बुटवल । नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सफिक उर रहमानले नेपाल र बंगलादेश बीच पर्यटन प्रवद्र्धनका साझा कार्यक्रम आवश्यक रहेको औंल्याएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनी र बुटवलको लुम्बिनी केबलकारको भ्रमणपछि राजदुत रहमानले लुम्बिनी क्षेत्रमा पर्यटन विकासको प्रचूर सम्भावना रहेको बताए ।
नेपाल भ्रमण गर्ने मध्ये चौथो ठूलो संख्या बंगलादेशका पर्यटक रहेको उल्लेख गर्दै रहमानले यो संख्या थप बृद्धि गर्न आफूले पहल गर्ने बताए ।
‘लुम्बिनी र बुद्धसंग जोडिएका ऐतिहासिक सम्पदाहरुसंगै प्राकृतिक हिसाबले रमणीय हिल स्टेशनहरु विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुन्’– राजदुत रहमानले भने–‘दीगो पर्यटनका लागि नेपाल र बंगलादेशबीच दुबै देशको पर्यटन प्रवद्र्धन हुने गरी साझा पर्यटन कार्यक्रम बनाउन सकिन्छ ।’
केबलकारको यात्रापछि राजदूत रहमानले केबलकारमार्फत पर्यटकीय गन्तव्य बनेका नेपालका हिल स्टेशनहरु भारतीय पर्यटकको लागि मुख्य आकर्षण र घुमफिरको रोजाई बन्न सक्ने औंल्याए ।
राजदूत रहमानले बुटवल र सिंगो रुपन्देहीले पुर्वाधार विकासमा तीब्ररुपमा फड्को मारेको उल्लेख गर्दै भविष्यमा यहां पर्यटन,कृषि र साना तथा मझौला व्यवसायको राम्रो सम्भावना रहेको बताए ।
राजदूत रहमानले नेपाल–बङ्गलादेश बीच जनस्तरमा समेत सम्बन्ध विस्तार भइरहेको बताउंदै आफूले लुम्बिनी क्षेत्रको पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताए । राजदूत रहमानलाई लुम्बिनी केलबकारका लगानीकर्ता तेजप्रसाद विक, अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले स्वागत गर्दै केबलकार सञ्चालनको अवस्थाबारे जानकारी गराएका थिए ।





