु भनेको सुनेपछि अन्याय मा पर्नेलाई साह्रै रिस उठेछ । उनले एक्कासी चिच्याएर तैले के अधार गरेको छस्, तँ फटाहा होस्, सबैको छोरी बेचाहोस्, सबैको लुटेर खान्छस्, सबैसँग घुस खान्छस्, तँ गरिबमारा होस्, तैले गरिबलाई कहिलै उक्सन दिइनस् भनेर बेसरी गाली गरेछन् । दुबै जनाको भनाभन भएछ । उनले अझै गए यै ज्यान जाने हो जहाँ जानुपरे जाम्ला अन्याय सहनुभन्दा लडेर बाँचम्ला भनेछन् । त्यो कुरा वल्ला पल्ला गाउँमा समेत फैलिएछ । त्यस घटना पछि गाउँलेहरुले कि फलाना प्रधानको पालो गयो, कि फलानाको छोरो यती वर्षलाई जेल गयो भन्ने अनुमान गरेछन् । त्यसबेला पञ्चको विरोध गर्नेलाई जागिरे भए जागिर खोस्ने र अरुलाई अराष्ट्रिय तत्व भनेर थुनाउने चलन थियो । त्यहाँ त्यस्तो केही भएनछ । बाघको मुखमा हात हालेको भनेर गाउँलेबाट स्यावासी पाएछन् । अर्को वर्षको पञ्चायतको चुनावमा उनले चुनाव हारेछन् र नयाँ मानिसले चुनाव जितेछन् । फलानाले झगडा नगरेको भए अहिले पनि त्यही प्रधान हुन्थ्यो भन्ने कुरा गाउँलेले गरेछन् ।
२०२४-२५ सालमा महेन्द्र राजमार्ग बनेपछि बाटाको नजिकै खेत र घर भएका मानिसहरु सुरक्षित ठाउँ खोज्दै उत्तर र दक्षिण सर्न थालेछन् । टाठा मानिसहरुले सोझा मानिसलाई रक्सी खुवाउने र राजमार्ग मोहोडाको आफ्नो जग्गा दिएर बस्तीको जग्गा साटेछन् । धेरै जसोले समसाटे गरेछन् । टाठा मानिस परेमा कसैले डेढी र कसैले दुई गुनासम्म बाटाको जग्गा दिएछन् । सोझा मानिसको खेत जति राजमार्गको नजिकै परेछ । २०५० सालपछि घडेरी बेच्ने चलन आयो । फेरि आफ्नो धेरै खेत दिएर १ कठ्ठा घडेरी किने । ५०÷५२ सालपछि प्लटिङको चलन आयो । राजमार्ग मोहोडाका खेतहरु सबै प्लटिङ्ग गर्नेहरुले महँगोमा किने । आफैँले दिएको जग्गा धेरै महँगोमा बिकेपछि टाठा मानिसहरु रनाहामा परे । २०५० सालपछि मात्र राजमार्गको जग्गाको भाउ बढ्यो ।
२०५५ सालमा गुल्मीमा बडिगाड खोलाको किनारको जग्गा आफूलाई पैसा चाहिएको हुनाले छिमेकीलाई मेरो खयर भएको खरबारी खाउ भनेछन् । मूल्य पनि अरुबेला भए ५० हजार पर्दथ्यो मलाई खाँचो परेको छ ४० हजारमा दिन्छु भनेछन् । त्यसमा पनि कुरा नमिलेर त्यसमा पनि कुरा नमिलेर जग्गा बिकेनछ । २०६० सालमा त्यही जग्गाबाट ५ लाखको खयर बेचेछन् । जग्गा आफैँसँग रहेछ । अरु साना खयरहरु हुर्कदै गरेछन् ।
पञ्चायतको समयमा तीनजना केटाहरु मिलेर एउटी हेपिएको समुदायकी केटीको इज्जत लुटेछन् । केटीलाई गर्भ रहेछ । केटीको बाउले आफ्ना दाजुभाइसँग सल्लाह गरेपछि हामीले यिनीहरुसँग लड्न सक्दैनौ अलि अलि खर्च मागौं, जे हुनु भयो पछि अन्तै विहे गरिदिउँला भनेछन् । त्यसपछि तीनैजनासँग १÷१ मुरी मकै माग्ने निधो गरेछन् । केटीको बाउले त्यही कुरा राख्दा २ जना साधारण मानिसका बाउले १÷१ मुरी मकै तत्कालै दिएछन् । १ जना साहु र पञ्च समेत भएको हुनाले आफूलाई कसैले केही गर्न सक्दैन भनेर उल्टै गाली गरेछन् । बहुदल आएपछि सबै क्षेत्रमा अधिकारको कुरा चल्दा उनको पनि खोजी भएछ । केटा भागेको भाग्यै भएछ । अधिकारीहरुले भाग्ने मानिसकै नामबाट नागरिकता बनाएर अंश दिलाइ दिएछन् ।
एकजना साहुले आफ्नी मन नपरेकी स्वास्नीलाई पन्छाउन सधैँ गाली गर्ने र कुटपिट गर्दा रहेछन् । कुटपिटकै कारणले एकजना सोझो र गरिब मानिससँग पोइला गइछन् । जारी बुझ्ने बेलामा दुवैलाई भेट गराउने र मेलमिलाप गराउने चलन रहेछ । त्यसै बेलामा पहिलेको लोग्नेले यस्तो नाँगा र अत्खलासित तेरो जिन्दगी जान्छ रु के देखेर यस्तासित आइस र भनेर सोधेछन् । जवाफमा श्रीमतीले तेरो धन सम्पती मलाई कहिल्यै काम लागेन, तैले पनि कहिल्यै माया गरिनस् । मैले सोझो देखेर नै आएकी हुँ, यसले मलाई माया गर्छ, मैले भनेको मान्छ खुरुखुरु काम गर्छ । मैले कारवार गर्छु र घरको व्यवस्था मिलाउँछु । हाम्रो जिन्दगी खुसीले र सुखले जान्छ भनेर जवाफ फर्काइछन् ।




