रोल्पा । "कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन" भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ रोल्पाको गुम्चाल गाउँमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा लुम्बिनी प्रदेशका कृषि मन्त्री तुलसी प्रसाद चौधरीले सम्पूर्ण किसानहरूलाई दोस्रो राष्ट्रिय कोदो दिवसको शुभकामना व्यक्त गर्दै कोदो उत्पादनको संरक्षण, प्रवर्द्धन तथा बजारीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

मन्त्री चौधरीका अनुसार रोल्पाको गुम्चाल गाउँ तथा आसपासका क्षेत्रमा कोदो पूर्ण रूपमा अर्गानिक विधिबाट उत्पादन हुने भएकाले यहाँको कोदो उच्च गुणस्तरको रहेको छ।
उनले उपभोक्ता तथा होटल–रेष्टुरेन्ट व्यवसायीहरूलाई किसानसँग प्रत्यक्ष सम्पर्क गरी स्थानीय अर्गानिक कोदो खरिद गर्न आग्रह गरे।

उनले स्थानीय उत्पादनको प्रवर्द्धनले किसानको आम्दानी वृद्धि हुनुका साथै खाद्य तथा पोषण सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।




