२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फालिएका कपडा पुनः प्रयोग, विपन्नलाई राहत र वातावरण संरक्षणमा टेवा

फालिएका कपडा पुनः प्रयोग, विपन्नलाई राहत र वातावरण संरक्षणमा टेवा

क्लोथ बैंकमार्फत कमलको अभियानले अभाव र विपन्नतामा बांचेका नागरिकलाई राहत, शहरी फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा टेवा र सामाजिक सेवाको नयाँ अभियान उजागर गरेको छ ।

फालिएका कपडा पुनः प्रयोग, विपन्नलाई राहत र वातावरण संरक्षणमा टेवा

फालिएका कपडा पुनः प्रयोग, विपन्नलाई राहत र वातावरण संरक्षणमा टेवा

क्लोथ बैंकमार्फत कमलको अभियानले अभाव र विपन्नतामा बांचेका नागरिकलाई राहत, शहरी फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा टेवा र सामाजिक सेवाको नयाँ अभियान उजागर गरेको छ ।

फालिएका कपडा पुनः प्रयोग, विपन्नलाई राहत र वातावरण संरक्षणमा टेवा
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  •   
    बुटवल । कसैको घरमा कपडाले दराजहरु भरिभराउ हुन्छ, अर्को परिवार कपडा अभावमा जाडोयाममा पनि कठाङग्रिएर दिन कटाउन बाध्य हुन्छन् ।
    समाजमा यस्तै असमानता र अभाव देखिरहेका गुल्मी इस्मा गाउंपालिकाका कमल जीसीले यसलाई फरक सोंच र दृष्टिले बुझे ।  उनले यस्तो समस्यालाई कपडाको अभाव भन्दा पनि व्यवस्थापन र वितरणको समस्याका रुपमा बुझे । 


    विदेशमा सञ्चालन भइरहेका ‘क्लोथ बैंक’को अवधारणाबारे अध्ययन गरे । र कपडाको अभावमा कष्टकर जीवन बिताइरहेका मानिसहरूलाई निःशुल्क कपडा दिएर राहत पु¥याउने, शहरी फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा टेवा पुराउने उद्देश्यले साढे दुई वर्ष अघि क्लोथ एन्ड फुड बैंक नेपाल स्थापना गरे ।   
    देशमा कोही नांगो र भोको नरहुन् भन्ने उद्देश्य सहित २०८० पुसमा कमलको अगुवाईमा क्लोथ एन्ड फुड बैंक स्थापना भयो । गैरनाफामूलक संस्थाका रुपमा स्थापित क्लोथ एन्ड फुड बैंक अहिले नेपालको सबैभन्दा ठूलो कपडा पुनःप्रयोग अभियान बनेको छ । 


    स्थापनाको छोटो अवधिमै क्लोथ एन्ड फुड बैंक देशका करिब ३० जिल्लाका ६४ स्थानीय तह तथा विभिन्न सामाजिक संस्थाको सहकार्यमा १०५ भन्दा बढी कपडा बैंक (ड्रप बक्स) सञ्चालनमा छन् । काठमाडौं उपत्यकामा मात्रै ३८ वटा सेवा केन्द्र सञ्चालन भइरहेका छन् ।हाल महिला, पुरुष र बालबालिका गरी दैनिक औसत दुई सय जनाले आफूलाई आवश्यक पर्ने कपडा निःशुल्क लैजाने गरेका छन् ।


    कमलको लक्ष्य भने यतिमै सीमित छैन । उनी नेपालका सबै ७५३ स्थानीय तहमा कपडा बैंक स्थापना गर्ने दीर्घकालीन योजना बोकेर अघि बढिरहेका छन् ।
    कमलका अनुसार उनले कपडा प्रशोधनका लागि रुपन्देहीको तिलोत्तमामा ५ कठ्ठा क्षेत्रफलमा गोदाम घर भाडामा चलाएका छन् भने दुई वटा साना मेशिन छन् । तर मुख्य प्रशोधन मेशिन भने आफ्नो छैन । शुल्क तिरेर प्रशोधन गरिरहेका छन् । 
    कमलका अनुसार गोदाम घर,दुई मेशिन, शोरुम लगायतमा हालसम्म डेढ करोड रुपैयां लगानी भइसकेको छ । क्लोथ बैंकले सिरक, डसना, सिरानी पनि उत्पादन गरेर निशुल्क बांडिरहेको छ ।  


    एउटा कपडाको दोस्रो जीवन


    क्लोथ बैंकमा पुगेका प्रत्येक कपडाको यात्रा नयाँ जीवनको कथा हो भन्छन् कमल । प्रयोगविहीन नयां वा केही समय मात्र प्रयोग भएर क्लोथ बैंकलाई दान गरिएका कपडाहरु जस्ताको त्यस्तै वितरण हुँदैन । पहिले त्यसको वर्गीकरण गरिन्छ । त्यसपछि आधुनिक मेसिनबाट धुने, प्रशोधन गर्ने, स्यानिटाइज गर्ने, इस्त्री (आइरन) गर्ने र आकर्षक रूपमा पुनः प्याकिङ र लेबलिङ गरिन्छ । त्यसपछि मात्रै ती कपडा नयाँ प्रयोगकर्ताको हातमा पुग्छन् । ‘प्रशोधनबाट नयाँ बन्ने ती कपडाले फेरि अर्को व्यक्ति र परिवारलाई राहत दिन्छ, उनीहरुको जीवनमा सम्मान र न्यानोपन दिन्छ’–कमल भन्छन्–‘यहाँ दान वा हस्तान्तरण होइन, आवश्यकता अनुसार सम्मानपूर्वक आफै छनोट गर्ने अवसर हुन्छ, गरीब मात्र होइन जुनसुकै वर्गका व्यक्तिले कसैले थाहा नपाउने गरी आफूलाई आवश्यक कपडा रोजेर लैजान सक्नुहुन्छ ।’ 


    दुई वर्षमै ६० करोड बराबरको सेवा


    कमलका अनुसार स्थापना भएको साढे दुई वर्षमै क्लोथ बैंकबाट १ लाख ६२ हजार ६ सय ४२ जनाले निःशुल्क कपडा प्राप्त गरिसकेका छन् ।
    वितरण गरिएका कपडा तथा सामग्रीको अनुमानित मूल्य करिब ६० करोड रुपैयाँ बराबर पुगेको छ ।
    नेपालमा कपडा पुनःप्रयोगमार्फत यति ठूलो परिमाणमा सामाजिक सेवा सञ्चालन भएको उदाहरण विरलै भेटिन्छ । 
    क्लोथ बैंक अन्तर्गत प्रशोधन उद्योग, गोदाम घर, मुख्य शोरुम, कार्यालय, घरभाडा, विद्युत्, ढुवानी, २२ जना कर्मचारीको तलब लगायत सबै खर्च गरेर वार्षिक करिब एक करोड रुपैयाँ खर्च हुने गरेको कमल बताउंछन् ।


    तर क्लोथ एन्ड फुड बैंकसँग कुनै आम्दानीको निश्चित र नियमित स्रोत नहुंदा आर्थिक व्यवस्थापनको पाटोले सधैं पिरोल्ने गरेको कमलले गुनासो गरे । आफू र आफ्नो टिमले व्यवसाय गरेको नभई सामाजिक र मानवीय सेवाको काम गरेको हुंदा तीनै तहका सरकारको आर्थिक सहयोग आवश्यक रहेको उनको तर्क छ । ‘क्लोथ बैंक कुनै निजी व्यवसाय होइन, बरु सरकारलाई सहयोग गर्ने गैरनाफामूलक सामाजिक संस्था हो, यो अभियानलाई तीनै तहका सरकारले अपनत्व लिएर आर्थिक सहयोग गर्नुपर्ने हो’–कमलले भने–‘अहिले केही स्थानीय तहबाट मात्र वार्षिक दुई लाखका दरले सहयोग जुटेको छ, यसले खर्च धान्न गाह्रो भएको छ, आफ्नो अन्य व्यवसायबाट कमाएको रकम, केही साथीको सहयोगले धान्दै आएको छु ।’ 


    वातावरण बचाउने मौन अभियान


    क्लोथ बैंकको प्रभाव मानव सेवामा मात्रै सीमित छैन । विश्वव्यापी रूपमा कपडाबाट सिर्जित फोहोर वातावरणीय चुनौती बन्दै जांदा नेपालमा पनि प्रयोग गर्न छाडिएका कपडा नदी, खोला, कुलो, नहर तथा डम्पिङ साइटमा पुगेर शहरी सौन्दर्यका वाधक र ठूलो प्रदूषण सिर्जना गरिरहेका छन् । एक तथ्यांकअनुसार कुल फोहोरमध्ये ३० प्रतिशतभन्दा बढी हिस्सा कपडाजन्य फोहोरको रहेको छ । क्लोथ बैंकले कपडाबाट सिर्जना हुने फोहोर न्यूनिकरण गर्न ठूलो भूमिका खेलेको वातावरणको क्षेत्रमा काम गरिरहेका अगुवाहरु स्वीकार्छन् । 


    ‘फ्याँकिने कपडा पुनःप्रयोग हुँदा डम्पिङ साइटमा जाने फोहोर घटेको छ, कुलो र नहर कपडाले थुनिने समस्या कम भएको छ’–वातावरण बचाउ आन्दोलन रुपन्देहीका संस्थापक नारायण सापकोटा भन्छन्–‘क्लोथ बैंकले ठूलो मात्रामा फ्यांकिने कपडा संकलन र प्रशोधन गर्न थालेपछि स्थानीय तहको फोहोर व्यवस्थापन खर्च घटेको छ, वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुगेको छ ।’ कपडा पुनःप्रयोगको संस्कार विकसित भए कपडा खरिदमा हुने अनावश्यक खर्च जोगिने र फोहोर व्यवस्थापनमा वर्षेनी हुने करोडौं रुपैयाँसमेत बचाउन सकिने भएकाले यसलाई वातावरण संरक्षणको सानोतिनो ‘मौन क्रान्ति’ भन्न सकिने सापकोटा बताउंछन् । 


    विपद्का बेला राज्यको भरोसा


    क्लोथ एन्ड फुड बैंक अहिले विपद् व्यवस्थापनमा समेत सरकारको महत्वपूर्ण साझेदार बनेको छ ।
    आगलागी, बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का बेला संस्थाले तत्काल कपडा, सिरक, डसना, सिरानी, ब्ल्याङकेट लगायतका सामग्री ठूलो परिमाणमा उपलब्ध गराउने क्षमता विकास गरिसकेको छ।
    संस्थाले एकै दिनमा १० हजार जोर कपडा उपलब्ध गराउन सक्ने क्षमता बनाएको कमल बताउँछन् ।
    गत भदौको जेनजी आन्दोलनका क्रममा विस्थापित दर्जनौं प्रहरी कार्यालयहरुलाई २ हजार २ सय ६० सेट सिरक, डसना, सिरानी र ब्ल्याङकेट वितरण गरिएको उनले बताए । नेपाल प्रहरीको नेतृत्वले पनि यो कुरा स्वीकारेको छ । 
    यसअघि विभिन्न प्राकृतिक विपद्का बेला पनि संस्थाले सयौं परिवारलाई राहत सामग्री उपलब्ध गराइसकेको छ ।
    क्लोथ बैंकको अभियानले राज्यलाई राहत तथा पुनःस्थापनामा लाग्ने ठूलो आर्थिक भार कम गर्न सहयोग पुगेको गुल्मीको छत्रकोट गाउंपाकिला अध्यक्ष रामप्रसाद पाण्डेयले बताए । 
    ‘हाम्रो पालिकामा स्थापना भएको क्लोथ बैंक विपन्न नागरिकको लागि निशुल्क कपडा पाउने भरपर्दो एक मात्र थलो बनेको छ’–पाण्डेले भने–‘क्लोथ बैंकबाट कपडा लैजाने नागरिकको संख्या बढ्दै गएको छ, नागरिकलाई ठूलो राहत मिलेको छ, पालिकाले पनि मानवीय सेवा गरेको सन्देश गएको छ ।’ 


    दिगोपनको खोजी


    क्लोथ बैंकलाई दीगोरुपमा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन कमलले हाल काठमाडौंमा तीन वटा डोनेसन (थ्रिफ्ट) सप सञ्चालनमा ल्याएका छन् ।
    त्यहाँ इच्छुक व्यक्तिले आफूलाई मन परेको कपडा लैजान सक्छन् र आफ्नो स्वविवेकअनुसार आर्थिक सहयोग गर्न सक्छन् । कतिपय स्थानीय तहले कपडा बैंक स्थापना गर्दा प्रति पालिका दुई लाखदेखि साढे दुई लाख रुपैयाँसम्म सहयोग गर्ने गरेका छन् । तर त्यसले मात्रै खर्च धान्न नसक्ने भएकाले देशभर एक सय डोनेसन सप सञ्चालन गर्ने दीर्घकालीन योजना बनाइएको कमलले खुलाए । हरेक स्थानीय तहमा एउटा क्लोथ बैंक स्थापना गर्न सकिए नेपालमा कपडाको अभावभन्दा पनि कपडाको सही व्यवस्थापनको संस्कार स्थापित हुने र त्यही संस्कारले वातावरण जोगाउने, गरिबीको बोझ घटाउने र मानवतालाई अझ बलियो बनाउने कमलको विश्वास छ । 


    राज्यलाई बहुआयामिक लाभ


    क्लोथ एन्ड फुड बैंकको अभियानबाट राज्यले पनि प्रत्यक्ष लाभ पाइरहेको पाल्पाको रिब्दिकोट गाउंपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।
    फ्याँकिने कपडा पुनःप्रयोग हुँदा फोहोर व्यवस्थापन खर्च घटेको र नदी, कुलो र नहर सफा राख्न लाग्ने खर्च कम भएको कार्कीले बताए । ‘प्राकृतिक विपद्का बेला कपडाजन्य राहत सामग्री क्लोथ बैंकबाट निशुल्क चाहेको परिमाणमा उपलब्ध हुँदा राज्यलाई ठूलो फाइदा भएको छ’–कार्कीले भने–‘क्लोथ बैंक हुन्थेन भने राहतमा बांड्ने कपडाजन्य वस्तु खरिद गर्न ठूलो रकम राज्यकोषकाट खर्च हुन्थ्यो, त्यो जोगिएको छ ।’


     गरीब तथा विपन्न परिवारले कपडा खरिदमा खर्च गर्नुपर्ने रकम शिक्षा, स्वास्थ्य वा अन्य आवश्यक क्षेत्रमा प्रयोग गर्न पाएका कार्कीले बताए । 
    ‘कपडा आयातमा समेत दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्ने र ब्यापार घाटा कम गर्न टेवा पुग्ने देखिन्छ,सबैभन्दा महत्वपूर्ण सफा, सुन्दर र वातावरणमैत्री पालिका निर्माणमा क्लोथ बैंकको अभियानले उल्लेखनीय योगदान पु¥याइरहेको छ’–कार्कीले भने । 


    मानवीय सेवामा पु¥याएको योगदानका कारण कमल जीसी नेपाल प्रहरीका विभिन्न कार्यालय, विभिन्न स्थानीय तह तथा सामाजिक संस्थाबाट सम्मानित भइसकेका छन् । आफूलाई महानायक राजेश हमालले संरक्षकको रुपमा र अस्पताल व्यवसायी प्रणिण टण्डनले क्लोथ बैंक सञ्चालनका क्रममा आइपर्ने आर्थिक समस्यामा गर्जो टार्न साथ–सहयोग दिने गरेको कमलले उल्लेख गरे ।

    कमलले आफ्नो अभियान निशुल्क कपडा बाँड्ने मात्र नभई नेपालको सामाजिक संस्कार परिवर्तन गर्ने प्रयास भएको तर्क गर्छन् । ‘एउटा घरमा अनावश्यक बनेको वस्तु अर्को घरको आवश्यकता बन्न सक्छ भन्ने संस्कार स्थापित गर्दै क्लोथ बैंकले दानलाई सम्मानमा, फोहोरलाई स्रोतमा र परोपकारलाई दिगो सामाजिक प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ’–कमलले भने–‘राज्यले फोहोर व्यवस्थापनदेखि विपद् राहतसम्म प्रत्यक्ष लाभ पाएको छ ।’

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij