२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्जुन ज्ञवालीः कलम,कक्षा र कर्मको यात्रा

अर्जुन ज्ञवालीः कलम,कक्षा र कर्मको यात्रा

अर्जुन ज्ञवालीः कलम,कक्षा र कर्मको यात्रा

अर्जुन ज्ञवालीः कलम,कक्षा र कर्मको यात्रा

अर्जुन ज्ञवालीः कलम,कक्षा र कर्मको यात्रा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • डी.आर. घिमिरे
    केही मानिसहरूको बिदाइ केवल एउटा व्यक्तिको मृत्यु हुँदैन, एउटा युगको अवसान हुन्छ । वरिष्ठ पत्रकार, लेखक, शिक्षक, प्रशिक्षक तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको बिदाइले मलाई यस्तै अनुभूति गराएको छ । केही दिनमै काठमाडौं पुगेर उहाँलाई भेट्ने योजना बनाएको थिएँ । योजना यति मात्र थिएन । पुराना पत्रकारहरुमध्ये करिव १० जनालाई “त्यतिबेलाको पत्रकारिता र अनुभव” शीर्षकमा पाँचदेखि १० हजार शब्दको अनुभव उतार्न लगाउने योजना अनुरुप एकप्रकारले नामहरुको टुंगो लगाएको थिएँ । यो कुरा अरु कसैलाई भनेको पनि थिइन, तर अर्जुन दाइलाई भनेको थिएँ, करिव छ महिना अघि । खै लेख्न पनि जाँगर नै लाग्दैन, त्यति लामो कसरी लेखुला ?


    लेख्न नसके पनि भन्न त सक्नुहुन्छ नि भन्ने मेरो जवाफ सुनेर “उसो भए त सक्छु । तपाईंले नयाँ–नयाँ आइडिया लिनुहुन्छ” भन्दै हौसिनु भएको थियो । काम गर्न सकिएला कि नसकिएला भनेर मैले अरु कसैलाई भन्न पनि सकेको थिएन । शायद विनोद पहाडीलाई यो अवधारणा सुनाएको थिएँ । उहाँ पनि खुशी नै हुनु भयो । यता बिरामी भएर थलिएको कुरा थाहा पाएपछि साउनको पहिलो हप्ता काठमाडांै जान्छु र भेट गर्छु भनेको थिएँ । तर नियतिले त्यो भेट जुराएन । नत मैले सोंचे अनुरुप उहाँको लेखनै तयार हुन सक्ने भयो ।

     
    अर्जुन दाइ एकजना पत्रकार मात्र होइन, एउटा विद्यालय हुनुहुन्थ्यो । हामीले बुटवलमा सँगसँगै पत्रकारिता प्रशिक्षणका धेरै कार्यक्रम सँगै सञ्चालन ग¥यौँ । समाचार लेखन, सम्पादन, भाषा, फिचर र पत्रकारिताको नैतिकताबारे प्रशिक्षण दिँदा उहाँ आफ्ना अनुभूतिसहित बोल्नुहुन्थ्यो । लामो समय शिक्षण पेशामा रहनु भएका अर्जुन दाइले शिक्षण र लेखनलाई सँगै बढाउनु भयो । जीवनको उत्तरार्धसम्म पनि लेखनबाट विमुख हुनु भएन । पछिल्ला केही वर्ष उहाँले प्रायः लेख्न मन लागेको विषयलाई कुन कोणबाट उठाउँदा उचित होला भनेर राय लिनुहुन्थ्यो । तर उहाँको कोण हुन्थ्योनै बरु त्यसलाई तथ्य र प्रमाण कसरी पु¥याउने भनेर मेहनत गर्नुहुनथ्यो ।


    करिव दुई वर्ष अघि मैले उहाँलाई बुद्धिबहादुर थकालीकोबारेमा लेख्न अनुरोध गरेकोमा उहाँले तीन चार पटक पाण्डुलिपि देखाउनु भयो । मैले भयो भन्छु, तर उहाँले नयाँ नयाँ तथ्य फेला पार्नु हुने रहेछ । अनि पुःन लेख्दै जाने ।
    लेख तयार भयो । मैले जे प्रयोजनका लेखाएको थिएँ, त्यो समय आउन ढिला भयो । हुन पनि त्यो समय अझैसम्म आएको छैन । उहाँलाई लेख छाप्ने औधि रहर लागेछ । मेहनतपूर्वक पूरा गरिसकेको लेख छाप्ने रहर कसलाई पो हुँदैन र ?


    मैले उहाँलाई शर्तसहित लेख छाप्न स्वीकृति दिएँ । शर्त के थियो भने लेख छापिएपछि फेरि सुझावहरु आउँनेछन्, तिनलाईसमेत राखेर फेरि अन्तिम पटक लेख्ने । दाई अत्यन्तै खुशी हुनुभयो । हुन पनि उहाँलाई अकल्पनीय सुझाव आएछन् । पछि फेरि भन्नुभयो, यो लेख छापेर ठिक भएछ । तपाईंले कस्तो आइडियासहित छाप्न भन्नु भएछ । उहाँले अन्तिम भनेर सम्पादन गरेको सो लेख मेरो ल्यापटपमा सुरक्षित छ । 


    पत्रकारिताको प्रशिक्षणमा उहाँको सबैभन्दा रोचक विषय फिचर लेखन हुन्थ्यो । दाइको लेखनकला असाध्यै सीपयुक्त हुन्थ्यो । छोटा वाक्य, सरल, धारिलो र बुझिने भाषा, तथ्य अगाडि सारेर मात्र लेख्ने इतिहासलाई समसामयिक राजनीतिसँग जोडेर व्याख्या गर्ने । यस्ता यावत् शैलीले उहाँलाई पहिचान दिएको थियो ।  
    अनावश्यक कुरा कहिल्यै नगर्ने, कसैप्रति आग्रह पूर्वाग्रह नराख्ने, तर चित्त नबुझेको कुरा सामुन्नेमै भन्ने, नक्कली र वनाबटी कुराको सिधैं प्रतिवाद गर्ने उहाँका खास खास विशेषता हुन् ।


    अर्घाखाँचीको चिदिका गाउँ विकास समितिको ठुलाखर्क–चिसापानीमा २००४ सालमा एउटा सामान्य किसान परिवारमा खुमानन्द र चोलाकुमारीका छोराका रूपमा उहाँको जन्म भयो । नागरिकतामा अर्को मिति लेखिए पनि उहाँको ‘इतिवृत्त’ नामक पुस्तकमा यही मिति छ । सो पुस्तकमा उहाँले लेख्नु भएको छ– “सामान्य परिवारमा जन्मनु नै मेरो वरदान बन्यो ।”  ‘इतिवृत्त’ नेपाली कम्युनिष्ट पार्टीमा सम्पूर्ण जस्वनको उर्जाशिल समय व्यतित गर्नुभएका देवेन्द्र घिमिरेको सोंचमा प्रकाशित भयो । यसले आज पनि हरेक वर्ष पाका पुराना कम्युनिष्टहरुलाई जम्मा गरेर पुनर्मिलन गराउँछ ।


    यो पुस्तकको एकप्रति मलाई उहाँले नै दिनु भएको थियो र यसको नामाकरण आफैँले जुराएको प्रसँग मसँग गर्नु भएको थियो ।
    खिदिमको पिपलडाँडाबाट सुरु भएको शिक्षा हरिहर संस्कृत पाठशाला हुँदै बनारससम्म पुग्यो । संस्कृत अध्ययनले उहाँलाई भाषाको गहिराइ दियो भने बनारसले विचारको क्षितिज फराकिलो बनायो । त्यहीँ उहाँले पुष्पलालसँग भेट्ने अवसर पाउनुभयो । मोदनाथ प्रश्रितको पत्र लिएर पार्टी कार्यालय पुगेपछि  उहाँले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणबारे सुन्नुभयो ।  पुष्पलालको सादगी, गोविन्द ज्ञवाली र खेमराज पण्डितसँग बिताएका क्षण, भेली र भिजेको चनाको प्रसङ्ग पनि भेटघाटका अवसरमा उहाँले सुनाउने विषय हुन् । 


    २०२४ सालमा, उहाँ लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक बन्नुभयो । त्यो समय आजको जस्तो प्रेस स्वतन्त्रताको युग थिएन । समाचार लेख्नु भनेको जोखिम उठाउनु थियो । पञ्चायतकालीन सत्ताको छायाँमा पत्रकारिताले सास फेर्दै गरेको समय थियो । अर्घाखाँची धातिवाङका गणपति पौडेलविरुद्धको एउटा समाचार छापिएपछि अञ्चलाधीश टेकबहादुर रायमाझीले उहाँलाई कार्यालयमा बोलाएर  धम्क्याएको प्रसङ्ग उहाँले बेलाबखत सुनाउनुहुनथ्यो । यो कुरा मेरा लागि नयाँ सूचना यस कारणले थियो कि गणपति मेरो छिमेकी गाउँको हुनुहुन्थ्यो र उहाँकोबारेमा मैले धेरै कुरा सुनेको थिएँ ।


    पत्रकारिता उहाँका लागि जागिरभन्दा साधना थियो । समाचार, सम्पादकीय, टिप्पणी र विश्लेषण लेख्दै उहाँले तीन हजार बढी फिचर लेख्नु भयो । तीमध्ये बल्खु पर्व उहाँले सधँैजसो चर्चा गर्नुहुन्थ्यो । यसैले ढुक्कसँग भन्न सकिन्छ, नेपाली पत्रकारिताले स्वाभिमानी, निर्भिक र एकजना साधक गुमाएको छ । 


    तर अर्जुन दाइलाई पत्रकारिताले मात्र चिनाउँदैन । उहाँले करिब सत्ताइस वर्ष शिक्षकका रूपमा पनि बिताउनुभयो । मणिग्रामको शान्ति विद्यालयमा दुई दशकभन्दा बढी समय अध्यापन गर्दै उहाँले हजारौँ विद्यार्थीको जीवनमा ज्ञानको उज्यालो छर्नुभयो । राष्ट्रिय शिक्षक आन्दोलनमा नेतृत्व गर्नुभयो, जेल जानुभयो, लोकतान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो । शिक्षक, पत्रकार र आन्दोलनकारी, यी तीनवटै भूमिकामा उहाँले आफूलाई अब्बल सावित गर्नु भयो । 
    संस्थागत रुपमा उहाँ रेडियो लुम्बिनीको अध्यक्ष बनेर नेतृत्व गर्नुभयो । छापा पत्रकारिताको अनुभवी भए पनि उहाँले रेडियोमा बोलेर गरिने पत्रकारिताको अनुभव पनि लिनु भयो । 


    अर्जुन दाइको व्यक्तित्वलाई सबैभन्दा गहिरोसँग चिनाउने प्रसङ्ग भने उहाँले आफ्नै आत्मकथामा उल्लेख गरेको “मधुरो दौरा” हो । गाउँका पण्डितले दिएको सेतो चहकिलो दौरा बुवाले तुरुन्त नलगाई “अलि मधुरो भएपछि लगाउँला” भन्नुभएको घटना उहाँले जीवनभर सम्झनुभयो । उहाँका लागि त्यो  जीवनको दर्शन बन्यो । त्यसैले उहाँ कहिल्यै प्रदर्शनप्रिय हुनुभएन । बाहिरी चमकभन्दा भित्री उज्यालोमा विश्वास गर्नुभयो । उहाँले सम्पत्ति होइन, विश्वास कमाउनुभयो । रवाफ होइन, सम्मान कमाउनुभयो । यही कारण उहाँलाई भेट्ने जो–कोहीले पहिले एउटा असल शिक्षक भेट्थ्यो । 


    समयसँगै उहाँले अनेक राजनीतिक धार र आन्दोलनलाई नजिकबाट देख्नुभयो । पुष्पलालको वैचारिक प्रभाव, वाम आन्दोलन, जनयुद्ध, संविधानसभा, गणतन्त्र । यी सबैसँग समय क्रममा नजिक टाढा रहँदै लेख्दै आउनुभयो । यसो गर्दा कहिले एमाले, कहिले माओवादी, कहिले स्वतन्त्र पत्रकार भन्यो । तर आफूले देखेको सत्य र जनपक्षधरतालाई केन्द्रमा राख्न छाड्नु भएन । उहाँ विचारसँग नजिक भएर पनि विवेक कहिल्यै कसैलाई जिम्मा लगाउनुभएन ।


    प्रेस स्वतन्त्रता सेनानी, उत्कृष्ट पत्रकार, वरिष्ठ पत्रकारलगायतका सम्मानहरू उहाँका लागि नैतिक दायित्वका सार्वजनिक प्रमाण थिए । उहाँले एकपटक लेख्नु भएको थियो– अब दलबन्दीभन्दा माथि उठेर राष्ट्रको विशाल भावमा स्वतन्त्र रूपमा कलम चलाउने इच्छा छ । त्यो इच्छा वास्तवमा उहाँको सम्पूर्ण जीवनयात्राको निष्कर्ष थियो । आज अर्जुन दाइ हामीबिच हुनुहुन्न । तर उहाँले निर्माण गर्नुभएको पत्रकारिताको संस्कार, उहाँले प्रशिक्षित गर्नुभएको पुस्ता, उहाँले लेखेका हजारौँ पृष्ठ, उहाँले बाँड्नुभएको सरलता र उहाँले जोगाएको नैतिक साहस अझै जीवित छन् । 


    अर्जुन दाइले छोड्नुभएको मूल्य, लेखन सीप अझ धेरै वर्ष बाँचिरहनेछ । पत्रकारितालाई पेशा होइन, समाजप्रतिको जिम्मेवारी ठान्ने पुस्ता रहुञ्जेल, उहाँको नाम नेपाली पत्रकारिताको इतिहासमा सम्मानका साथ उच्चारण भइरहनेछ । 
    हार्दिक श्रद्धाञ्जली, अर्जुन दाइ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij