बुटवल। गुरु पूर्णिमाको अवसर पारेर बुटवल उपमहानगरपालिका–१३, जितगढीस्थित जितेश्वरी जीवन योग प्रयोगशालाले योग प्रशिक्षक कपिल गौतमलाई सम्मान गरेको छ। गुरु–शिष्य परम्पराको संरक्षण, योग शिक्षाको प्रवर्द्धन तथा प्रशिक्षकप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो।
प्रयोगशालाका अध्यक्ष ताराप्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग प्रशिक्षक गौतमलाई खादा, सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष गौडेलले समाजमा योग र स्वस्थ जीवनशैलीको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै प्रशिक्षक गौतमले लामो समयदेखि निस्वार्थ रूपमा योग, प्राणायाम र ध्यानमार्फत धेरै व्यक्तिको जीवनशैली परिवर्तन गर्न योगदान पुर्याएको बताउनुभयो।
उहाँले गुरु पूर्णिमा केवल धार्मिक पर्व मात्र नभई ज्ञान, अनुशासन र सकारात्मक जीवनशैली सिकाउने गुरुहरूप्रति सम्मान प्रकट गर्ने विशेष अवसर भएकाले सोही भावनाअनुरूप कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले नियमित योगाभ्यास र प्राणायामका कारण आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अनुभव सुनाएका थिए। उनीहरूले योगका माध्यमबाट तनाव कम हुनुका साथै विभिन्न स्वास्थ्य समस्यामा समेत सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै प्रशिक्षक गौतमप्रति आभार व्यक्त गरेका थिए।
सम्मानित प्रशिक्षक कपिल गौतमले आफूलाई सम्मान गरेकोमा प्रयोगशाला परिवारप्रति धन्यवाद व्यक्त गर्दै यो सम्मानले अझ बढी जिम्मेवारीबोध गराएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि योग, प्राणायाम र ध्यानका माध्यमबाट स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रयोगशालासँग आबद्ध प्रशिक्षार्थी, शुभेच्छुक तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले गुरु पूर्णिमाको अवसरमा गुरुको सम्मान गर्दै योग संस्कृतिलाई समाजका सबै तहमा विस्तार गर्न यस्ता कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।




