बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–५ दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिप्परले हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उनको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। घाइतेको प्रारम्भिक उपचार संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएकोमा बिहीबार बिहान २:०७ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले टिप्पर चालक शिवराज नगरपालिका–५ निवासी ३७ वर्षीय सूरज चौधरीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। शवको पहिचान गर्ने प्रयास जारी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हिजो मात्रै कपिलबस्तुमा ट्रकको ठक्करबाट ३ जनाको ज्यान गएको थियो ।




