होमनाथ अर्याल
अर्जुन ज्ञवाली शान्ति नमूना मा.वि. मणिग्राममा माध्यमिक नेपाली शिक्षक भइ आउनु भयो । अग्लो कदको सफा कपडामा सुरुमा भेट्दा मैले उहाँलाई पाएको थिएँ । उहाँ शंकरनगर बस्ने भन्ने थाहा पायौं । उहाँ कस्तो स्वभावको हुनुहुन्छ भन्ने कुरा थाहा पाउन मन लाग्यो । अतः मैले मेरो मित्र दयानिधि पौडेल (मदन पौडेल दाइको भाइ) लाई सोधी खोजी ग¥यौं । मित्र दयानिधिले ‘अर्जुन दाइ त आँखामा राखे पनि नबिझाउने व्यक्ति हुनुहुन्छ’ भनेर भन्नु भयो, हुन त अर्जुन ज्ञवाली विद्यालयमा आएर सबैलाई अभिवादन गर्न कहिल्यै पछि पर्नु हुन्नथ्यो । विद्यालयको जग्गा मोही लागेर विद्यालयलाई अप्ठ्यारो परिरहेको थियो । धेरै ठाउँमा पत्राचार गर्नुपथ्र्याे । अर्जुन ज्ञवाली आफैँ अगाडि सरेर पत्रका खेस्रा मिठा भाषामा तयार पारिदिन किन्चित अल्छी गर्नु हुन्नथ्यो । यस्तो विद्यालयलाई सहयोग गर्ने बानी व्यहोराले उहाँको छवि विद्यालय व्यवस्थापन समितिमा पनि असल शिक्षककोे रुपमा परिचित हुनु भयो ।
उहाँको नेपाली विषय पढाउने कला अद्वितीय थियो । थोरै समयमा प्रष्ट बुझिने गरी पढाउने क्षमता थियो, अर्जुन ज्ञवालीमा । शान्ति विद्यालय अलुमनाई एसोसिएशनले ‘शान्ति स्मारिका’ प्रकाशन ग¥यो । त्यहाँ धेरै उहाँका विद्यार्थीले उहाँको पाठन क्षमताको प्रशंसा गरेका छन् । त्यसमध्ये यहाँ पूर्व विद्यार्थी राधिका घिमिरेको लेखाइलाई साभार गर्दछु –‘अर्जुन ज्ञवाली सरले यति मिठो पाराले नेपाली विषय पढाउनु हुन्थ्यो कि म एक क्षण पनि अल्छी नगरी ध्यान मग्न भएर सुन्दै नोट बनाउँथे ।’
विद्यालयमा समस्या नआउने होइन । जिल्लाकै नमूना विद्यालय श्री शान्ति नमूना मा.वि. मणिग्राम । अर्जुन ज्ञवालीले समस्या पनि ल्याउनु हुन्थ्यो र समाधानका बाटा पनि देखाउनुहुन्थ्यो । शिक्षण सिकाइ क्रियाकलाप अथक बनाउन, शिक्षकलाई अवकासपछि पीडाबोधबाट मुक्त गराउनु पर्छ भन्ने कुरा असल शिक्षकहरुमा थियो । अतः यही कुरालाई मध्यनजर शिक्षकहरुलाई सञ्चयकोष उपादान पेन्सनको व्यवस्था हुन प¥यो भनी माग राखेर देश व्यापी नितान्त शिक्षकका माग राखेर हड्ताल भयो । रुपन्देही जिल्लाबाट यो हड्तालको नेतृत्व गर्ने नम्बरमा अर्जुन ज्ञवाली एक नम्बरमा हुनुहुन्थ्यो । सिंहदरबार घेर्ने कार्यक्रममा कैयौं शिक्षकहरु पक्राउ पर्नु भयो । अब आइन्दा म हड्तालमा सहभागी हुने छैन भन्ने कागत गरेको खण्डमा जेल मुक्त गराउने कार्य प्रशासनबाट भएको थियो । धेरै मै हुँ भन्ने शिक्षकले यस्तो कागत गरेर जेलबाट छुटी घर फर्के । तर अर्जुन ज्ञवालीले त्यस्तो कागत गर्न इन्कार गर्दै देशको शैक्षिकस्तरलाई उकास्न यो हड्ताल गरिएको हो भनेर टिक्नु भयो । यस्तै कागत गर्न इन्कार गरेर अटल भएर शिक्षकको हक हितको लागि मरिमेट्ने अर्जुन ज्ञवाली जस्ता शिक्षकको इच्छा शक्तिले गर्दा शिक्षकहरुका माग पूरा भएका हुन् । रुपन्देही जिल्लालाई नेतृत्व दिन ३÷४ जनामध्ये अब्बल नेतृत्व दिने अर्जुन ज्ञवालीको लेखन कला पनि प्रशंसायोग्य थियो । अहिले शिक्षकहरु पाउने सुविधा पेन्सन, उपादान, सञ्चयकोष, बिरामी बिदा सञ्चय गर्न पाउने व्यवस्थामा सरकार बाध्य भएको थियो ।
अर्जुन ज्ञवालीको अद्वितीय क्षमता र शान्ति नमूना मा.वि.मणिग्रामलाई शिक्षण कार्यबाट पु¥याउनु भएको अथक योगदानको उच्च कदर गर्दै शान्ति विद्यालय अलुमनाई एसोसिएशन काठमाडौंले उहाँलाई यस अलुमनाई एसोसिएशनको छैठौं पुनर्मिलन कार्यक्रम २०७० फागुन ७ गते शंखपार्क काठमाडौंमा कदर पत्रसहित दोसल्लाह ओढाएर सम्मान गरेको थियो । शान्ति विद्यालय अलुमनाई एसोसिएशन शान्ति नमूना मा.वि. मणिग्राममा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको वैधानिक संगठन हो ।
अर्जुन ज्ञवालीको योगदानलाई स्मरण गरिरहने क्रममा शान्ति विद्यालय अलुमनाई एसोसिएशनको २०८० भाद्र १६ गते कोटेश्वर काठमाडौंमा आयोजित नवौं साधारणसभामा उहाँलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरियो । अर्जुन ज्ञवालीसँग निकट रहेर शान्ति नमूना मा.वि. मणिग्राममा करिब १० वर्ष अध्यापन गर्ने मलाई अवसर मिलेको थियो । उहाँ पछि म अगाडिको पढाइको क्रममा काठमाडौं आएँ । गएको २०÷२२ वर्ष पहिलेसम्म उहाँ काठमाडौं आउनु हुँदा हाम्रो कोठामा सँगै बस्थ्यौैं । उहाँको सादगीपनलाई देख्दा मन प्रफूल्ल्लित हुन्थ्यो । मलाई सुत्दा कुनै पलङ सलङ चाहिंदैन भन्दै कार्पेट माथि एउटा तन्ना बिछ्याएर एउटा तन्ना ओढेर झुपुक्कै निदाउनुभएको देख्दा असाध्यै श्रद्धा जागेर आउँथ्यो ।
मेरो उहाँसँगको निकटताले गर्दा उहाँको छोराछोरीसँग पनि निकटता थियो ।
अर्जुन ज्ञवाली बिरामी हुनु भएको थाहा पाएँ । उहाँ बिरामी हुनु भएको हुँदा छोरी सरिता अमेरिकाबाट आएकी रहिछिन् । सरिता पनि शान्ति नमूना मा.वि. मणिग्राममा अध्ययन गरेकोले उनका साथीहरु उनलाई भेट्न गएका र अर्जुन ज्ञवालीसँग फोटो खिचेर फेसबुकमा पोष्ट गरेको देखे । मनले मानेन्, मैले अर्जुन ज्ञवालीलाई फोन गरें । फोन ठूलो छोरा सागर ज्ञवालीले उठाउनु भयो । एक हप्ता जति बी.एण्ड.बी. अस्पताल ग्वार्काे ललितपुरमा उपचार गरी घर फर्केको भन्दै बुबालाई सञ्चो हुँदैछ अब १÷२ दिनमा सरको घरमा सरलाई भेट्न आउने हो भनेर बुबाले भन्नुभएको कुरा मलाई भनियो । सञ्चो हुन लागेको खबरले खुसी भएँ । यसको एक हप्तापछि छोरी सरितासँग उनका सहपाठी र अर्जुन ज्ञवालीको फोटो फेसबुकमा पोष्ट गर्र्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको देखें । यसपछि मनले मानेन् र सागर ज्ञवालीलाई फोन गरें । हाम्रो १÷२ दिनमै सरको घरमा आउने कार्यक्रम छ सर भनेर भनियो । म अलिक अधैर्य भएँ । धेरै मानिसको जमघटले इन्नफेक्सन बढ्ने भएर पनि यसो भनिएको होला भन्ने कुरा मनमा लिँदै मनमनै शीघ्र स्वास्थ्य लाभको कामना गरेर घरमै बसें ।
विडम्बना २०८३ साउन १० गते बिहानै मणिग्राम रेडियो लुम्बिनीका अध्यक्ष श्री अर्जुन उपाध्यायले अर्जुन ज्ञवाली सरको देहावशानको दुःखद खबर फोन गरेर सुनाउनु भयो । यो खबर काठमाडौंमा रहेका शान्ति नमूना मा.वि. का पूर्व विद्यार्थीहरुबिच जंगलको डढेलो सरी फैलियो । आफ्ना प्यारा गुरु अर्जुन ज्ञवालीको अन्तिम श्रद्धाञ्जलीको लागि थुप्रै विद्यार्थीहरु जम्मा भई श्रद्धाञ्जली अर्पण गरियो । मणिग्रामतिर बसोबास गरिरहेका पूर्व विद्यार्थीहरुको लागि फेसबुक अनलाइनबाट देखाइयो । थुप्रै पूर्व विद्यार्थीहरुले अनलाइनबाट श्रद्धाञ्जली अर्पण गरे । शान्ति विद्यालय अलुमनाई एसोसिएशन परिवारले दिवंगत भएको सातौं दिन उहाँको घरमै गई श्रद्धाञ्जली पत्रसहित श्रद्धासुमन व्यक्त गरियो ।
संस्थापक अध्यक्ष–शान्ति विद्यालय, अलुमनाई एसोसिएशन काठमाडौं ।




