कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै किसानको आर्थिक भार कम गर्न सुरु गरेको ‘गाई–भैँसी सुत्केरी स्याहार तथा पोषण सुधार प्रोत्साहन कार्यक्रम’ स्थानीय तहकै एक नमुना कार्यक्रमका रूपमा स्थापित हुँदैगएको छ ।
आर्थिक वर्ष २०८१-०८२ देखि सञ्चालनमा ल्याइएको यस कार्यक्रमअन्तर्गत गाउँपालिकाले आफ्नो क्षेत्रमा गाई वा भैँसी सुत्केरी हुँदा प्रति पशु ४ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ ।
देशभरका ७५२ स्थानीय तहभन्दा फरक र किसानमुखी अवधारणासहित सुरु गरिएको यो कार्यक्रमले दुई वर्षमै उल्लेखनीय सफलता हासिल गरेको छ ।
पशु सेवा शाखाका सहायक पशु विकास अधिकृत नेत्र प्रसाद अधिकारीले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१-०८२ मा ५५१ वटा तथा २०८२-०८३ मा ६१३ वटा गरी जम्मा १ हजार १ सय ६४ गाई–भैँसी सुत्केरी भएका छन् ।
यसबापत गाउँपालिकाले किसानलाई ४६ लाख ५४ हजार रुपैयाँ सुत्केरी स्याहार तथा पोषण सुधारमा प्रोत्साहन भत्ता वितरण गरेको कञ्चन गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जानकारी दिए ।
सीमित आन्तरिक आयस्रोत भएको गाउँपालिकाले आफ्नै स्रोतबाट किसानको हितमा यति ठूलो रकम विनियोजन गर्नु स्थानीय सरकारको कृषि तथा पशुपालनप्रतिको प्रतिबद्धताको उदाहरण मानिएको छ ।
कञ्चन गाउँपालिकाले यस कार्यक्रमबाट प्रोत्साहन रकम प्राप्त गर्न पशु बिमा अनिवार्य गरेको छ । पशु सेवा शाखाका सहायक पशु विकास अधिकृत अधिकारीका अनुसार यो कार्यक्रम पहुँचका आधारमा नभई वास्तविक पशुपालक किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी सञ्चालन गरिएको किसानमैत्री योजना हो ।
अधिकारीका अनुसार गाउँपालिकाका सामान्य किसानले समेत सहज रूपमा लाभ लिन सक्ने भएकाले कार्यक्रम प्रभावकारी बन्दै गएको छ । करिब ५० हजार जनसंख्या रहेको कञ्चन गाउँपालिकामा करिब ९० प्रतिशत परिवार कृषि पेशामा निर्भर छन् ।
गाउँपालिकाको वार्षिक आन्तरिक राजस्व करिब सवा २ करोड रुपैयाँ मात्रै रहे पनि कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
सिँचाइ विस्तारका प्रयास भइरहे पनि हालसम्म करिब ८० प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीमा निर्भर रहेको अवस्था छ । त्यसैले कृषि उत्पादनसँगै पशुपालनलाई सुदृढ बनाउने उद्देश्यले गाउँपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताए ।
कार्यक्रमको प्रभावकारिता र किसानको उत्साहलाई मध्यनजर गर्दै गाउँपालिकाले आर्थिक वर्ष २०८३-०८४ का लागि २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २५ लाख रुपैयाँ छुट्याइएको थियो भने आर्थिक वर्ष २०८१-०८२ मा विनियोजित ३० लाख रुपैयाँमध्ये २२ लाख रुपैयाँ खर्च भएको लेखा अधिकृत गैरेले जानकारी दिए ।




