मुलुकको सुरक्षा व्यवस्था खल्वलिएपछि विवादास्पद छविका गृहमन्त्रीको भूमिकामाथि प्रश्न उब्जिएको छ । गृहप्रशासनलाई जिम्मेवार र मर्यादित शैलीमा चलाएर थिति बसाल्नुको साटो चटपटे शैलीले गृहप्रशासन थिलोथिलो भएको भन्दै उनको चर्को आलोचना भएको छ । गंभीरता र जवाफदेहिताको अभाव झल्कने उनको स्वभाव देखिन्छ, यो कार्यशैलीगत समस्या मात्रै नभई उनको संदिग्ध भूमिका पनि छताछुल्ल भएको छ ।
छापामार शैलीमा तराई मधेसका विभिन्न जिल्ला घुमेर आएको साता नबित्दै मधेशमा आगो बल्नुले कतै उनको भूमिकाले काम त गरेको छैन् ? मधेशमा चर्केको हिंसाले तीन जनाको ज्यान गइसकेको छ, सुनसरी, सिरहा, सप्तरी र पर्साका विभिन्न क्षेत्रमा कफ्र्यू लागेको छ । कफ्र्यूको उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रदा सुरक्षा चुनौती बढेको छ । सुरक्षा संवेदशिलता बढ्दै जाँदा उनको कार्यक्षमतामाथि पनि प्रश्न उठेको छ । अरु बेला बेलगाम फिल्डमा देखिने गृहमन्त्री मधेशमा आगो बल्दा मौन रहनु रहस्यमय छ । गृहमन्त्रीको काम विधिमा टेकेर थिति बसाल्ने हो चटपटे शैलीमा सीमा नाकामा डुल्दै हिंड्ने र प्रहरीको हवल्दारलाई आदेश दिँदै हिंड्ने होइन् । हवल्दारलाई आदेश दिने प्रहरीको माथिल्लो हाकिमले हो । प्रहरीलाई व्यवसायिक ढंगले काम गर्ने वातावरण बनाउन सक्दा मात्रै गृहमन्त्रीको सफलता ठहरिन्छ । प्रधानमन्त्रीले प्रिय ठानेर मात्रै हुन्न, गृहमन्त्रीलाई जोगाउने उनको काम र कार्यशैलीले हो । गृहप्रशासन फितलो मात्रै होइन्, भताभुंग भएपछि गृहमन्त्री मात्रै होइन्, सरकार नै असफल हुने जोखिम हुन्छ । प्रधानमन्त्रीले यो परिस्थितिको मूल्याङ्कन गर्नुपर्छ ।
मधेसमा साम्प्रदायिक हिंसा बढ्नु र काठमाडौंमा दलाई लामाको जन्मदिन मनाउन गृहप्रशासनले स्वीकृति दिने विषय सामान्य होइनन् । दलाई लामाको जन्मदिन बनाउन कुन आधारमा गृहप्रशासनले स्वीकृति दियो ? मुलुकको एक चीन नीतिविरुद्धका कार्यक्रमलाई सरकारले किन मलजल गरिरहेको छ ? कुन शक्तिले यस्तो काम गर्न उक्साइरहेको छ ? यो विषयको संवेदनशिलतालाई प्रधानमन्त्रीले पनि हेक्का राखेको पाइएन् । साम्प्रदायिक हिंसालाई राजनैतिक ढंगले समाधानको प्रयत्नमा ढिलाइ हुँदा गृहप्रशासनको भूमिका कमजोर देखिएको छ । गृहमन्त्री गुरूङकै कारण मिडियाको कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ् गरेर आतंकित पार्ने काम भयो । सुकुम्वासी व्यवस्थापनमा सरकार चुकेकै थियो, प्रहरी दमन गरेर आक्रोशित पार्ने काम भयो । अहिले माइतीघर मण्डलामा दिनहुँ प्रर्दशन भइरहेको छ, गृहप्रशासनलाई चुस्त बनाउने समस्या समाधानमा पहलकदमी भइरहेको छैन ।




