बुटवल । बुटवल उपमहानगरपालिका–२ स्थित श्री शिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रममा सरसफाइ तथा भोजन वितरण कार्यक्रम सम्पन्न भएको छ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवकहरूको समूह ASEZ WAO को आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा बुटवल–२ का वडा अध्यक्ष सुनिल शाक्यको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत वृद्धाश्रम परिसरको सरसफाइ गर्नुका साथै त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूलाई भोजन वितरण गरिएको थियो। स्वयंसेवकहरूले ज्येष्ठ नागरिकहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्था र कुशलक्षेमबारे समेत जानकारी लिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शाक्यले ASEZ WAO ले वातावरण संरक्षण, सरसफाइ, जनचेतना अभिवृद्धि, वृद्धाश्रम सेवा लगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्दै आएका गतिविधिहरू प्रशंसनीय रहेको बताउनुभयो। उहाँले समाज रूपान्तरणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक अभियानमा वडा कार्यालयबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजकका अनुसार ज्येष्ठ नागरिकप्रति सम्मान, सेवा र आत्मीयता अभिव्यक्त गर्नुका साथै समाजमा स्वयंसेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सहभागीहरूले आगामी दिनमा पनि समुदायको हितमा यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।




