२७ वर्षे यात्रा संस्मरण
हरि शर्मा
पत्रकारिता गर्ने सबै पत्रकारहरु पत्रकारिताका इतिहास बन्न सक्दैनन् । धेरैले समाचार त लेख्छन् तर केही मात्र मरेर गएपछि पनि समाजका लागि इतिहास बन्छन् । त्यस्तो इतिहास बन्नुभएको छ पत्रकार स्वर्गीय केशव पराजुली । उहाँले जीवनभर कलम चलाउनुभयो, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको संस्था बनाउनुभयो, धेरै पत्रकारलाई यो पेशामा आवद्ध बनाएर नवलपरासीको विकासमा पत्रकारितमार्फत इट्टा थप्ने काम गर्नुभयो र अन्तिम समससम्म पनि पत्रकारिताकै चिन्ता गर्दै यो संसारबाट बिदा लिनुभयो । आज उहाँ हामीबीच हुनुहुन्न । यसबीचमा उहाँसँग बिताएका क्षणहरु, पत्रकारितामा सिकाएका पाठ र देखाएका सपनाहरु हाम्र आँखा सामु घुमिरहेका छन् । नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको दोस्रो कार्यकालको रुपमा उहाँ वर्तमान अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
अध्यक्षको जिम्मेवारी सम्हालेको डेढ वर्ष पुग्दै गर्दा उहाँले देखेका धेरै सपना अधुरै छाडेर हामीबीचबाट बिदा हुनुभएको छ । निधन हुनुभन्दा करिब ८ दिनअघि मात्र उहाँ नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको माथिल्लो तलामा निर्माणाधीन पुस्तकालयका बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । समयमा सम्पन्न हुन नसेपछि उद्घाटन गर्ने सोँच उहाँको अपुरै रहयो । लामो समयको बिरामीका कारण केही ढिलाइ भएको जिल्ला शाखको साधारण सभा कसरी सम्पन्न गर्ने, लेखा परीक्षणलगायतका काम कसरी अघि बढाउने, पत्रकारका लागि केही स्थानीय तहबाट सञ्चालन हुने तालिम सञ्चालनमा भएको ढिलाइलगायतका विषयमा उहाँको चिन्ता त्यतिकै थियो । शरीर रोगले थलिएको थियो, तर मन अझै पत्रकारिता र संस्थाप्रति समर्पित थियो । केही समयअघि उहाँले यो पंक्तिकारलाई आफ्नै घरमा बोलाउनुभयो । महासंघका बैठक पुस्तिका, साधारण सभाका निर्णयलगायतका फाइलहरु निकालेर हेर्नुभयो । साधारण सभाको तयारी कसरी गर्ने, पत्रकार स्वर्गीय कृष्णबहादुर कार्कीको स्मृतिमा उहाँको परिवारले स्थापना गरेको पत्रकारिता पुरस्कार वितरणको व्यवस्था कसरी मिलाउने भन्नेबारेमा विस्तारमा कुरा गर्नुभयो । ‘म केहीबेरका लागि भए पनि साधारण सभामा आउँछु’ उहाँले मसँग भन्नुभएको वाक्य अझ पनि झल्झली सम्झिरहन्छु । तर नियतिले अर्के निर्णय गरिसकेको रहेछ २०८३ साल असार २० गते शनिबार बिहान करिब ७ बजे उहाँ नवलपरासीको पत्रकारितालाई टुहुरो बनाएर कहिल्यै नर्फकिने यात्रामा निस्कनुभयो ।

मेरो पत्रकारिताको यात्रा उहाँसँग २०५७ साल असोजदेखि जोडिएको हो । २०५७ सालमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जको सहयोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आयोजना गरेको एक हप्ते पत्रकारिता तालिममा सहभागी हुन उहाँकै प्रेरणाले पुगेको थिए । ‘युवाहरु पत्रकारितामा आउनुपर्छ’ भन्ने उहाँको विश्वासले नै हामीजस्ता धेरै युवाहरु पत्रकारितामा लाग्न अभिप्रेरित बन्यौ । पत्रकारिताको अक्षर सिकाउने शिक्षक मात्र होइन, अवसर दिने अभिभावक पनि उहाँ नै हुनुहुन्थ्यो । रेडियो परासीको समाचार शाखामा मलाई सहायक समाचार प्रमुखको जिम्मेवारी पनि उहाँले दिनुभयो । सम्पादन सिकाउनुभयो । समाचारको भाषा, तथ्यको महत्व, निष्पक्षताको मूल्य र पत्रकारिताको मर्यादा व्यवहारमै सिकाउनुभयो । जब मैले परासी पत्र साप्ताहिक पत्रिका प्रकाशन सुरु गर्ने निर्णय गरे, कार्यकारी सम्पादक बन्न आग्रह गर्दा उहाँले कुनै हिच्किचाहट गर्नुभएन । करिब एक दशक हामी एउटै सम्पादकीय यात्रामा हिँड्यौं । लोकतन्त्रमा सबैका आ–आफ्नै राजनीतिक आस्था हुन्छन् । हाम्रो पनि आफ्नै राजनीतिक आस्था हुनु स्वभाविक थियो । हामीबीचको राजनीतिक आस्था फरक थियो । तर समाचार लेखन र सम्पादका विषयमा हामीबीच एउटै आस्था र विचार थियो, पूर्वाग्राहीरहित, निष्पक्ष, तटस्थ र सन्तुलित समाचार । यसमा हामी तटस्थ थियौै । यस्तै समाचारका कारण हामीले आस्था राखेका संगठनहरुले हामीलाई स्पष्टीकरण मात्र सोधेनन् निष्कासनसमेत गरे । तर हामीलाई पत्रकारिताबाट कसैले निष्कासन गर्न सकेन र सक्दैन । बरु यसले पत्रकारिताको निष्पक्षतालाई अझ बढी निखारपन र यस्तै पत्रकारिता गर्नमा अभिप्रेरित ग¥यो ।
सरल र शालीन स्वभावका पत्रकार पराजुलीको निष्पक्ष र पूर्वाग्रहरहित पत्रकारिताकाले जिल्लामा उहाँको नाम अझ गर्विलो बनेको थियो । उहाँकै सिको गर्दै मेरो २७ वर्षे पत्रकारिताको अभ्यासमा मलाई पनि निखारपन ल्याउनमा धेरै मद्दत मिलेको छ । उहाँसँग सामान्य समाचार लेखनदेखि माओवादी सशस्त्र समयमा नवलपरासीका विकट गाउँमा पुगेर थुप्रै पटक द्धन्द्ध समाचार संकलन र सम्प्रेषण गरेका स्मरण अझ पनि ताजै छन् ।
उहाँका लागि पत्रकारिता पेशा मात्र थिएन, जीवन थियो । बिरामी हुँदा पनि उहाँको चिन्ता आफ्नै स्वास्थ्यभन्दा महासंघको संस्थागत र पत्रकारिताको भविष्यमै थियो । कलेजो क्यान्सले शरीर गलाउँदै थियो, तर उहाँको पत्रकारिताप्रतिको सोच कहिल्यै गल्न सकेन ।
नवलपरासीको पत्रकारिताको इतिहास लेख्दा नेपाल पत्रकार महासंघको आफ्नै भवन निर्माणको प्रसंग कहिल्यै छुट्दैन । त्यो भवन बनाउँदा बिहान उज्यालो नहुँदै मलाई बिस्तारबाट उठाउन आउनुहुन्थ्यो । ‘आज इट्टा लिन जानुपर्छ, आज बालुवाको सहयोग माग्नु पर्छ, आज फलानो नेतासँग भेटनुपर्छ’ भन्दै दिनभरी संस्थाका लागि दौडिनुहुन्थ्यो । स्वर्गीय कृष्णबहादुर कार्की र केशव पराजुलीको त्यो समर्पणकै परिणाम हो, आज केन्द्रबाहेक देशभरका पत्रकार महासंघको भवन निर्माण गर्ने पहिलो शाखाका रुपमा नवलपरासी शाखा गौरवका साथ उभिएको छ । २०४७ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको सदस्यहुँदै २०५१ र २०५९ मा सचिव, २०५६ सालमा कोषाध्यक्ष तथा २०६१ सालमा अध्यक्ष रहनु भएको थियो । अहिले वर्तमान अध्यक्ष हुनुहुन्थ्यो । यो बिचमा मैले पनि उहाँसँगै सदस्य, सचिवको जिम्मेवारीमा काम गर्ने अवसर पाए । म दुई कार्यकाल अध्यक्ष हुँदा उहाँको संस्थागत र पत्रकारिताको सहयोग मेरा लागि अवस्मरणीय रहने छन् । आफू पदमा नहुँदा पनि संस्थागत पत्रकारिता विकासका लागि मलाई सधैं झक्झकाएर अघि बढाउने उहाँको बानी मेरा लागि स्मरणमा मात्र सीमित रहने छ ।
हुलाकमार्फत समाचार पठाउने समयदेखि डिजिटल प्रविधिको युगसम्म आइपुग्दा पत्रकारितामा आएको परिवर्तनलाई आत्मसात् गर्दै निरन्तर सक्रिय रहनु भएका पराजुली नयाँ पुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत मानिनुहुन्थ्यो । । उहाँको सरल स्वभाव, व्यावसायिक निष्ठा र पत्रकारिता प्रतिको समर्पणले जिल्लाको सञ्चार क्षेत्रमा विशिष्ठ पहिचान बनाएको थियो ।
उहाँले कहिल्यै आफूलाई अगाडि राख्नुभएन । संस्था अघि बढोस्, पत्रकार अघि बढुन भन्ने चाहना थियो । जिल्लामा पत्रकारिताको संस्थागत विकासकामा उहाँको सक्रियता अन्तिम समयसम्म पनि रोकिएन ।
पत्रकार गोविन्द वियोगी र होमनाथ दाहालले नेतृत्व गरेको मातृभूमि साप्ताहिकबाट उहाँको पत्रकारिताको यात्रा सुरु भएको थियो । नवलपरासीमा दर्ता भई २०४५ सालदेखि बुटवलबाट प्रकाशन सुरु भएको दैनिक लुम्बिनीमा संस्थापक संवाददाताका रुपमा आबद्ध भएर सक्रिय पत्रकारितामा लाग्नु भएका उहाँ अन्तिम समयसम्म पनि सोही पत्रिकामा कार्यरत हुनुहुन्थ्यो । लुम्बिनी दैनिकले खटाएपछि उहाँ दाङ पुगेर दुई वर्ष पत्रकारिता गर्नुभयो । सोही क्रममा उहाँ नेपाल पत्रकार महासंघ दाङ शाखको संस्थापक सदस्यसमेत रहनुभएको थियो । रेडियो लुम्बिनी, तिनाउ एफएम, रेडियो नेपालमा पनि उहाँ आवद्ध भएर नवलपरासीको पत्रकारितालाई अघि बढाउनुभएको थियो ।
२०२६ असोज ११ गते पाल्पाको ख्याहामा जन्मिएर नवलपरासीलाई कर्मभूमि बनाउनुभएका उहाँले झन्डै चार दशक यही नवलपरासीको माटोमा पत्रकारिता गर्नुभयो । पराजुलीले झन्डै ३९ वर्ष नवलपरासीमै रहेर पत्रकारितामा जीवन बिताउनु भयो । प्रजातन्त्र स्थापनाका क्रममा २०४५ सालमा परासीमा भएको आन्दोलन होस् वा प्रेस स्वतन्त्रता र लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा उहाँको योगदान अविस्मरणीय छ ।
पराजुलीका बुबा(माधव )सहित ठूलो बुबा (चैतन्य शर्मा) र काका(अच्युत)हरु तीन भाइले परासीमा सञ्चालन गरेको पुस्तक पसल व्यवसायलाई निरन्तरता दिन २०४३ सालमा परासी आउनु भएको थियो । त्यसअघि उहाँ २०४१ सालमा काकासँग बुटवल आउनु भएको थियो । उहाँका ठूलोबुबा चैतन्य शर्मा वकिल हुनुहुन्थ्यो । नेपाल बार एसोसियशन नवलपरासीका अध्यक्षसमेत रहनुभएका उहाँको ठूलोबुबा चैतन्यको सल्लाह र पुस्तक पसलमा त्यस समयमा आउने विभिन्न साप्ताहिक पत्रिकाका लेखले उहाँलाई पत्रकारितामा अभिप्रेरित गरेको उहाँले सुनाउनुहुन्थ्यो । दृष्टि, देशान्तर, मातृभूमि, राष्ट्रपुकारलगायतका साप्ताहिक पत्रिका उहाँको पसलमा आउथ्यो । ति पत्रिका पढ्न साइकल लिएर त्रिवेणीबाट विभिन्न व्यक्तिहरु आउने गरेको उहाँले स्मरण गर्नुहुन्थ्यो । पञ्चायती बिरोधीका पत्रिका आउँदा उहाँले लुकाएर नेताहरुलाई पु¥याएको पनि उहाँले सुनाउनुहुन्थ्यो । उहाँका यस्ता थुप्रै अनुभव र स्मरणका गाथाले हामीलाई पत्रकारितामा अभिप्रेरित गरेको हो ।
नवलपरासीको पत्रकारितामा सबैका प्रिय उहाँ सायद स्र्वगमा पनि प्रिय लागेर होला ५७ वर्षको उमेरमा उहाँको यात्रा टुङ्यिो । उमेरले छोटो भएपनि योगदानले उहाँलाई धेरै अग्लो बनायो । आज उहाँ हामीबीच हुनुहुन्न, तर उहाँले निर्माण गरेको संस्था, उहाँले प्रशिक्षित गराउनु भएका पत्रकार, उहाँले सिकाएका मूल्य र उहाँले छाडेको प्रेरणा हरेक दिन हाम्रो साथमा छन् ।
रामग्राम नगरपालिका–३ परासीमा बसोबास गर्दै आउनु भएका पराजुलीका श्रीमती र दुई छोरी हुनुहुन्छ । पराजुलीको निधनबाट नवलपरासीले एक सच्चा र कलमजीवी पत्रकारसँगै पत्रकारिताले अभिभावक गुमाएको छ ।
पुस्तकालयको अधुरो योजना, पत्रकारिताको भविष्यप्रतिको उहाँको समर्पण सबै अहिले आँखा भरी आउँछन् । त्यसपछि मनले एउटै कुरा भन्छ,‘ केशव पराजुली एउटा व्यक्ति मात्र हुनुहुन्नथ्यो, उहाँ नवलपरासीको पत्रकारिताको एउटा युग हुनुहुन्थ्यो ।’
उहाँको निधनसँगै उहाँको कलम रोकिएको छ, तर उहाँले कोरिदिएको गोरेटो हाम्रा लागि कहिल्यै नरोकिने मार्गदर्शकका रुपमा रहने छ । यही नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । भावपूर्ण श्रद्धा सूमन केशव दाई ।
(लेखक नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका निवर्तमान अध्यक्ष एंव परासी पत्र साप्ताहिकको सम्पादक हुनुहुन्छ । )




