झपेन्द्र जिसी
यो पंक्तिकारलाई नेपालको राज्य सरकारको गुनगान गाउन मन छ । आरती उतार्न मन छ । गाथा गाउन मन छ । कर्खा गाउन मन छ ।
तर गाथा गाउने, गाथा लेख्ने विषय पाएको छैन । के मा गाथा लेख्ने ? के मा कर्खा लेख्ने ?
७३ वर्षको उमेरमा चल्दैछु । कताकता गल्दैछु । तैपनि विकास, समृद्धि र सुशासन देख्ने उत्कृष्ट रहर छ । त्यही रहरले मलाई बचाइरहेको छ जस्तो लाग्छ ।
कसैको विरोध गर्ने र कसैको विरुद्धमा लेख्ने बोल्ने मन छैन ।
राज्य सञ्चालकहरु कुशासन भए, ती कथित कुशासकबाट सुशासन हुँदैन भनेर २०८२ भाद्र २३ र २४ मा अघि अघि विद्यालय डे«समा झोला बोकेका विद्यार्थी नानी बाबु र पछि–पछि हाल आफूलाई आएर सुशासक मानिनेहरु २०८२ फागनु २१ को निर्वाचनपछि त कथित कुशासन रहने भनिएको सत्ता कुर्सीमा पुग्न सफल भए र आफूलाई सुशासकका रुपमा प्रचारित गरे । ती निर्दाेष मतदाताहरु आफ्नो मतले सुशासकहरुलाई सत्ताका गद्दीमा राख्न सकेकोमा मख्ख परे । मख्ख मात्र परेनन् पुराना पार्टी र प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन झण्डै ७०÷७२ वर्ष संघर्ष गरेका, त्याग गरेका पार्टीका नेता कार्यकर्तालाई झोले, भ्रष्टाचारी, कुशासक भनी गाली गर्न थाले । त्यो गाली गर्ने प्रवृत्ति अहिलेसम्म छ । विजय उन्मादले निरन्तरता पाएको छ ।
नयाँ सरकार प्रमुख, गृहमन्त्री लगायतले शपथ गरेको भोलि बिहान कुखुराको भाले नबास्दै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई अपहरण शैलीमा डेरा–घर सशस्त्र प्रहरी सैनिकद्वारा घेराबन्दी गरी प्रहरी हिरासतमा लगी राखियो । आखिर अनियमितताका खास कसुरको अभावमा उनीहरु रिहा भए । यो क्रम जारी छ । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पार्टी निर्माणका सिलसिलामा सुर्खेत गएको बखत एरेष्ट गरी काठमाडौं प्रहरी कस्टडीमा हप्तौं दिन राखिएको पाइयो । पछि साधारण तारिखमा छाडियो भन्ने सुनियो ।
नबुझेको कुरा यही छ कि ठोस कसुर र ठोस अपराधविना किन गिरफ्तार गरी प्रहरी कस्टडी वा थुनामा राखिन्छन् ? नागरिकहरु अहिले यस्तै प्रश्न गर्दै मात्र छैनन् । कुन बेला को गिरफ्तार हुने हो आफैँ पनि त्रस्त देखिन्छन् ।
राष्ट्र सेवक कर्मचारीहरुले भकाभक राजीनामा दिएर घरतिर लागे भन्ने सुनिंदैछ भने अर्काेतर्फ लोकसेवा आयोगको फारम त्यस पटक नभराउने, परीक्षा पनि नलिने भन्ने खबरले अलमल बनाउने नै भयो ?
क्या हो सुशासन ? विज्ञ सुशासक राज्य सरकारले नै बुझ्ने कुरा हो । सर्वसाधारणले के बुझ्ने ? कसरी बुझ्ने ?
शिक्षामा कर, भ्याट, स्वास्थ्यमा कर भ्याट पनि लाग्दैछ रे भन्न सुनिन्छ ।
निजी तथा सामुदायिक मिडियालाई विज्ञान नदिनु, सरकारी विज्ञापन सबै सरकारी मिडिया गोरखापत्र, दि राइजिङ नेपाल, नेपाल टेलिभिजन आदिलाई मात्र दिनु भन्ने सुशासकको हुकुमकाविरुद्ध सर्वाेच्च अदालत गुहार्न पुगेका मिडियाकर्मी संस्थाको गुहारलाई मध्यनजर गरी सर्वाेच्च अदालतले सरकारी निर्णयलाई कार्यान्वयन नगर्नु भनी फैसला भएपछि मिडियाले त्राण पाएका छन् । प्रमाण पाउन बाँकी छ ।
सुकुम्वासीलगायत अन्य क्षेत्रको सुशासन ? लगायतको चर्चा गर्नै परेन ।
जान्ने र पीडा भोग्नेलाई थाहा छँदैछ ।
सुशासन सरकार गठन भएको धेरै समय भएको छैन । नेपाली जनता आफ्नो गाउँको खानेपानी, बाटोघाटो, स्वास्थ्य र सफाइ आदि चाँडो होस् गुणस्तरीय शिक्षा र स्वास्थ्य सके निःशुल्क होस् नभए सुलभ होस् भन्ने चाहाना छ ।
आज आफूलाई सुशासक हौं भन्नेहरुले हिजोका कुशासक र भ्रष्टाचारी भनी हिलो छ्यापिएकाले सुरु गरेका काम पूरा गर्नै थालेका योजनाहरु कहिले पूरा हुन्छन् ? यसबारे के हुँदैछन् । कतै योजनाका बजेट त काटिएनन् यस्ता प्रश्नहरु पनि उठिरहेका छन् ?
सुनिन्छ, कतिपय जिल्लाका बहुवर्षीय योजनाहरु काटिए भन्ने ! यस्तो त होइन होला भन्ने यो पंक्तिकारको बुझाइ हो । यसको बुझाइमा तुषारापात नभए हुन्थ्यो ।
जे होस् पाल्पा देवीनगरदेखि निस्किएको तिनाउ नदी बुटवलको देवीनगर हुँदै दक्षिणतिर र अन्त्यमा भारततिर बगिरहेको छ । तिनाउको शिरदेखि पुच्छारसम्मका समग्र विकास योजना के के होलान् ? योजनाहरु कथित कुशासकहरुले प्रस्तावित गरेको भए पनि र अहिलेका सुशासकहरुले राखेका योजनाहरु किन नहोऊन् ती सबै तोकिएकै समय अवधिमा पूरा हुुनुपर्छ भन्ने जनताको भनाइ छ ।
अन्त्यमा देशमा सुशासनै सुशासन होस् । राज्य सरकार सुशासक होऊन् । जनप्रतिनिधि पारदर्शी होऊन् । हाम्रो देश नेपालले विकास र समृद्धिमा फट्को मारोस् ।
देशमा झिलिमिली झाइँ होस् । तिलिमिली ताइँ नहोस् । टिओबी लगायत विदेशीहरुको ताण्डव नृत्य अब हेर्न र देख्न नपरोस् । साँच्चै हाम्र्रो सिंह दरबारहरु खरानी पार्न तम्सेका टिओबी जस्तालाई यो सुशासक सरकारले कस्तो कारबाही गर्ला ? हेर्न मन छ । तर जनता भन्दै छन्–सुशासन करायो ! विकास र समृद्धि हरायो !




