२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चन्द्रकोटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा समग्र विकासको प्रयास

चन्द्रकोटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा समग्र विकासको प्रयास

चन्द्रकोटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा समग्र विकासको प्रयास

चन्द्रकोटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा समग्र विकासको प्रयास

चन्द्रकोटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा समग्र विकासको प्रयास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३

  • गुल्मी
    चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३-०८४ का लागि ल्याएको बजेटलाई समग्रमा हेर्दा शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पूर्वाधार, कृषि, रोजगार, उद्यमशीलता तथा स्थानीय अर्थतन्त्रलाई जोड्ने प्रयास गरेको छ ।
    कुल रु. ५७ करोड ४५ लाखको बजेटमा चालुतर्फ रु. ४४ करोड ७१ लाख ७० हजार र पुँजीगततर्फ रु. १२ करोड ७३ लाख ३० हजार विनियोजन गरिएको छ ।


    बजेटको महत्वपूर्ण पक्ष शिक्षा क्षेत्रलाई दिइएको प्राथमिकता हो । गुणस्तरीय शिक्षा अभिवृद्धि, शैक्षिक पूर्वाधार निर्माण तथा सुधार कार्यक्रमका लागि रु. १ करोड १९ लाख, साझेदारीमा विद्यालय पूर्वाधार विकासका लागि रु. ३० लाख तथा ‘सबैका लागि शिक्षा’ अन्तर्गत रु. १४ करोड ९७ लाख विनियोजन गरिएको छ ।


    विद्यालय भवन मात्र बनाउनेभन्दा शिक्षा सुधार र गुणस्तर अभिवृद्धिलाई समेत बजेटले सम्बोधन गर्न खोज्नु सकारात्मक पक्ष हो ।
    स्वास्थ्य क्षेत्रमा बजेटले निकै फराकिलो दायरा समेटेको छ । चन्द्रकोट आधारभूत अस्पताललाई २४ घण्टे सेवा, मेडिकल अधिकृतसहित सञ्चालन गर्ने, थप रु. ८५ लाख संघीय सशर्त बजेट ल्याउने, रु. १८ लाखमा सुविधासम्पन्न एम्बुलेन्स खरिद गर्ने तथा स्वास्थ्य बीमाको प्रथम बिन्दुका रूपमा अस्पताललाई स्थापित गर्ने योजना उल्लेखनीय छन् ।


    त्यसैगरी वृहत् स्वास्थ्य शिविर, वडा तहमा एकीकृत स्वास्थ्य शिविर, गर्भवती महिलाका लागि भिडियो एक्सरे, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा, निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया, विपन्न तथा दीर्घरोगीका लागि उपचार सहयोगलगायत कार्यक्रमले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा पु¥याउने सोच देखाउँछन् । समग्र स्वास्थ्य सेवाका लागि रु. ४ करोड ७९ लाख ३१ हजार विनियोजन हुनु पनि यस क्षेत्रलाई दिइएको प्राथमिकताको स्पष्ट संकेत हो ।


    त्यस्तैगरी  शान्तिपुर बजारदेखि  चन्द्रकोट  आधारभूत अस्पताल र  प्रशानिक  भवन  जोड्ने पहुँच मार्ग  स्तरवृद्धिका लागि  यसै वर्ष  त्यस पालिका संघ  सरकार बाट  सवा  दुई करोड बजेट  स्वीकृत गराउन  सफल  भएको  छ  र  यश बर्ष  ७० लाखको काम हुँदैछ  । यो  अर्को  उपलब्धि हो  । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण चालिसे शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको बताउँछन् । उनी भन्छन्–“शिक्षा र स्वास्थ्यमा हामीले अलि बढी नै जोड दिएका छौँ ।”


    महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायलाई बजेटले समेटेको छ ।
    महिला सशक्तीकरण, जीविकोपार्जन सुधार, बालमैत्री वडा घोषणा, बालविवाह न्यूनीकरण, जातीय विभेद तथा छुवाछुतविरुद्धका कार्यक्रम, अपाङ्गता सहायता तथा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य र तीर्थाटन कार्यक्रमले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको देखिन्छ ।


    यी कार्यक्रमअन्तर्गत संघीय, प्रदेश र पालिका तहबाट गरी रु. ५० लाख ४७ हजार विनियोजन गरिएको छ ।
    पूर्वाधार चन्द्रकोटको बजेटको अर्को ठूलो प्राथमिकता हो । गाउँपालिकास्तरीय पूर्वाधार विकासका लागि रु. १ करोड, आठवटै वडाको समग्र पूर्वाधार तथा अन्य विकासका लागि रु. ५ करोड ३९ लाख विनियोजन गरिएको छ ।
    विभिन्न सडकखण्ड स्तरोन्नति तथा ढलान, वडा भवन निर्माण, विद्यालय भवन, सभाहल, मन्दिर तथा खानेपानी योजनामा समेत बजेट छुट्याइएको छ ।


    विशेषगरी शान्तिपुर बजारदेखि चन्द्रकोट आधारभूत अस्पताल तथा प्रशासनिक भवन जोड्ने पहुँचमार्गका लागि रु. ७० लाख र खहरे–ध्वादी–भीरखानी सडक स्तरोन्नतिका लागि कुल रु. १ करोड ५० लाखको व्यवस्था हुनु स्थानीय आवागमन र सेवा पहुँचका दृष्टिले महत्वपूर्ण देखिन्छ ।


    गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीका अनुसार गाउँपालिकाले जिम्मेवारी सम्हालेदेखि भौतिक पूर्वाधारतर्फका अधुरा कामलाई प्राथमिकताका साथ पूरा गर्दै आएको छ । उनी भन्छन्–“हामीले जनताको समृद्धिसँग विकास जोड्दै आएका छौँ ।”
    अध्यक्ष क्षेत्रीका अनुसार सामाजिक न्याय, विभेदको अन्त्य, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको छ । चन्द्रकोट आधारभूत अस्पतालको स्थापना पनि यही कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा उनले उल्लेख गरेका छन्। धार्मिक तथा पर्यटन विकासमा समेत राम्रो प्रगति भएको उनको दाबी छ ।


    चन्द्रकोटको बजेटमा कृषि तथा उद्यमशीलतालाई उत्पादन र बजारसँग जोड्ने केही महत्वपूर्ण कार्यक्रम समेटिएका छन् ।
    संकलन केन्द्र तथा हाटबजार सञ्चालनका लागि रु. ५ लाख विनियोजन गरिएको छ । यसले स्थानीय किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पु¥याउन र स्थानीय बजारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
    त्यस्तै दूध, मासु तथा फलफूल उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको छ । उत्पादनमा आधारित प्रोत्साहनले अनुदानलाई केवल वितरणमुखी नभई वास्तविक उत्पादन र किसानको मेहनतसँग जोड्ने सकारात्मक अभ्यासका रूपमा लिन सकिन्छ ।


    वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्थानीय उद्यममा जोड्ने उद्देश्यले उद्यममा साझेदारीका लागि रु. ८ लाख विनियोजन गरिएको छ। विदेशबाट फर्किएको सीप, अनुभव र पुँजीलाई गाउँमै उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकियो भने यसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छ ।


    त्यसैगरी वित्तीय संस्थासँगको सहकार्यमा उद्यमीलाई उपलब्ध गराइने कर्जाको ब्याज अनुदानका लागि रु. ५ लाख छुट्याइनु पनि उत्साहजनक पक्ष हो । पूँजीको अभावमा व्यवसाय सुरु गर्न वा विस्तार गर्न नसकिरहेका स्थानीय उद्यमीका लागि यस्तो कार्यक्रमले वित्तीय पहुँच सहज बनाउन सक्छ ।


    प्रमुख प्रशासकीय अधिकृत चालिसेका अनुसार कृषि तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आयात घटाउने र निर्यात बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ । उत्पादन, बजार र उद्यमशीलतालाई एउटै चक्रमा जोड्न सकिएमा स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा यसले महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।


    यसरी हेर्दा चन्द्रकोटको बजेटले कृषि उत्पादनदेखि बजारसम्म, वैदेशिक रोजगारीबाट फर्किएका युवादेखि स्थानीय उद्यमीसम्मलाई एउटै आर्थिक चक्रमा जोड्ने प्रयास गरेको देखिन्छ । चन्द्रकोट धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनका दृष्टिले पनि सम्भावनायुक्त क्षेत्र हो। बजेटमा धार्मिक तथा सांस्कृतिक गतिविधि, मेला–पर्व तथा स्थानीय पहिचान संरक्षणका कार्यक्रम समेटिएका छन् ।


    यद्यपि पर्यटनलाई अझ प्रभावकारी आर्थिक गतिविधिका रूपमा विकास गर्न पर्यटन पूर्वाधार, प्रचार–प्रसार, स्थानीय उत्पादनसँगको जोड तथा होमस्टे र रोजगारी सिर्जनामा आगामी दिनमा थप स्पष्ट कार्यक्रम र लगानी आवश्यक देखिन्छ ।
    समग्रमा चन्द्रकोटको बजेटलाई हेर्दा ‘सडक र भवन निर्माण मात्र विकास होइन, नागरिकको स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र सेवा प्रवाह पनि विकास हो’ भन्ने दृष्टिकोण देखिन्छ ।


    अस्पताललाई सुदृढ बनाउने, स्वास्थ्य सेवालाई घरदैलोसम्म पु¥याउने, विद्यालयको पूर्वाधार र गुणस्तरमा लगानी गर्ने, महिला तथा लक्षित वर्गको क्षमता विकास गर्ने, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई सहयोग गर्ने तथा सडक, खानेपानी र सार्वजनिक संरचनामा लगानी गर्ने विषय सकारात्मक छन् ।


    त्यसमा पनि कृषि उत्पादन, हाटबजार, उत्पादनमा आधारित अनुदान, वैदेशिक रोजगारीबाट फर्किएका युवाको उद्यममा साझेदारी तथा उद्यमीलाई ब्याज अनुदानजस्ता कार्यक्रमले बजेटलाई सामाजिक क्षेत्रबाट उत्पादन र रोजगारीतर्फ समेत जोड्ने प्रयास गरेको देखिन्छ ।


    अर्कोतर्फ, रु. ५७ करोड ४५ लाखको बजेटमध्ये करिब ७७.८४ प्रतिशत चालुतर्फ र २२.१६ प्रतिशत पुँजीगततर्फ रहेको अवस्थामा पुँजीगत खर्चको हिस्सा बढाउँदै उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी विस्तार गर्नु आगामी दिनको महत्वपूर्ण चुनौती हुनेछ ।


    बजेट प्रस्तुत गरेका गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले यसलाई आफ्नो कार्यकालको अन्तिम बजेटका रूपमा अथ्र्याएका छन् ।


    उनी भन्छन्–“यो बजेट हाम्रो अन्तिम हो । यसर्थ पनि समग्रमा गर्व गर्न लायक बजेट पेश गरेका छौँ भन्ने हामीलाई लागेको छ ।”
    उपाध्यक्ष भण्डारीको भनाइमा बजेटले यस कार्यकालमा अघि बढाइएका शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास तथा उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रयास गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij