२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जनउत्तरदायी पत्रकारिताका अगुवा

जनउत्तरदायी पत्रकारिताका अगुवा

जनउत्तरदायी पत्रकारिताका अगुवा

जनउत्तरदायी पत्रकारिताका अगुवा

जनउत्तरदायी पत्रकारिताका अगुवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • रामप्रसाद आचार्य
    २०५३ सालमा बटौली झरे पनि सानैमा अलिअलि पत्रिका पढ्ने रूचि राख्ने भएकाले क्याम्पस र वरिपरिका पुस्तक पसलमा बसेर बुटवल तथा काठमाडौंका पत्रिका फेरो मारेर पढिन्थ्यो । काठमाडौंका धेरै साप्ताहिक र बुटवलका लुम्बिनी, जनसंघर्ष, नयाँ दिशा, देउराली पत्रिका क्याम्पस आसपास अलिक बढी हेर्न पाइन्थ्यो । अलिकति विद्यार्थी राजनीतिमा पनि झुकाव, विज्ञान पढ्ने भए पनि सानैबाट मेरा श्रद्धेय गुरु तथा दाइ ऋषि आजादले नेपालीमा बढाइदिएको लगावले साहित्यसँगै विचार जोडिएका लेखहरूमा बढी रूची हुने गर्दथ्यो । क्याम्पस प्रवेशसँगै आफ्नो बसाईको पनि खर्च गर्नुपर्ने भएकाले वैकल्पिक पेशा खोज्दै पढ्नुपर्ने थियो । केही होमट्यूसन, सहायक जागिरसँगै पत्रकारितामा रूचि बढ्दै गयो । त्यो बेलादेखि नै श्रद्धेय अर्जुन ज्ञवालीको नाममा आउने लेखहरू बढी पढ्ने गर्दथे । जनसंघर्षमा बालकृष्ण चापागाईं, डिआर घिमिरेसहितका अग्रजहरू जोडिनुभएको थियो भने लुम्बिनीमा मोहन चापागाईं, दीपक ज्ञवाली, नयाँदिशामा सुमन अधिकारीसहितका अग्रजहरूको अनुहार बढी देखेको थिएँ । अर्जुन दाइका लेख पहिले बढी जनसंघर्ष र लुम्बिनीमा प्रकाशन हुन्थे । ०५५ तिर डिआर घिमिरे सर अध्यक्ष रहेको प्रेस एकेडेमीले आधारभूत पत्रकारिता तालिम खोल्यो त्यही तालिममा अर्जुन दाइलाई बढी चिन्ने मौका पाएँ । पछि रेडियो लुम्बिनीमा त भेट्न नै धेरैपटक गइयो, प्रेस इन्टिच्यूटको तालिममा पनि उहाँले फिचर लेखन र अन्तर्वार्ताको शैली सिकाउनुभयो । बीपीसँग आफूले गर्नुपरेको  कुराकानीको संकटबाट उहाँले सिकाउनुहुन्थ्यो । त्यसपछि दैनिक पत्रिकामा लुम्बिनी, मेचीकाली, जनसंघर्ष, दैनिक पत्रमा काम गर्दा उहाँसँग बढी सिक्ने मौका पाइयो । छोटो, सटिक र विषयवस्तु केन्द्रित उहाँको लेखाइमा भएका शब्द संयोजनले मसहित धेरैको ध्यान केन्द्रित भएको हुनुपर्छ । 


    पहिले अर्जु सर नै भन्थँे, तर जतिबेला पनि भेटेपछि, फोनमा ए भाइ भन्ने अनि मैले सर भनिरहने । तर एकदिन हामी दुवै अर्घाखाँचीको, म बुढो पत्रकार तिमी तन्नेरी, अब मलाई दाइ भन है, उमेरले त बा नै हुँ पेशाले दाइ भन है म भाइ नै भन्छु भन्नुभयो । त्यसयता दाइ नै भन्न थालियो । पत्रकारितामा धेरैले उहाँलाई दाइ नै भनेको यसैगरी होला भन्ने लागेको छ । मेरो बुवाभन्दा उमेर जेठो, बुवालाई गुमाएको १२ वर्ष भइसक्यो, त्यतिबेला दाइले मलाई सान्त्वना दिँदै भन्नुहुन्थ्यो–‘बुवा अलिक छिटो जानुभयो, बाटो सबैको त्यही हो, चिन्ता नगर, जन्मदिने बुवा नभए पनि कर्म दिने बुवाहरू धेरै छम्, यो प्रकृतिको नियम हो ।’
    दाइसँग यसैगरी दिनहरू बितिरहेका थिए । ७ वर्षयता म बिरामी परेँ, त्यसयता मैलेभन्दा धेरै दाइले नै कल गर्नुभएको हुन्थ्यो केही दिन बिराएर, फोन नउठाएसम्म गरेको गरी । पहिलो वाक्य नै  ए भाइ... केही भयो र फोन उठेन नि । हुन्थ्यो । लेखनीमा चासो भइरहने, तर पछिल्लो समय प्रविधिले समस्या पार्ने भएकाले मोबाइलमा रेकर्ड गरेर पठाएर पनि धेरै आलेख शब्दमा उतारेको रहेछु धेरैपटक । पछिल्लो समय जेठ महिनामा दैनिक पत्रको मिडियासम्बन्धी विशेषाङ्कमा उहाँको स्टोरी लेख्नुपर्ने भयो, त्यो उहाँले यसैगरी मोबाइलमा भ्वाइस रेकर्ड गरेर पठाउनुभयो, मैले शब्दमा उतारेर प्रकाशन गरेको थिए ।

    त्यो स्टोरीका रूपमा मैले नेपाल प्रेसमा पनि लेख्ने तयारी गरे पनि उहाँलाई भनेको थिएन । र प्रकाशन पनि भयो । यो विशेषाङ्कमा मैले पाल्पाका मेघराज शर्मा, दाङका नारायण गुरु र तपाईंको अनि कपिलवस्तुका नारायण पौडेलको आलेख राख्न खोजेको भनेपछि निकै खुसी हुनुभयो । तर त्यो बेला पाल्पा मेघराज दाइ बिरामी हुनुहुन्थ्यो, लेख्न सक्दिन भन्नुभएको थियो, अर्जुन दाइले नै मेघराज दाइको भिनाजुमार्फत् फोनमा कुरा गराएर आलेख तयार गरेँ । पछि मेघराज दाइ निकै खुसी हुनुभयो । नारायण गुरुले पनि लेख्न ढिलाइ गर्नुभएको थियो, तर अर्जुन दाइ आफैँले दुवै जनालाई फोन गरेर रामप्रसादले दिएको सामग्री जसरी पनि तयार गरिदिन भनेपछि उहाँको सामग्री आयो र छापियो पनि । अर्जुन दाइ केही अस्वस्थ भएर काठमाडौं बसेको कुरा मदन पौडेल दाइले सुनाउनुभयो । मोबाइल लगातार अफ थियो । घरमा अरूको नम्बर थिएन । राष्ट्रिय मिडिया सम्मेलनमा असार २१ मा काठमाडौं गएको बेला उहाँलाई भेट्न पुग्दा निकै खुसी हुनुभयो, तर उहाँको शरीर गलेको र उहाँले कमजोरीपन देखाएको प्रस्तुतिबाट झल्कन्थ्यो । हामी बिदा भएर हिंड्नेबेला दाइ भक्कानिएपछि भने भित्रभित्र मन चिसो भयो । त्यो बेला नै दाइको बोली प्रष्ट थिएन । इशारामा बोल्नुभएको थियो । पछि सुधार भएपछि एकदिन उहाँ आफैँ कल गरेर छोटो कुरा भए । केही दिनमा शंकरनगर आउँछु भन्नुभएको थियो, तर त्यो बोली नै दाइसँगको अन्तिम भयो । घटनाको दिन राती साढे १० बजे मोहन चापागार्इं सरले फोन गर्नुभयो । सधैँजसो ११ बजे सुत्ने त्यो दिन छिट्टै निदाएको रहेछु, मोहन सरले भनेको कुरा सपना कि बिपना धेरै बेर छटपटि भयो । केही लेख्ने हिम्मत पनि आएन । नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेलाई थप सोधे उहाँसँग पनि जानकारी रहेनछ । समाचार बनाएँ, कतै सपना होकि जस्तो लायो, अनि काठमाडौं भएका मित्र भरत केसीलाई सोधें, दीपक दाइलाई सोधें, तर पनि विश्वास सपना हो कि विपना भन्ने मै रहिरह्यो । अर्को दिन बिहान मात्रै समाचार र सञ्जालमा लेख्न सकियो । 


    अर्जुन ज्ञवालीलाई सम्झँदा केवल एउटा व्यक्तिको अनुहार मात्र आँखाअघि आउँदैन, एउटा युग स्मृतिमा जीवित भएर उभिन्छ । पत्रकारितालाई जागिर होइन, जीवनको साधना मान्ने पुस्ताका प्रतिनिधि हुनुहुन्थ्यो उहाँ । सत्यलाई शब्द दिने साहस, तथ्यलाई सरल भाषामा उतार्ने सीप र नयाँ पुस्तालाई निःस्वार्थ रूपमा सिकाउने संस्कारले उहाँलाई अरूभन्दा फरक बनाएको थियो । पत्रकारितामा प्रवेश गर्ने धेरैका लागि उहाँ गुरु हुनुहुन्थ्यो, धेरैका लागि अभिभावक र धेरैका लागि प्रेरणाको स्रोत । मेरो जीवनमा भने उहाँ यी सबै परिचयभन्दा माथि हुनुहुन्थ्यो । रक्तको सम्बन्ध नभए पनि आत्मीयताको नाता यति गहिरो थियो कि उहाँको एउटा फोन, एउटा सुझाव वा एउटा प्रशंसाले पनि नयाँ ऊर्जा थपिदिन्थ्यो ।


    मोफसल पत्रकारिताको इतिहास लेख्ने हो भने अर्जुन ज्ञवालीको नाम छुटाएर त्यो इतिहास पूरा हुँदैन । काठमाडौं केन्द्रित सञ्चारमाध्यमको प्रभाव बढ्दै गएको समयमा पनि उहाँले मोफसल पत्रकारिताको गरिमा जोगाइराख्नुभयो । स्थानीय समाजका साना देखिने विषयलाई राष्ट्रिय बहसको विषय बनाउन उहाँ सिपालु हुनुहुन्थ्यो । उहाँले लेखेका हजारौँ फिचर, टिप्पणी र सम्पादकीय केवल समाचारका दस्ताबेज थिएनन्, ती समाजका चेतनालाई झकझक्याउने सामग्री थिए । एउटा विषयलाई इतिहास, राजनीति, समाज र मानवीय संवेदनासँग जोडेर प्रस्तुत गर्ने उहाँको शैली विशिष्ट थियो ।


    उहाँसँगको मेरो सम्बन्ध पनि पत्रकारिता सिक्ने क्रममा मात्र सीमित रहेन । समयसँगै त्यो सम्बन्ध पारिवारिक आत्मीयतामा बदलिया । उहाँले कहिल्यै आफूलाई वरिष्ठताको घमण्डले प्रस्तुत गर्नुभएन । बरू सधैँ सिकाउन, सुन्न र प्रोत्साहन दिन तयार रहनुभयो । मैले लेखेको सामग्री पढेर सुझाव दिने, शीर्षक मिलाइदिने, कुनै शब्द अनुपयुक्त लागे सच्याउन लगाउने उहाँको बानी थियो । पत्रकारितामा भाषा, तथ्य र नैतिकता एउटै सिक्काका तीन पाटा हुन् भन्ने उहाँको भनाइ आज पनि कानमा गुन्जिरहन्छ ।
    अर्जुन दाइको सबैभन्दा ठूलो विशेषता उहाँको सरलता थियो । ठूलो अनुभव, ठूलो योगदान र असंख्य सम्मान पाएपछि पनि उहाँ कहिल्यै ठूलो बन्न खोज्नुभएन । नयाँ पत्रकारसँग घण्टौँ बसेर कुरा गर्ने, उनीहरूका जिज्ञासा सुन्ने र आफ्ना अनुभव बाँड्ने उहाँको स्वभावले धेरैलाई पत्रकारितामा टिकाइराख्यो । उहाँका लागि पत्रकारिता प्रतिस्पर्धा होइन, पुस्तान्तरण थियो । आफूले सिकेको कुरा अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने विश्वास उहाँमा अन्तिम समयसम्म कायम रह्यो ।


    फिचर लेखनको प्रशिक्षण दिँदा उहाँले बारम्बार भन्नुहुन्थ्यो–‘समाचारले घटना भन्छ, फिचरले त्यसको आत्मा देखाउँछ ।’ यही एउटा वाक्यले उहाँको सम्पूर्ण लेखन दर्शन बुझाउँथ्यो । तथ्यको जगमा उभिएर मानवीय संवेदना मिसाउन सक्ने क्षमता उहाँमा अद्भूत थियो । त्यसैले उहाँका लेख पढ्दा पाठकले सूचना मात्र पाउँदैनथे, घटनालाई महसुस पनि गर्थे । समयसँगै पत्रकारिता प्रविधिमा धेरै परिवर्तन आयो । सिसाका अक्षरबाट अफसेट, अफसेटबाट कम्प्युटर र अहिले डिजिटल प्लेटफर्मसम्मको यात्रा उहाँले आफ्नै आँखाले देख्नुभयो । तर परिवर्तनको भीडमा पनि उहाँले पत्रकारिताको आधारभूत मूल्य छोड्नुभएन । छिटोभन्दा सही हुनु महत्वपूर्ण हो भन्ने उहाँको भनाइ अहिलेको सामाजिक सञ्जालको युगमा झन् सान्दर्भिक लाग्छ । पत्रकारिताको कुरा निस्केको समयमा उहाँको यही वाक्य आइरहन्थ्यो । 


    पत्रकारितामा उहाँको अर्को ठूलो योगदान भनेको भाषा हो । सरल, सहज र अनावश्यक आडम्बररहित भाषा प्रयोग गर्न उहाँले सधैँ जोड दिनुभयो । ‘पाठकले शब्दको अर्थ खोज्न नपरोस्, विचारको गहिराइ खोजोस् ।’ त्यसैले उहाँका लेख सबै तहका पाठकले सहजै बुझ्थे । पत्रकारितामा अर्जुन दाइको अर्को ठूलो पहिचान उहाँको नैतिक अडान थियो । उहाँले पत्रकारितालाई कहिल्यै कुनै राजनीतिक दल, शक्ति केन्द्र वा आर्थिक स्वार्थको औजार बनाउनुभएन । विचारसँग निकटता हुन सक्छ, तर समाचार र विश्लेषणमा सत्यभन्दा ठूलो कुनै पक्ष हुँदैन भन्ने उहाँको दृढ विश्वास थियो । त्यसैले उहाँको लेख पढ्दा कसैको पक्षपोषणभन्दा पनि तथ्यको पक्षमा उभिएको एउटा जिम्मेवार पत्रकार भेटिन्थ्यो । कसैले असहमत जनाए पनि उहाँ रिसाउनुहुन्नथ्यो । बरू थप प्रमाणसहित छलफल गर्न तयार हुनुहुन्थ्यो । यही गुणले उहाँलाई सबै राजनीतिक धारका मानिसहरूको सम्मानित व्यक्तित्व बनाएको थियो ।


    उहाँले पत्रकारितालाई समाज परिवर्तनको माध्यमका रूपमा लिनुभयो । पञ्चायतकालदेखि लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणसम्मका राजनीतिक परिवर्तनलाई उहाँले नजिकबाट देख्नुभयो । ती घटनाको साक्षी मात्र होइन, त्यसका संवेदनशील दस्ताबेजकर्ता पनि बन्नुभयो । परिवर्तनको प्रत्येक मोडमा उहाँको कलम सक्रिय रह्यो । आन्दोलनका सफलतामात्र होइन, त्यसपछिका कमजोरीमाथि पनि उहाँ उत्तिकै निडर भएर लेख्नुहुन्थ्यो । त्यसैले उहाँको लेखनमा प्रशंसा भन्दा बढी खबरदारी पाइन्थ्यो ।


    शिक्षण पेशामा बिताएका झण्डै तीन दशकले उहाँलाई असल शिक्षकका रूपमा पनि स्थापित ग¥यो । कक्षाकोठामा विद्यार्थीलाई पढाउने र पत्रकारितामा नयाँ पुस्तालाई सिकाउने उहाँको शैली उस्तै रहेको विद्यालय तहमा उहाँले अध्यापन गराएका विद्यार्थीहरूले यतिबेला लेखिरहेका छन् । जटिल विषयलाई सरल भाषामा बुझाउने कला उहाँमा अद्वितीय थियो । पत्रकारिता तालिममा सहभागी भएका सयौँ पत्रकारले उहाँबाट केवल समाचार लेख्न मात्र सिकेनन्, पत्रकार भएर कसरी बाँच्ने भन्ने संस्कार पनि सिकेका छौं । हरेक बसाईमा भाषा, तथ्य, सन्तुलन र मानवीय संवेदनालाई सधैँ पहिलो स्थान दिन दाइको जोड रहिरहन्थ्यो ।
    रेडियो लुम्बिनीको नेतृत्व सम्हाल्दा पनि उहाँले संस्थालाई केवल सञ्चारमाध्यमका रूपमा होइन, पत्रकार उत्पादन गर्ने विद्यालयका रूपमा विकास गर्न खोज्नुभएको समकालीनहरूले सुनाइरहनुहुन्छ । रेडियो पत्रकारिता नयाँ हुँदै गरेको समयमा पनि उहाँले मोफसलका पत्रकारलाई अवसर दिनुभयो । धेरै पत्रकारले पहिलो पटक समाचार वाचन, रिपोर्टिङ र कार्यक्रम सञ्चालन गर्ने अवसर उहाँकै नेतृत्वमा पाएँ । उहाँ संस्थाको अध्यक्षभन्दा पनि मार्गदर्शकका रूपमा बढी परिचित हुनुभयो । त्यो सरलताको नै उहाँको परिचय बनिरह्यो ।


    जीवनको उत्तरार्धमा शरीर कमजोर बन्दै गयो । तर उहाँको सोंच, अध्ययन र लेखनप्रतिको मोह कहिल्यै कमजोर भएन । नयाँ विषय देख्नेबित्तिकै फोन गरेर छलफल गर्ने, यो विषयलाई यसरी पनि हेर्न सकिन्छ भनेर नयाँ कोण सुझाउने उहाँको बानी अन्तिम समयसम्म कायम रह्यो । कतिपय अवस्थामा मोबाइलमै आफ्नो आवाज रेकर्ड गरेर सामग्री पठाउनुहुन्थ्यो र मैले त्यसलाई शब्दमा उतार्थें । त्यस क्रममा मैले उहाँको विचारलाई नजिकबाट बुझ्ने अवसर पाएँ । उहाँका शब्द टाइप गर्दा लाग्थ्यो, म एउटा लेख मात्र होइन, एउटा युगको अनुभवलाई अक्षरमा उतारिरहेको छु ।


    तर दाइ यति छिटो जानुभयो कि धेरै हामीलाई सिकाउन बाँकी थियो । जेठ महिनामा नेपाल प्रेसमा उहाँको स्टोरी लेख्दा ८१ वर्ष पुगेकाले अब पत्रकारिताकै विषय जोडेर ८४ गरेर नयाँ रेकर्ड बनाउने भन्नुभएको थियो, मैले त्यसैलाई हेडलाइन बनाएर प्रकाशन गरेपछि निकै खुसी हुनुभयो । बिरामी परेका बेला काठमाडौंमा भेट्दा म्याडम छोराहरूसमेत सँगै भएको बेला दाइको यो चाहना छ भनेर सुनाएको थिएँ, तर दाइ त्यो रोगलाई जित्न सक्नुभएन, त्यो चाहना अधुरै रह्यो । केही व्यक्तिको अनुपस्थितिले एउटा संस्थाको अभाव महशुस गराउँछ । अर्जुन दाइ त्यस्तै व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनले एउटा पत्रकार मात्र गुमाएको होइन, एउटा संस्था, एउटा विद्यालय र एउटा युग गुमाएको अनुभूति भइरहेको छ ।


    उहाँले पुरस्कार र सम्मानलाई कहिल्यै अन्तिम उपलब्धि मान्नुभएन । उहाँका लागि सबैभन्दा ठूलो पुरस्कार पाठकको विश्वास थियो । त्यसैले उहाँले अन्तिम समयसम्म पनि लेख्न छाड्नुभएन । शरीरले साथ नदिए पनि विचारले साथ छाडेन । उमेरले हात काँप्न थाले पनि कलमको धार रोक्नुभएन । मेरा लागि अर्जुन दाइको सम्झना संस्मरण होइन, प्रेरणाका रूपमा रहिरहने छ । पत्रकारितामा कुनै अन्योल आउँदा उहाँका शब्द सम्झिन्छु । कुनै विषय लेख्नुअघि तथ्यलाई अझ एकपटक हेर्ने बानी पनि उहाँकै सिकाइ हो । नयाँ पुस्तासँग अनुभव बाँड्ने संस्कार पनि उहाँबाटै सिकेको हुँ । उहाँ शारीरिक रूपमा हामीबिच नरहनु भए पनि उहाँका शब्द, उहाँका विचार र उहाँले सिकाएका मूल्य प्रत्येक दिन पत्रकारितामा जीवित छन् ।


    नेपाली पत्रकारिताको इतिहासमा अर्जुन ज्ञवाली एउटा सम्मानित नामका रूपमा सदैव स्मरणीय रहनुहुनेछ । उहाँले लेखेका हजारौँ पृष्ठ समयका दस्ताबेज बनेर बाँचेका छन् । उहाँले तयार पारेका पत्रकारहरू देशभर विभिन्न सञ्चारमाध्यममा सक्रिय छन् । अब उहाँसँग फोनमा ‘ए भाइ...लौ सुनाम् नयाँ खबर ’ भनेर बोलाउने आवाज कहिल्यै आउने छैन, तर त्यो सम्बोधन जीवनभर मेरो कानमा गुञ्जिरहनेछ । उहाँले सिकाएको सत्यनिष्ठ पत्रकारिता, अध्ययनशीलता, सरलता र जनउत्तरदायी कलमलाई निरन्तरता दिनु नै उहाँप्रतिको सबैभन्दा ठूलो सम्मान हुनेछ भन्ने मेरो अठोट छ । हार्दिक श्रद्धाञ्जली, अर्जुन दाइ ।
    (लेखक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हुन्)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij