२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वर्षायामा किन डुबानमा पर्दैछ बुटवल ?

वर्षायामा किन डुबानमा पर्दैछ बुटवल ?

केही वर्षअघिसम्म बुटवलमा डुबान हुँदैनथ्यो । अहिले बुटवलको कालिकानगर क्षेत्र डुबानमा पर्न थालेको छ ।

वर्षायामा किन डुबानमा पर्दैछ बुटवल ?

वर्षायामा किन डुबानमा पर्दैछ बुटवल ?

केही वर्षअघिसम्म बुटवलमा डुबान हुँदैनथ्यो । अहिले बुटवलको कालिकानगर क्षेत्र डुबानमा पर्न थालेको छ ।

वर्षायामा किन डुबानमा पर्दैछ बुटवल ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • गंगा पोखरेल
    बर्सातको मौसम सुरु भएसँगै मानिसहरूको दैनिक जीवन पनि वर्षासँगै अघि बढिरहेको हुन्छ । कोही कार्यालयतर्फ हतारिरहेका हुन्छन्, कोही विद्यालय–कलेज, कोही व्यापार–व्यवसायका लागि, त कोही आफ्नो व्यक्तिगत काममा गन्तव्यतर्फ लागिरहेका हुन्छन् । अचानक आकाशमा बादल मडारिन्छ, पानी पर्न थाल्छ । पैदल यात्रुहरू नजिकैको पसल वा चौतारोमा केहीबेर ओत लाग्छन् । केहीले आफूसँग भएको छाता खोल्छन्, केहीले रेनकोट लगाउँछन् । मोटरसाइकल चालकहरूले पनि रेनकोट लगाएर फेरि यात्रा सुरु गर्छन् । वर्षातसँग जुध्ने तयारीको जोहो धेरैजसो मानिसले गरेका हुन्छन् । तर समस्या पानी पर्नु होइन ।


    विडम्बना त त्यतिबेला सुरु हुन्छ, जब पाँच–दस मिनेटको सामान्य वर्षापछि नै बुटवलका सडकमा खोलो बग्न थाल्छ । सडकमा पानीको बहाव यति तीव्र हुन्छ कि सवारी साधन सुरक्षित रूपमा गुडाउन कठिन हुन्छ । पैदल यात्रुहरू बीच बाटोमै अलपत्र पर्छन् । कतै मोटरसाइकल ढल्छ, कतै गाडी पानीमै रोकिएर बस्न बाध्य हुन्छ । केही स्थानमा त सडक  हो कि खोलो बगेको हो भन्ने छुट्याउनै गाह्रो हुन्छ ।


    यो कुनै दुर्गम गाउँ वा अविकसित बस्तीको दृश्य होइन । यो आफूलाई व्यवस्थित, विकसित र आधुनिक सहरका रूपमा चिनाउने बुटवलकै यथार्थ हो ।


    यस्तो किन हुन्छ ?
    वर्षाको पानीको उचित निकास किन हुन सक्दैन ? सडक किन पानी बग्ने माध्यम बन्छ ? प्रत्येक वर्ष दोहोरिने यो समस्या समाधान हुन किन सकिरहेको छैन ? यस्ता प्रश्नहरू हरेक बुटवलवासीको मनमा उठ्नु स्वाभाविक हो । यसका पछाडि धेरै कारण हुन सक्छन् ।


    पहिलो, धेरै ठाउँका ढलहरू साँघुरा छन् । अहिलेको जनसंख्या, सडक विस्तार र वर्षाको पानीको परिमाणअनुसार तिनको क्षमता पर्याप्त छैन । फलस्वरूप, एकैपटक धेरै पानी पर्दा ढलले त्यसलाई धान्न सक्दैन र पानी सडकमै फैलिन थाल्छ ।


    दोस्रो, ढल र नालीमा फोहोर तथा माटो जम्नु अर्को प्रमुख समस्या हो । प्लास्टिकका झोला, बोतल, कागज, बालुवा, माटो, निर्माण सामग्री तथा अन्य फोहोर वर्षभरि बिस्तारै ढलमा जम्मा हुन्छन् । पानी पर्ने बेलासम्म ढलको अधिकांश भाग थुनिइसकेको हुन्छ । त्यसपछि पानीले आफ्नो बाटो खोज्दै सडकलाई नै बहावको माध्यम बनाउँछ ।


    तेस्रो, कतिपय सडकहरूको ढलान वैज्ञानिक ढङ्गले निर्माण गरिएको देखिँदैन । पानी सहज रूपमा नालीतर्फ जानुपर्ने हो, तर सडकको सतह मिलेको नहुँदा पानी सडकमै जम्ने र बग्ने अवस्था सिर्जना हुन्छ ।


    चौथो, अनियोजित शहरीकरण पनि एउटा गम्भीर कारण हो । पहिले पानी जमिनले सोस्ने ठाउँहरू थिए । अहिले ती स्थानमा घर, भवन, पार्किङ र पक्की संरचना बनेका छन् । जमिनले पानी सोस्ने क्षमता घटेपछि सम्पूर्ण वर्षाको पानी सडकतर्फ बग्न थालेको छ ।


    पाँचौँ, प्राकृतिक पानीको बहाव अवरुद्ध हुनु पनि कम जिम्मेवार छैन । पहिलेका कुलो, कुलेसा र प्राकृतिक निकासहरू अतिक्रमण, अव्यवस्थित निर्माण वा बेवास्ताका कारण हराउँदै गएका छन् । जब प्राकृतिक निकास बन्द हुन्छ, पानीले नयाँ बाटो खोज्छ, र त्यो बाटो प्रायः सडक नै बन्न पुग्छ ।


    यी सबै कारण महत्वपूर्ण भए पनि, मेरो विचारमा ढल र नालीमा फोहोर तथा माटो जम्नु नै सबैभन्दा जटिल र तत्काल समाधान गर्न सकिने समस्या हो ।


    हामीले वर्षभरि जथाभावी फाल्ने प्लास्टिकका झोला, बोतल, खानेकुराका खोल, निर्माण सामग्री र अन्य फोहोर अन्ततः कहाँ पुग्छन् ? ती सबै ढल र नालीमै पुगेर थुप्रिन्छन्। त्यसपछि वर्षात सुरु हुनेबित्तिकै पानीले निकास पाउँदैन। परिणाम—सडक नै खोलो बन्छ ।


    यो समस्या केवल स्थानीय सरकारको मात्र होइन, हामी नागरिकको पनि हो । हामीले फोहोर व्यवस्थापनमा जिम्मेवारी देखाएनौँ भने जतिसुकै ठूलो ढल बनाइए पनि त्यो कुनै दिन भरिने निश्चित छ ।
    तर यसको अर्थ स्थानीय सरकारको जिम्मेवारी कम हुन्छ भन्ने होइन ।


    बेलाबेला कुनै विशेष दिवस वा अवसर पारेर सरसफाइ अभियान सञ्चालन गरिन्छ । सडकमा देखिने फोहोर उठाइन्छ ।

    सामाजिक सञ्जालमा तस्बिरहरू पनि सार्वजनिक हुन्छन् । यस्तो अभियान सकारात्मक हो, यसले जनचेतना बढाउँछ । तर एउटा प्रश्न भने मनमा बारम्बार उठिरहन्छ—के सरसफाइ अभियान सडकमा देखिने फोहोर टिपेर मात्र पूरा हुन्छ ?


    त्यही सडकको छेउमा रहेको नाली र ढलको अवस्था कसैले हेरेको छ ? त्यहाँ कति माटो जमेको छ? कति प्लास्टिकले निकास बन्द गरेको छ ? वर्षात सुरु हुनुअघि ती ढलहरूको नियमित सरसफाइ किन प्राथमिकतामा पर्दैन ?


    अब कुरा गरौँ स्थानीय तहको भूमिकाबारे
    बुटवल उप–महानगरपालिकाले प्रत्येक महिनाको १ र १५ गते सरसफाइ अभियान सञ्चालन गर्ने गरेको देखिन्छ । यो राम्रो अभ्यास हो । तर सडकको फोहोर उठाउनु मात्र पर्याप्त होइन। त्यही सडकसँगै रहेका ढल र नालीको नियमित निरीक्षण, सफाइ र मर्मत पनि त्यत्तिकै आवश्यक छ ।


    कहिलेकाहीँ यस्तो लाग्छ-ढल र नाली मेयरसाबको आँखाबाट छुटेका हुन् कि ? कसैले देखाइदिएको छैन कि ? वा देखेर पनि प्राथमिकतामा नपरेका हुन् ? कतै सरसफाइ अभियानको मूल उद्देश्य दीर्घकालीन समाधानभन्दा फोटोसेसन र औपचारिकतामै सीमित त भएको छैन ?


    यी प्रश्नहरू कुनै व्यक्तिविशेषलाई आरोप लगाउनका लागि होइनन् । बरु नागरिकको हैसियतले समाधान खोज्ने प्रयासका रूपमा उठाइएका जिज्ञासा हुन् ।


    यदि वर्षात सुरु हुनुअघि नै बुटवलका सबै मुख्य ढल र नालीहरूको अवस्था अध्ययन गर्ने, आवश्यक स्थानमा माटो र फोहोर हटाउने, अवरुद्ध निकास खुलाउने, साँघुरा ढल विस्तार गर्ने र प्राकृतिक पानीको बहाव सुरक्षित राख्ने कामलाई प्राथमिकता दिने हो भने, अहिले देखिने समस्या धेरै हदसम्म कम हुन सक्छ ।


    यसका साथै नागरिकले पनि आफ्नो जिम्मेवारी विर्सनु हुँदैन । जथाभावी फोहोर फाल्ने बानी त्याग्ने, ढलमा प्लास्टिक वा निर्माण सामग्री नहाल्ने, सामुदायिक सरसफाइमा सहभागी हुने र सम्बन्धित निकायलाई समयमै समस्या जानकारी गराउने संस्कृतिको विकास आवश्यक छ । सहर सफा राख्ने जिम्मेवारी सरकारको मात्र होइन, यहाँ बस्ने प्रत्येक नागरिकको पनि हो । बुटवल विकासको यात्रामा अघि बढिरहेको सहर हो । चौडा सडक, नयाँ संरचना र बढ्दो शहरीकरण विकासका संकेत हुन् । तर विकासको वास्तविक मापन केवल सडकको चौडाइ वा भवनको उचाइले हुँदैन । पाँच मिनेटको वर्षापछि सडक खोलो बन्छ भने त्यो विकासमाथि प्रश्न उठ्ने विषय पनि हो ।


    समस्या देखाएर मात्र होइन, समाधानतर्फ ध्यान दिँदै अघि बढ्न सके बुटवल अझ व्यवस्थित, सुरक्षित र बस्न योग्य सहर बन्न सक्छ । त्यसका लागि स्थानीय सरकार, प्राविधिक निकाय र नागरिक सबैको समान जिम्मेवारी र सक्रियता आवश्यक छ ।
    यो कुनै आरोप होइन् । यो बुटवललाई अझ राम्रो, सुरक्षित र व्यवस्थित बनाउन चाहने एउटा जिम्मेवार नागरिकको जिज्ञासा मात्र हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij