२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विचार र व्यवहारमा एउटै अर्जुन

विचार र व्यवहारमा एउटै अर्जुन

विचार र व्यवहारमा एउटै अर्जुन

विचार र व्यवहारमा एउटै अर्जुन

विचार र व्यवहारमा एउटै अर्जुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • गोपीरमण उपाध्याय
    मैले व्यक्तिगत रूपमा मानौं या नमानौं मेरा अनन्य मित्र तथा निर्भिक, न्यायप्रेमी, प्रेस स्वतन्त्रता सेनानी एवं अत्यन्त प्रतिष्ठित शिक्षक अर्जुन ज्ञवालीको देहावसान भयो । यसको खबर विभिन्न सामाजिक सञ्जालहरूमा प्रसारण भएपछि थाहा पाएर म स्तब्ध भएँ । यस्तो कसरी हुन सक्छ ? गतवर्ष २०८२ माघ १७ गते जस्तो लाग्छ, मैले उहाँलाई बुटवलमा एउटा पुस्तक विमोचन कार्यक्रमका अवसरमा भेटेको थिएँ । त्यो पनि ‘जीवनका विविध आयाम’ नामक मेरो आत्म संस्मरणात्मक लेखन जसलाई बुटवलका प्रतिष्ठित पत्रकार एवं बौद्धिक व्यक्तित्व बालकृष्ण चापागार्इंले प्रकाशित गरिदिनु भएको थियो । त्यसै पुस्तकको विमोचन कार्यक्रम थियो । त्यस कार्यक्रममा एक प्रकारले रूपन्देही जिल्लाकै वरिष्ठ बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रह्यो । कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भएको थियो । त्यस कार्यक्रममा उहाँले म प्रति  लक्षित गर्दै भन्नु भएको थियो–‘कहिल्यै पनि नथाक्ने मानिस ।’ 


    उहाँको यस वाक्यमा मेरो सिङ्गो जीवनको चित्रण थियो । कसैप्रति व्यक्त गरिने पदावलीहरु कहिले कहीं यस्ता हुन्छन्, जसलाई कहिल्यै विर्सिन सकिंदैन । उहाँले म प्रति राख्नु भएका सद्भाव पूर्ण व्यवहार, आत्मीयतालाई मैले कहिल्यै पनि बिर्सिन सक्दिन । उहाँले पनि मलाई मेरो जीवन व्यवहार देखेर बुझेर भन्नु भएको थियो होला ?


     हुन पनि हाम्रो जीवन निकै विविधतापूर्ण थियो । त्यस्तै समानता पनि थियो । हामी दुवैको पेशा शिक्षण थियो, तर हामीहरू त्यतिमै सीमित पनि थिएनौं । आफ्नो पेशामा निष्ठावान् भएर काम गरेता  पनि तत्कालिन परिवेशमा मुख्य रूपमा पत्रकार थियांै । उहाँ मभन्दा बढी पत्रकार हुनुहुन्थ्यो किनभने मैले भर्खर भर्खर पत्रकारिता सिक्दै रहेको अवस्थामा उहाँ एक प्रकारले वरिष्ठ पत्रकार बनिसक्नु भएको थियो । उहाँको लेखनसँग म निकै प्रभावित पनि थिएँ । निरङ्कुश पञ्चायती व्यवस्थाको त्यो कालखण्ड थियो, जसमा हामीहरूले लेखे वापत पञ्चायती व्यवस्थाका कर्णाधार मानिने ‘मण्डलेहरूसँग मुठभेड नभएको दिन कहिल्यै पनि हुँदैनथ्यो । हुन त यस पंक्तिमा मदन पौडेल, कर्णबहादुर कार्की, रामचन्द्र भट्टराई, पं.बाबुराम भट्टराई र पत्रकारिताका क्षेत्रमा भर्खर प्रवेश गर्न लाग्नु भएका युवा पत्रकारहरू बालकृष्ण चापागाईं, डिआर घिमिरेहरुको ख्याति पनि त्यत्तिकै मात्रामा फैलिदै गइरहेको थियो । हामीहरुको त्यस कालखण्डको पत्रकारिताका क्षेत्रमा एक प्रकारको वर्चस्व नै स्थापित भएको थियो । यी सबैका पछाडि नेपाल कम्युनिष्ट पार्टीको व्याक अप थियो । हामीहरू पनि त्यतिबेलाको ने.क.पा (माले) ने. क. पा (माक्र्सवादी) र ने.क.पा. (मसाल) सँग कुनै न कुनै किसिमले आबद्ध रहेका थियौं । हाम्रो पत्रकारिता लेखनको निर्मिकताप्रति एक प्रकारले ती कम्युनिष्ट घटकहरूप्रतिको विश्वास र उनीहरुबाट प्रेरणा प्राप्त गरिरहेका हुन्थ्यौं । किनभने एउटा खास किसिमको मिसन नभई कुनै पनि क्षेत्रमा दृढ़ता र तल्लिन भएर लाग्न सकिंदैन त्यतिबेलाको पत्रकारिताको मिसन भन्नु नै ‘पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्रको बहाली’ प्रमुख विषय थियो । हाम्रो मुख्य मिशन भन्नु पनि यही नै थियो ।


    अर्जुन ज्ञवाली विचारमा जति सशक्त हुनुहुन्थ्यो लेखनका क्षेत्रमा उत्ति नै सरल सटीक । छोटो लेखन भए पनि विषय वस्तुका दृष्टिले अत्यन्त गहन यो नै उहाँको लेखनको मुख्य विशेषता थियो । उहाँको अर्को प्रमुख विशेषता भनेको सधैँभरी विचार र व्यवहारमा एकरूपता थियो । यसैले गर्दा उहाँको व्यक्तिगत छविमा कहिल्यै कुनै पनि दाग लाग्न पाएन । त्यसै कारणले पनि रूपन्देहीको बौद्धिक फाँटमा उहाँको छुट्टै खालको बौद्धिक व्यक्तित्व थियो । यो त उहाँको पत्रकारिता क्षेत्रको पाटो भयो । त्यस्तै जिम्मेवारी पूर्ण पक्षमा रहेको शिक्षक जीवनको पाटो थियो । यस क्षेत्रमा उहाँले शिक्षकहरुको मर्यादा, हकहित र प्रतिष्ठाका निम्ति संघर्षरत रहनुभयो । रूपन्देहीमा शिक्षक संगठनको निर्माणमा उहाँको अत्यन्त उल्लेखनीय भूमिका रहेको थियो । २०३६ सालको आरम्भमा हामीले रुपन्देहीमा एउटा अपुष्ट समाचार थाहा पायौं । मकवानपुरमा नौ जिल्लाका शिक्षकहरू एकत्रित भएर सरकारी कर्मचारी सरहको तलब सुविधा, सञ्चयकोष, उपादान वा निवृत्तिभरण पाउँनु पर्छ भनेर शिक्षक आन्दोलन उठाए गरे !! पछि त्यो समाचार ठीकै रहेछ भन्ने पुष्टि पनि भयो । त्यो समाचार बुटवल, मणिग्राम । र भैरहवामा कार्यरत शिक्षकहरूले पनि थाहा पाउनुभएछ ।

    त्यतिबेला मणिग्राम क्षेत्रमा अध्यापनरत अर्जुन ज्ञवाली र मलगायतका शिक्षकहरुको सक्रियतामा २०३६ साल जेष्ठ २८ गते मणिग्रामको उहाँले नै पढाई रहनु भएको शान्ति माध्यमिक  विद्यालयमा जिल्लास्तरीय शिक्षकहरुको भेला भयो । त्यस भेलाको अध्यक्षता सोही मा.वि.का प्र.अ जगदीश उपाध्यायले गर्नु भएको थियो भने अर्जुन ज्ञवालीको पनि त्यसमा सक्रिय भूमिका रह्यो । यसरी आराभ भएको शिक्षक हकहितका लागिको आन्दोलनका हरेक क्षेत्रमा उहाँले गर्नुभएका योगदानहरुको अविस्मणीय पक्ष रहेको थियो । त्यसपछि रूपन्देहीमा पनि शिक्षकहरूले नेपाल शिक्षक संगठनको केन्द्रसँग सञ्जीव सम्पर्क स्थापित गरे । त्यसपछि केन्द्रले गरेका हरेक आन्दोलनका निर्णयहरूलाई रूपन्देहीमा पनि अक्षरशः लागू गर्ने आन्दोलनहरु भए । ती सबैमा उहाँको पनि त्यत्तिकै सक्रिय भूमिका रहयो । यसै प्रसङ्गमा मैले आफ्नो आत्मसंस्मरणात्मक कृति जीवनका ‘विविध आयाम’ मा यसरी प्रस्तुत गरेको छु । जस्तो वि.सं. २०४३ सालमा केन्द्रमा तेश्रो अधिवेशन गर्ने कार्यक्रम निर्धारित भएपछि यस जिल्लाले पनि दोस्रो सम्मेलन गरेर केन्द्रीय प्रतिनिधि पठाउनु पर्ने परिस्थिति देखा प¥यो । तर सरकारले शिक्षक संगठनलाई कहीं कतै भेला हुन नदिइरहेको अवस्थामा २०४३ को असार महिनामा बुटवलको फूलबारीमा आयोजित दोस्रो सम्मेलनले छवि नेपाल अध्यक्ष र गोपीरमण उपाध्याय सचिव रहेको जिल्ला कार्य समिति रूपन्देहीको गठन ग¥यो, जुन यस प्रकार थियो । धर्मराज यादव –उपाध्यक्ष), विमल बहादुर शाक्य कोषाध्यक्ष, अर्जुन ज्ञवाली (केन्द्रिय प्रतिनिधि), शेर बहादुर गौड केन्द्रीय प्रतिनिधि, भवानी शंकर सापकोटा (क्षेत्रिय प्रतिनिधि), यमलाल भण्डारी, मंगल चौधरी, गोविन्द आत्रेय, खगेन्द्र रिजाल, कुलप्रसाद ज्ञवाली, दुर्गादत्त सापकोटा, नरेन्द्रबहादुर चौधरी, रिमबहादुर श्रेष्ठ सदस्य रहनु भएको थियो । यसै समितिले २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनलाई विभाजित गरेर प्राथमिक तथा माध्यमिक शिक्षक संघ बनाउने फूट परस्त सरकारी नीतिकाविरुद्ध सशक्त प्रतिवाद ग¥यो । त्यसैकारण रूपन्देही जिल्लामा त्यस्तो फूट परस्त संघको निर्माण हुन सकेन र त्यस्तै शिक्षक, संगोष्ठि जस्ता जाली कार्यहरु पनि सफल हुन सकेनन् २०४६ सालमा अन्तर्राष्ट्रिय शिक्षक संगठन (डब्लुसीओटीपी) द्वारा भारतको पटनामा भएको अन्तर्राष्ट्रिय सेमिनारमा पनि यस जिल्लाका तर्फबाट अर्जुन ज्ञवाली र गोविन्द आत्रेयले भाग लिनु भएको थियो । (जीवनका विविध आयाम २०८२ पृ.७३) ।
    त्यसपछि जीवनका विविध मोडहरूमा हामीसँगसँगै रह्यौं । व्यक्तिगत रूपमा दिनदिनै भेटघाट नभए पनि विभिन्न पत्रपत्रिकाहरूमा छापिएका लेखहरू र सबै खालका विभिन्न कार्यक्रमहरु सभा गोष्ठी, सेमिनारहरुमा हाम्रो भेटघाट भइरहन्थ्यो । किनभने विचार, सिद्धान्त, पेशा व्यवसाय, उमेर अवस्था आदि सबै विषयमा रहेको समानताले गर्दा हामीबिच प्रगाढ आत्मीय सम्बन्ध थियो । उहाँको निधनको खबर थाहा पाउना साथ म स्तब्ध भएपछि परम मित्र अर्जुन ज्ञवालीसँग बिताएका सबै क्षण सिनेमाको पर्दामा आउन थाले । मैले पनि तत्काल मोबाइलमा एउटा सानो स्मृतिले यसरी पोष्ट गरेको थिएँ । त्यसमा भनेको थिएँ ‘कीर्तिशेष अर्जुन ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली !’ –‘अब म मात्र बाँकी रहें ।’


    हामी चार जना शिक्षकहरू अर्जुन ज्ञवाली, छवि नेपाल, चन्द्रमूर्ति कोइराला, र म एक आपसमा अत्यन्त घनिष्ट मित्र थियौं । हामीहरुका विचार सिद्धान्तहरू समान थिए । हामीहरूले आ–आफ्नो गच्छे अनुसार देश, दुनियाँ, राष्ट्र–अन्तर्राष्ट्रका विषयमा पनि बुझेका थियौं । सोही अनुसार बेला बेलामा कलम चलाउँथ्यौं । निरङ्कुश पञ्चायती शासनकालमा सबै खालका राजनीतिक गतिविधिहरुमाथि प्रतिबन्ध लागेको थियो । तर पनि हामीहरू लोकतन्त्रको बहालीका निम्ति सक्रियताका साथ लागि रहेका हुन्थ्यांै । त्यतिबेला नेपाल राष्ट्रिय शिक्षक संगठन बनिसकेको थिएन । २०३६ सालको कुरा हो । केही जिल्लाका शिक्षकहरुले आफ्नो पेशागत हकहित र शिक्षक संगठनको माग राखेर आन्दोलनको थालनी गरेको कुरा रूपन्देहीमा थाह पायौं । हामीहरुले पनि स्वतःस्र्पmुत रूपमा शान्ति मा. वि. मणिग्राममा शिक्षकहरुको भेलाको आयोजना ग¥यौं । त्यो भेला अत्यन्त सफल पनि भयो । त्यसमा अर्जुनजीको भूमिका उल्लेखनीय थियो । हामी चारै जनाको शिक्षक संगठन निर्माणका क्षेत्रमा खास गरेर रूपन्देहीको शिक्षक संगठनको निर्माणमा र शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउनका लागि भएको राष्ट्रिय आन्दोलनमा पनि समान सहभागिता रह्यो । यस्तै खालको गौरवशाली जीवन व्यतीत गरेर कीर्तिशेष हुनुभएका मेरा परम मित्रहरू अर्जुन ज्ञवाली, छवि नेपाल, चन्द्रमूर्ति कोइरालाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । (२०८३ श्रावण १५ गते) ।


    हामी चार जना शिक्षक साथीहरुका बिचमा अत्यन्त घनिष्टता, आपसी सद्भाव र साझा सवालहरुका विषयमा मूल्यांकन गरे त्यसको दिशा निर्धारण गर्ने विषयमा पनि उच्चखालको समझदारी कायम रहेको हुन्थ्यो । मलाई एक्लै छाडेर उहाँहरु सबै कीर्तिशेष भइसक्नु भयो । म भने अहिले ८० पार गरेको जीवनलाई जसरी तसरी धानिरहेको छु । अहिले पनि मलाई स्वास्थ्यले साथ दिएसम्म क्रियाशील नै रहेको छु । अहिले नयाँ रचनाहरु लेख्नुभन्दा पनि पुरानै रचनाहरूलाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण कसरी गर्न सक्छु भन्ने विषयमा नै मेरो अधिक ध्यान गएको छ । बुटवलका साथीहरुले लुम्बिनी पत्रिकामा अर्जुन ज्ञवाली विशेषाङ्क प्रकाशन गर्न लाग्नु भएका कुराले हर्षित पनि भएको छु ।  किन भने ‘हामी बाँचेकाहरुले हामीभन्दा पहिले बितेर जानु भएकाहरुले गरेका सुकर्म एवं कृतित्वहरूलाई जोगाएर अर्को पुस्तामा हस्तान्तरण गर्नु हाम्रो परम कर्तव्य हुन जान्छ ।’ प्रस्तुत प्रकाशनले पनि सोही गर्नेछ भन्ने विश्वास लिएको छु ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij