बुटवल । रोटरी डिस्ट्रिक्ट ३२९२ को ‘एक लाख बिरुवा रोपण अभियान’ अन्तर्गत रोटरी क्लब अफ बुटवल साउथको आयोजना तथा रोटर्याक्ट क्लब अफ बुटवल साउथ र रोटर्याक्ट क्लब अफ तिनाउ सिटीको सहकार्यमा शुद्धोधन गाउँपालिकाका दुई स्थानमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
शुद्धोधन गाउँपालिका–५ स्थित दरबाहा भगवती मन्दिर परिसर र वडा नं. ७ मटेरियास्थित जनता माध्यमिक विद्यालय परिसरमा टिक तथा विभिन्न फलफूल प्रजातिका करिब २५० बिरुवा रोपिएको हो। अभियानको उद्देश्य वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा भावी पुस्ताका लागि हरित वातावरण निर्माण गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले पालिकाले तीनवटा पुराना तालको संरक्षण तथा पार्क व्यवस्थापनको योजना अघि बढाएको उल्लेख गर्दै ती क्षेत्रमा समेत विभिन्न संघसंस्थालाई वृक्षारोपण अभियान सञ्चालन गर्न आग्रह गरे।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष चन्द्रभान चौधरी, दरबाहा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बुढाथोकी, रोटरी तथा रोटर्याक्टका पदाधिकारी, स्थानीयवासी र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा रोटर्याक्ट क्लब अफ बुटवल साउथकी अध्यक्ष रोशनी भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने रोटरी क्लब अफ बुटवल साउथका चार्टर प्रेसिडेन्ट रामचन्द्र आचार्यले वातावरण संरक्षणमा रोटरीको योगदानबारे प्रकाश पारे।
रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष नित्यानन्द ज्ञवालीले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गरे। सचिव ज्ञानेन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा सह–संयोजक सुदीप पौडेल तथा रोटर्याक्ट क्लब अफ तिनाउ सिटीका अध्यक्ष आयुष सुबेदीले पनि मन्तव्य राखेका थिए।
अभियानमा ३८ जना रोटेरियन र ४२ जना रोटर्याक्टरसहित ८० भन्दा बढीको सहभागिता रहेको थियो। वृक्षारोपणसँगै वातावरण संरक्षण, समुदाय सेवा र दिगो विकासप्रति सबैलाई जिम्मेवार बनाउने सन्देश समेत प्रवाह गरिएको आयोजकले जनाएको छ।




