परासी । नवलपरासी उद्योग वाणिज्य संघको ४०औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई आइतबार औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष ओमप्रकाश अग्रहरीले नवनिर्वाचित अध्यक्ष नगेन्द्र अग्रहरीलाई पद हस्तान्तरण गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। यससँगै नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
पदभार ग्रहणपछि अध्यक्ष नगेन्द्र अग्रहरीले उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण, निजी क्षेत्रको सशक्तीकरण, व्यवसायमैत्री वातावरण निर्माण तथा नवलपरासीको आर्थिक विकासमा संघलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरिने बताए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष सुरकृष्ण बैद्यले पछिल्लो समय सरकारी निकायबाट हुने धरपकडका कारण व्यवसायीहरू त्रसित बनेको बताए। सरकारले हतारमा नीति तथा नियम ल्याउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रसँग समन्वय गरेर मात्र आर्थिक नीति अघि बढाउनुपर्ने धारणा राखे।
बैद्यले देशको आर्थिक अवस्था सुधार र विकासका लागि सरकारले सबै क्षेत्रलाई समेटेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। नवलपरासी औद्योगिक सम्भावना बोकेको जिल्ला भएकाले महेशपुर भन्सारको स्तरोन्नति र सञ्चालन प्रभावकारी बनाउन नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग आवश्यक लबिङ गरिरहेको जानकारी दिए।
उनले व्यवसायीले भोगिरहेका VCTS र MRP सम्बन्धी समस्याको समाधानका लागि सरकारसँग पहल भइरहेको उल्लेख गर्दै युवाहरूलाई दक्षता अभिवृद्धि तालिम प्रदान गरी औद्योगिक करिडोरमा रोजगारी सिर्जना गर्ने योजना रहेको बताए। हाल उद्योग–व्यवसाय धरासायी बन्दै गएको अवस्थामा सरकारले आर्थिक गतिविधि चलायमान बनाउने नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा संघका पूर्वअध्यक्ष, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।




