गुल्मी । गुल्मीमा केही दिनको अन्तरालमै बेवारिसे अवस्थामा हतियार फेला पर्न थालेपछि यस्ता हतियार कहाँबाट आउँदैछन् भन्ने प्रश्न उठेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारस्थित मुसीडाँडामा प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद, छर्रा र क्याप फेला पारेको हो ।
प्रहरी चौकी रुरु गुल्मीबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर विकको कमाण्डमा खटिएको तीन सदस्यीय गस्ती टोलीले बुधबार दिउँसो करिब २ः४५ बजे पानीटंकी नजिकै बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साबुत अवस्थाको भरुवा बन्दुक एक थान, करिब १५० ग्राम बारुद, १२ थान छर्रा र १२ थान क्याप फेला परेको हो । बरामद हतियार तथा सामग्रीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी रुरुमा ल्याई राखिएको छ ।
हतियार कसले त्यहाँ राखेको हो ? कहिलेदेखि त्यहाँ थियो ? कुनै आपराधिक गतिविधिमा प्रयोग भएको थियो कि थिएन ? भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनास्थल प्रहरी चौकी रुरुबाट करिब चार किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।
तर प्रश्न उठ्छ-गुल्मीमा बेवारिसे हतियार किन भेटिँदैछन् ?
गुल्मीमा पछिल्लो समय बेवारिसे अवस्थामा हतियार भेटिन थालेपछि यसलाई सामान्य घटनाका रूपमा मात्रै लिन मिल्ने कि यसको पछाडिको कारण पनि खोजिनुपर्ने हो भन्ने प्रश्न उठेको छ ।
एकातिर प्रहरीले गैरकानुनी रूपमा राखिएका हतियारमाथि निगरानी बढाएको बताइरहेको छ भने अर्कोतर्फ सार्वजनिक स्थान आसपासमै हतियार भेटिनुले जिल्लामा अझै पनि लुकाइएका वा प्रयोगमा रहेका गैरकानुनी हतियारको अवस्था के छ ? भन्ने प्रश्न जन्माएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भीमकिरण बोगटी भने गैरकानुनी रूपमा राखिएका हतियारमाथि प्रहरीले निरन्तर निगरानी गरिरहेको बताउँछन् ।
“गैरकानुनी रूपमा राखिएका हतियारमाथि हाम्रो जहिले पनि नजर पर्छ । अस्ति तम्घास नजिकै छाडीमा छोटो नालको हतियार फेला पा¥यौँ । पेट्रोलिङका क्रममा बलेटक्सारमा भेटिएको छ । हामी निरन्तर निगरानीमा छौँ ।”–उनले भने ।
यसअघि फेला परेको हतियार र अहिले बरामद भएको भरुवा बन्दुकबिच कुनै सम्बन्ध छ कि छैन भन्ने विषय पनि अनुसन्धानको एउटा पाटो हुन सक्छ । यद्यपि, यसको पुष्टि अनुसन्धानबाट मात्रै हुने भएकाले अहिले नै कुनै निष्कर्ष निकाल्न सकिँदैन ।
स्मरण रहोस्, गुल्मी प्रहरीले केही दिनअघि मात्रै तम्घास नजिकै छाडी क्षेत्रमा छोटो नालको घरेलु रिभल्वरसमेत फेला पारेको थियो । छोटो अवधिमै फरक–फरक प्रकारका हतियार बेवारिसे अवस्थामा भेटिन थालेपछि ती हतियार कहाँबाट आए र किन बेवारिसे अवस्थामा छाडिए भन्ने विषय थप चासोको विषय बनेको छ ।




