पाल्पा
यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले एक वर्षको अवधिमा २२ करोड १७ लाख ७१ हजार १ सय १० रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२ श्रावणदेखि २०८३ असार मसान्तसम्मको अवधिमा कर्यालयले विभिन्न ९ वटा शीर्षकमा गतवर्षभन्दा २ करोड बढी राजस्व संकलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८१-०८२ मा २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैयाँ राजस्व संकलन गरेकोमा आ. व. २०८२-०८३ मा २ करोड बढी राजस्व संकलन भएको कार्यालयका निमित्त प्रमुख श्रीराम पाण्डेले बताए ।
यातायात सेवा कार्यालय पाल्पाले सवारीसाधन कर वापत १७ करोड २९ लाख ८ हजार ५ सय ३५ रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट १ लाख २७ हजार, सवारी नविकरण वापत १ करोड १२ लाख ८३ हजार ४ सय ५० रुपैयाँ, सवारीचालक अनुमति पत्र शुल्क वापत २ करोड ८७ लाख ९९ हजार रुपैयाँ, यातायात क्षेत्रको आम्दानी वापत २६ लाख ६८ हजार ३ सय रुपैयाँ, आयकर वापत ५९ लाख ८४ हजार ८ सय २५ रुपैयाँ गरी २२ करोड १७ लाख ७१ हजार १ सय १० रुपैयाँ राजस्व संकलन भएको निमित्त प्रमुख पाण्डेले जनाए ।
सेवा कार्यालयबाट ३५ हजार १ सय ४६ वटा निजी तथा सरकारी सवारी साधन नवीकरण भएका छन् भने १ हजार ५ सय ७१ वटा सवारी साधनबाट स्थायी बाटो इजाजतपत्र रुट नविकरण भएको छ । १ हजार ३ सय ६२ वटा सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, ५ हजार सवारी साधनले, अस्थायी बाटो इजाजतपत्र पटके सेवा लिएका छन् ।
कार्यालयबाट ७ हजार ७ सय ७३ जनाले नयाँ सवारी चालक अनुमति पत्रको लागि दर्ता गरेका छन् जसमा लिखित परीक्षामा ६ हजार ३ सय ९८ जना पास भएका छन् । कार्यालयले एक वर्षको अवधिमा ५ हजार ५ सय ४१ वटा नयाँ सवारीचालक अनुमतिपत्र जारी गरेको छ । ट्रायल परीक्षामा ११ हजार ३ सय ७ जना सहभागी भएकोमा ५ हजार ८१ जना पास भएको र ३ हजार ६ सय १० जनाले पुन रि ट्रायल परीक्षा दिएको कार्यालयले जनाएको छ । चालक अनुमतिपत्रका सवारी साधनको वर्ग थपको लागि १ हजार ५ सय ६२ जनाले आवेदन दिएको, ६ सय ४९ जनाको वर्ग थप भएको छ । कार्यालयबाट सवारी चालक अनुमतिपत्र नविकरण ४ हजार ५ सय ५१ जनाबाट भएको, प्रतिलिपि ४ जनाले लिएका छन् । यसैगरी कार्यालयले एक वर्षको अवधिमा ११४ वटा लिखित परीक्षा लिएकोमा ३४ वटा ट्रायल परीक्षा लिएको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।
यातायात सेवा कार्यालय पाल्पाबाट दुई पाङ्ग्रेमा स्कुटर, मोटरसाइकल, चार पाङ्ग्रेमा जीप, कार भ्यान चालक अनुमतिपत्र प्रदान, सबै कसिमका सवारीसाधन, चालक अनुमतिपत्र नविकरण, स्थायी अस्थायी रुट प्रदानलगायतका प्रदान हुँदै आएका छन् ।




