बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ललितकला विषय अध्ययनरत विद्यार्थीलाई लक्षित गरी एसेम्बल कला कार्यशाला सम्पन्न भएको छ ।
कार्यशाला साउन ११ गते शुरु भइ साउन १९ गते सम्पन्न भएको हो । खेर गएका सामग्रीबाट कलात्मक सामग्री बनाउन सिकाउन कार्यशाला आयोजना गरेको शिक्षक सुमित्रा रानाले जानकारी दिइन् । कार्यशालामा १० समूह विभाजना गरी एक समूहमा तीनजनाले कलात्मक सामग्री बनाएका थिए । यो कार्यशालामा डोलबहादुर आले, ऋचा श्रेष्ठ र डोलकुमारी थापाको समूह प्रथम, चन्द्रबहादुर खडका, मिरा थापा र पूर्णिमा ओलीको समूह दोश्रो र विजया खराल, विकास पुन र नविना पौडेलको समूह तेस्रो भएको थियो । कार्यशालामा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक भुवन थापाले सहजीकरण गरेका थिए ।
कार्यशाला समापनमा बोल्दै विद्यालयका प्रधानाध्यापक पिताम्बर बञ्जाडेले खेर गएका सामग्रीबाट कलात्मक सामग्री बनाएर विद्यार्थीले रचनात्मक काम गरेको भन्दै प्रशंसा गरे । उनले फोहरलाई मोहरमा बदल्न सकिने संभावना यो कार्यशालाले दिएको बताए । पूर्व प्रधानाध्यापक दिनेश थापाले ललितकला कार्यशालाले विद्यार्थीको प्रतिभा बाहिर ल्याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै विद्यार्थीको श्रृजनशिल काम महत्वपूर्ण रहेको बताए । काठमाडौ विश्वविद्यालयका सहप्राध्यापक भुवन थापाले कालिका मानवज्ञान माध्यमिक विद्यालयले ललितकला विषय पठनपाठन गराएर सकारात्मक पहलकदमी लिएको बताए । कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षा,मानविकी र कानुनका इञ्चार्ज विमल आत्रेयले कार्यशालाबाट विद्यार्थीले खेर गएको सामग्रीबाट कलात्मक सामग्री बनाउन सिकेको र यस्ता कार्यले फोहर व्यवस्थापनमा सघाउ पुग्ने बताए ।
कार्यक्रममा साहित्यकार दलबहादुर गुरूङ, अभिभावक गीता रानी बलाल, विद्यार्थीहरु राजु खडा, चन्द्रबहादुर खडका र नविना पौडेलले कार्यशाला महत्वपूर्ण सिकाई भएको बताए । समापन कार्यक्रमको अध्यक्षता विद्यार्थी रिया धमाल र सञ्चालन विजया खरालले गरेका थिए ।




